वैशाख २८, काठमाडौँ । आइतबार राति भएको प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा वेष्ट ह्याम युनाइटेडलाई १–० गोलले हराउँदै आर्सनल उपाधि यात्रातर्फ लम्किएको छ ।
खेलको ८३औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गरेको गोल आर्सनलको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै आर्सनल ३६ खेलबाट ७९ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । पराजित भएको वेष्ट ह्याम युनाइटेडको ३६ अंक छ ।
आर्सनल अब प्रिमियर लिग उपाधि जित्न केवल २ जित टाढा छ । अर्को तर्फ वेस्ट ह्याम भने रेलिगेसनको दबाबमा परेको छ। यता, एक खेल कम खेलेको म्यानचेस्टर सिटी भने ७४ अंकसहित दोस्रो स्थानमा छ।
