0 COMMENTS

असार ३, ताप्लेजुङ । जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति गएको भिषण पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन् ।

घाइते मृतक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको डिएसपी राईले जानकारी दिए । घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताए। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ । खेवाङसहित ताप्लेजुङका तीन ठाउँमा गए राति भीषण पहिरो गएको प्रहरीले जनाएको छ । जिल्लाको मामांखे र फक्तालुङमा पनि पहिरो गएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

‘जिल्लाका तीन वटै ठाउँमा गएको पहिरोको विवरण संकलन, राहत तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको छ’, उनले भने । घटनाका बारेमा थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गए राति ठुल्ठूला पहिरो झरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।