0 COMMENTS

जेठ ३१, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० बाट खेलाडीको संरक्षण र विकासका लागि खेलकुद बिमा लागू हुने भएको छ । मंगलबार प्रतिनिधिसभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गत युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उक्त जानकारी गराएका हुन् । साथै उनले खेलकुद र खेलाडीहरुको विकास विद्यालय तहदेखि गर्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट नमूनाका रुपमा एक विद्यालय एक खेल मैदानको व्यवस्था गर्ने बताए ।

मन्त्री पौडेलले आगामी आर्थिक वर्षमा खेलाडीहरूको लागि खेलाडी बिमा अन्तर्गत खेलाडी जीवन बिमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बिमा, खेलाडी तथा प्रशिक्षण आकास्मिक बिमाको व्यवस्था गरिने बताए । उनले खेलाडीहरूको संरक्षण र विकासका लागि आगामी आर्थिक वर्षमा खेलकुद बिमाको अवधारणा विकास गरिएको बताए । ‘दुर्घटनामा परेका खेलाडीहरूको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ ।’ उनले भने, ‘खेलाडीहरूलाई प्रोत्साहन गर्न खेलाडी जीवन बिमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बिमा, खेलाडी तथा प्रशिक्षणको आकस्मिक बिमा सहयोग, खेलाडी प्रोत्साहन पुरस्कार, ओलम्पिक भत्ता र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार समानको व्यवस्था मिलाइएको छ ।’

युवा तथा खेलकुदमन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षामन्त्री पौडेलले एक स्थानीय तह एक खेलपूर्वाधार निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार विगतमा निर्माणाधीन रहेका खेलपूर्वाधारहरूलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेट जाने बताए । ‘स्थानीय तहमा खेल मैदान निर्माणका लागि कार्यविधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी स्थानीय तहले नै उपयुक्त स्थान छनोट गरी पूर्वाधार निर्माणको लागि प्रश्ताव मागरिएको आधारमा मापदण्ड पुगेका स्थानीय तहहरू बजेट विनियोजन गरिएको छ,’ मन्त्री पौडेलले भने, ‘बजेट अधिकतम सीमा २ करोड भएकाले सबै पालिकाले सम्मान बजेट प्राप्त गर्ने छन् । खेलकुद र खेलाडीहरुको विकास विद्यालयतह देखि गर्ने उद्देश्यले विद्यालयहरुलाई खेलकुद र उद्गम स्थालको रुपमा विकास गर्न आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको प्रश्ताव गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।