कात्तिक २७, चितवन । निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणीमा नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको पुलको डिजाइन नै २९ महिनापछि सडक विभागबाट स्वीकृत भएको हो । ४८ महिना (चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख १९ गते तुँदी कन्स्ट्रक्सनले सिग्नेचर ब्रिजको ठेक्का पाएको थियो । पहिलो १२ महिना अर्थात् १ वर्षभित्र पुलको डिजाइन तयार गरेर ३६ महिना (तीन वर्षमा) निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, झन्डै साढे दुई वर्ष (झन्डै २९ महिना)पछि पुलको डिजाइन स्वीकृत भएको हो ।
डेढ वर्षअघि (२०८१ वैशाख ३१ गते) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिग्नेचर पुलको शिलान्यास गरेका थिए । उक्त पुलको ठेक्का भने एक वर्षअघि २०८० वैशाखमा नै लागिसकेको थियो । नेपालमै पहिलोपटक बन्न लागेको निकै अत्याधुनिक पुल भएकाले डिजाइनमा समय लागेको हो । ४२० मिटर लामो आकर्षक सिग्नेचर डिजाइनमा निर्माण गरिने पुल दुई लेनको बन्नेछ । तर गज्जबको कुरा त के छ भने यस पुललाई भविष्यमा तीन लेनसमेत गर्न सकिने छ । अहिले दुई लेन र एक लेन साइकल र फुटपाथका लागि छुटाइएको छ ।
नेपालको कर्णाली नदीमा बनेको पहिलो अत्याधुनिक पुलजस्तै नारायणीमा पनि बन्न लागेको हो । तर कर्णाली पुलमा एक मात्रै पिल्लर रहेको छ । नारायणी नदीमा निर्माण हुने पुलमा भने डलब केबल स्टेड हुनेछन् । दुई छेउका पिलरहरू १०० मिटरको दूरीमा र बिचको स्पान अर्थात् पिल्लर नभएको दुरी २२० मिटरको हुनेछ । जुन नेपालकै पहिलो डबल स्टेड ब्रिज हुनेछ ।
४२० मिटर लम्बाइको बन्ने सिग्नेचर ब्रिज र हाल सञ्चालनमा रहेको पुलको लम्बाई पनि ४२० मिटर नै रहेको छ । नारायणीमा पुल निर्माणका लागि बजेट अभाव नभएकाले काम तीव्र रूपमा अगाडि बढाइने सडक विभागले जनाएको छ । तर ठेक्का सम्झौता अनुसार ४ वर्षभित्र यसको काम सम्पन्न गरिसक्नुपर्ने छ । पूर्वपश्चिम राजमार्गमा पर्ने यस पुलले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई जोड्नेछ । हाल नारायणी नदीमा रहेको एक मात्र पुल करिब ४४ वर्ष पुरानो भइसकेको छ । हाल सञ्चालन भइरहेको पुलको विकल्प नभएकाले यस पुललाई निर्माण गरिन लागेको हो ।
