भदाै १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।