भदाै १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर रहेको छ । यस्तै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रममा रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशको तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशको पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।