0 COMMENTS

फागुन १७, काठमाडाैँ । चितवनबाट सुरु गरिएको ‘ट्राफिक शिक्षक अभियान’ बागमती प्रदेशभर लागू गर्न लागिएको छ । विद्यार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवलने सो अभियान सुरु गरेको थियो ।

माघ ११ मा चितवनबाट सुरु गरिएको अभियान बागमती प्रदेशका सबै जिल्लामा लागू गरिने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेश सुवेदीले बताए । अभियान अन्तर्गत सामुदायिक तथा निजी विद्यालयका शिक्षकरतलाई ट्राफिक प्रहरीले तालिम दिन थालेको छ । तालिम लिएका शिक्षकहरूले हरेक हप्ता एउटा कक्षाका विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा लिनुपर्छ ।

चितवनमा भएका निजी तथा सामुदायिक विद्यालयका ५ सय ८ जना शिक्षकहरुलाई ट्राफिक नियमबारे तालिम प्रदान गरिएको छ । चितवनका ७ वटा स्थानीय निकायमा प्रशिक्षण सम्पन्न गरिएको एसपी सुवेदीले जानकारी दिए । ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अवधारणा अन्तर्गत सवारी दुर्घटनाको अवस्था, न्यूनीकरणमा देखिएका समस्या, चुनौती र जबाफदेहिताको क्षेत्रबारे शिक्षकहरूलाई प्रशिक्षण दिइन्छ । प्रशिक्षणको आधारमा शिक्षकहरुले विद्यार्थीहरूलाई ट्राफिक नियम पालना गर्ने र दुर्घटनाबाट जोगिनेबारे कक्षाकोठामा सिकाउँछन् । सडक नियमबारे विद्यार्थीलाई पढाउन पाठ्यसामग्री पनि उपलब्ध गराउने लक्ष्य राखिएको एसपी सुवेदीले जानकारी दिए ।

ट्राफिक नियम ‘जीवन मरणको नियम’ भएको हुनाले शिक्षकहरुले कक्षाकोठामा सो नियम सिकाउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इनस्पेक्टर गायत्रीराज शर्माले बताए । उनले भने, ‘सवारी नियमको ज्ञान विद्यार्थीसम्म लैजाने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।’

विद्यार्थीलाई सडक नियम सम्बन्धी शिक्षा प्रदान गरेमा दुर्घटना न्यूनीकरण गर्न सकिने बताइएको छ । दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशमा चालक प्रतिबद्धता, शारीरिक परीक्षण, यान्त्रिक परीक्षण र लापसे परीक्षण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, सडक प्रयोगकर्ताको प्रवृत्तिमा सुधार गर्नु ठुलो चुनौतीको रूपमा देखिएको एसपी सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।