0 COMMENTS

सन् १९२७ मा माओ त्सेतुङ चियाङसी पहाडमा पुग्नुभयो । उहाँले साथमा एक हजार सैनिक लिएर जानुभएको थियो । ती सैनिक शरद् ऋतु फसल विद्रोह अवधिमा हुनानमा उहाँको साथमा आएका थिए र क्रुरतासाथ विद्रोह दबाउने काम हुँदा उहाँसँगै गएका थिए । किसान र श्रमिकहरूद्वारा बनेको आफ्नो फस्र्ट आर्मी शत्रु, च्याङ काइसेकको राष्ट्रवादीभन्दा सङ्ख्यात्मकरूपमा धेरै कम रहेको माओलाई थाहा थियो । सोभियत सङ्घ र अन्य देशबाट ल्याइएका हातहतियारले समेत शत्रु पक्ष धेरै राम्ररी सुसज्जित थियो । बाँच्नका लागि माओका सेनाले छापामार युद्धशैली अपनाएका थिए । माओले नारा सजिलै सम्झन सकियोस् भनेर चारवटा सिद्धान्त बनाउनुभएको थियो । ती थिए :
१- जब शत्रु नजिकिन्छन् हामी पछाडि हट्नुपर्छ,
२- जब शत्रु रोकिन्छ हामीले हैरान गर्नुपर्छ,
३- जब शत्रु विश्राममा हुन्छ हामीले आक्रमण गर्नुपर्छ,
४- जब शत्रु पछाडि हट्छ हामीले पछ्याउनुपर्छ !

यी आधारभूत रणनीतिलाई प्रभावकारी बनाउन किसान र श्रमिकको फस्र्ट आर्मीलाई स्थानीय जनताको सहयोग आवश्यक थियो । यदि चियाङसीका बासिन्दाले आफूबिचमा सैनिकहरूलाई स्वागत सम्मान दिएनन् भने माओको सेनाले कार्य सञ्चालनको आधार नै पाउने थिएन । उनीहरूले शत्रुसँग भिडन्तको अवस्थामा कहीँ अन्यत्र (आश्रम) लिनुपर्ने अवस्था थियो । आफ्नो सैनिक रणनीति सफल बनाउन भूभागको जानकारीका लागि माओ स्थानीय जनताको ज्ञानमा निर्भर हुनुहुन्थ्यो ।

अन्ततः माओलाई जनशक्ति सहयोगका लागि चियाङसीका जनताको मद्दत चाहियो । जे जस्तो भए पनि उनीहरू सरह किसानहरूलाई पनि लाग्यो– कम्युनिस्टहरू लामो सङ्घर्षका लागि प्रतिबद्ध थिए ।

चियाङसीका दुई शक्तिशाली सरदारमाथि जीत प्राप्त गर्नु माओको पहिलो ध्येय थियो । उनीहरू सैन्य कारबाहीका लागि आफ्नो सेना र आधार क्षेत्रका साथै थप लडाकु उपलब्ध गराउँथे । त्यसपछि उहाँ स्थानीय जनसङ्ख्यामा केन्द्रित हुनुभयो ।

चियाङसीका गाउँमा आफ्नो सेना राम्रो अवस्थामा रहोस् भन्ने पक्का गर्न माओले कडा नियम लागु गर्नुभएको थियो । सैनिकहरू पैसा नतिरुञ्जेल गाउँलेहरूबाट खाना वा लुगाफाटो लिन नपाउने भएका थिए । आफूले क्षति पुर्याएको हरेक वस्तुको उनीहरूले क्षतिपूर्ति गर्नुपथ्र्यो । उनीहरूलाई स्थानीय मानिसप्रति शिष्ट, इमानदार र सहयोगी हुन आदेश थियो । माओले उनीहरूलाई किसानको जस्तै लुगा लगाउन र आफूलाई शरण दिनेले जे खान्छ त्यही खान निर्देशन दिनुभएको थियो । हुनानबाट कडा मेहनत र भोकै प्रस्थान गरेपछि सामान्य खाना र कठोर अनुशासनमा अभ्यस्त भए पनि माओका अनुयायीले कहिलेकाहीँ गल्ती गर्दथे । चियाङसीका विद्रोहीले हरेक दिन बन्दागोभीको अचार खानु परिरहेको अवस्थामा च्याङ काइसेकका सैनिकहरूले दिनमा पाँचपटक खाना पाउने भनी असन्तोष जनाउने स्पष्ट वक्ता एक सैनिकलाई माओले फर्काइदिनुभएको थियो । उहाँले भन्नुभयो, “बन्दागोभीको यो अचार प्रगतिशील राजनीतिको पोषक हो ।”

सैनिक अनुशासन र युद्ध प्रविधिमा अभ्यास गरिरहँदा माओ त्सेतुङले आफ्ना मानिसको मनमा प्रगतिशील राजनीतिको प्रभाव पार्न समेत मेहनत गर्नु परिरहेको थियो । उहाँले पहिले नै एउटा लालसेनाको कल्पना गर्नुभएको थियो, जो कम्युनिस्ट राज्यको अग्ररक्षक हुनेछ, प्रतिक्रियावादी शक्तिसँग लड्नु परे पनि यसले समाजवाद बलियो बनाउने छ ।

उहाँले पहाडको आफ्नो गढीलाई आफ्नै जनसभाद्वारा शासित स्वतन्त्र राज्य ‘सोभियत’ नाम दिनुभयो । रुसमा पनि यसरी नै बोल्सेभिकहरूले आफ्नो कम्युनिस्ट क्रान्तिपछि सोभियत गठन गरेका थिए । आफ्नो सैनिकले मात्र राष्ट्रवादीविरुद्ध कब्जामा लिएको क्षेत्रका रूपमा होइन कि एउटा नमुना सरकारका रूपमा सोभियतको रक्षा गर्ने विश्वास माओको थियो । सन् १९२८ को वसन्त ऋतुमा जनरल चु ती आफ्नो सेनाका साथ माओको चियाङसी सोभियतमा आइपुग्नुभयो । सैनिक एकेडेमीबाट स्नातक चु सन् १९११ मा छिङ सम्राटविरुद्धको आन्दोलनका साथै त्यसपछि स्वघोषित सम्राट युआन सिखाईका विरुद्ध आन्दोलन गरेको अनुभवी व्यक्ति हुनुहुन्थ्यो ।

बर्लिनमा केही समय व्यतीत गर्दा उग्र सुधारवादी चिनियाँ कम्युनिस्ट चाउ एनलाइसँग नजिकको सम्बन्ध बनाउनुभएका चु सोभियत सङ्घको यात्रा गर्दै चीन आउनुभएको थियो । त्यस अवस्थामा पनि उहाँ राष्ट्रवादीहरूसँग सहकार्यमा हुनुहुन्थ्यो । तर, च्याङ काइसेकले नानचाङमा सुरु भएको विद्रोह क्रुरतासाथ दमन गर्न आदेश दिएपछि चुलाई आफूले विद्रोहीसँग इमानदारी देखाउनुपर्ने लाग्यो । उहाँले नेसनलिस्ट आर्मी अर्थात् राष्ट्रवादी सेनाबाट विद्रोह गर्नुभयो र यो सेनाको ठुलो दस्ता उहाँको पछाडि लाग्यो । चु पहाडमा माओको सोभियतसँग आबद्ध भएपछि किसान र श्रमिकहरूको सेना रातारात दस गुणा वृद्धि भयो । त्यहाँ अब कम्युनिस्टका लागि अग्रपङ्क्तिमा लड्ने वास्तविक लाल सेना थियो । जसै सेना वृद्धि भयो माओ त्सेतुङले त्यसको हुकुमी संरचना कम्युनिस्ट पार्टीको सिद्धान्तमा आधारित हुने पक्कापक्की गर्नुभयो । सेनाका लागि सैन्यरूपमा बलियो हुन यतिले पर्याप्त नहुने माओले ठहर गर्नुभयो । यो वैचारिकरूपमा पनि सशक्त हुनुपर्छ । उहाँले पार्टीको अनुशासन अनुगमन गर्न राजनीतिक कमिसारहरू तोक्नुभयो । कुनै असहमति सह्य नहुने र आफ्नो विकासशील चिनियाँ माक्र्सवाद पालनामा कुनै बहाना नचल्ने शिक्षा उहाँले आफ्ना कमिसार र जनरलहरूलाई निरन्तर दिनुहुन्थ्यो ।

यस्तो सम्भावना थियो कि चियाङसी प्रान्तका प्रथम सैनिक माओको भावना बुझ्नुभन्दा उहाँसँग डराउँथे । चिनियाँ सोभियतको स्थापनार्थ भएका द्वन्द्व र कठिनाइले माओलाई शारीरिकरूपमा कमजोर पारिदियो । सन् १९२९ को ग्रीष्ममा उहाँ केही जिम्मेवारी त्याग्न तयार हुनुभयो । त्यसपछि पहाडमा रहेका सोभियत सैन्य गढभन्दा पनि कम्युनिस्ट पार्टी अफ चाइना ९सीपीसी० नेतृत्वको घर भए । तीमध्येमा कति त माओ र एक सैन्य कमान्डरका रूपमा उहाँको पितृसत्तात्मक शैलीको आलोचक पनि थिए । सोभियतको कामकाज हेर्न कैयौँ नेता हुँदा सीपीसीको साधारणसभाले माओलाई उहाँको पदभारबाट अस्थायीरूपमा हटाउने पक्षमा निर्णय गर्यो र उहाँलाई आफ्नो बिग्रँदो स्वास्थ्य सुधार्ने तथा मानसिक थकानबाट मुक्त हुने समय दियो ।

उनीहरूले माओलाई अस्थायीरूपमा सोभियत छाड्न सिफारिस गर्दै केही खर्चपानीको पनि प्रस्ताव गरेका थिए । माओले सोभियत छाड्न सहमति जनाउनुभयो तर खर्चपानी लिनुभएन । उहाँले भन्नुभयो, “मलाई पैसा आवश्यक छैन । मलाई मात्र आराम चाहिएको छ ।” उहाँ ग्रामीण क्षेत्रतर्फ लाग्नुभयो । त्यहाँ उहाँले अध्ययन, अङ्ग्रेजीको अध्ययन गर्नुभयो तथा जोडले आवाज निकाल्दै अध्ययन गरिरहेको सुनेर हाँस्ने गाउँलेहरूको पनि वास्ता गर्नुभएन । यसैबिच लालसेना नियमितरूपमा राष्ट्रवादीहरूविरुद्ध भिडन्त र लडाइँमा व्यस्त रह्यो । कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका धेरैजना लालसेनाले आफ्नो छापामार शैली त्यागेर जनरल च्याङ काइसेकविरुद्ध बढी आक्रमक शैली अपनाओस् भन्ने चाहन्थे । माओ ग्रामीण क्षेत्रमा रहेका बेला ती युद्ध चाहने जनरलले आक्रमणको आदेश दिए जुन, पराजयमा गएर टुङ्गियो । त्यस पराजयपछि भताभुङ्ग भएको रणनीतिको सामना गर्नु परेर तथा सैनिक परिषद् रणनीतिमा असन्तुष्ट रहेका माओका साथीहरूले उहाँलाई फर्कन अनुरोध गरे ।

जनरल चु तीले माओलाई सेना र सोभियतका लागि स्पष्ट प्राथमिकता तोक्न भन्नुभयो । एक वर्षभन्दा बढी समयदेखि जसरी आफूले गर्दै आउनुभएको थियो त्यसरी नै माओले स्पष्ट गर्नुभयो, उनीहरू एक हुन् र एकै छन् । आफूले प्रतिनिधित्व गरिरहेको क्रियाशील किसानवर्ग जसरी सेना पनि पार्टीको तिनै सिद्धान्तमा प्रतिबद्ध रहनुपर्छ । अर्को अर्थमा उहाँले लालसेनाका सैनिकले लडाइँभन्दा अरु थोक बढी गर्नुपर्छ ः उनीहरू विचारक बन्नुपर्छ भन्नुभयो ।

यसपटक चुले कुरा बुझ्नुभयो । उहाँले सैनिकहरूमा वैचारिक समानता स्थापित गर्न माओसँग अनुरोध गर्नुभयो । माओले कुथियानमा आफ्ना ‘गलत विचार’ सङ्कल्पबाट थालनी गर्दै कम्युनिस्ट पार्टीको सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । आफ्नो सम्बोधनमा उहाँले सेना भनेको प्रचारबाजीको अङ्गका साथै लड्ने शक्ति हुनुपर्छ भन्नेमा जोड दिनुभयो । यसैले सैनिकहरू बढी शिक्षित तथा चिनियाँ जनतालाई सामाजिक विकासको प्रकृति र कम्युनिस्ट सिद्धान्त बुझाउन सक्ने क्षमता भएको हुनु जरूरी थियो ।

आध्यात्मिक शिक्षाको लामो परम्परा बोकेको एउटा मन्दिर कुथियान थियो । माओ त्सेतुङले सो मन्दिरलाई सैनिकहरूका लागि विद्यालयमा परिणत गर्नुभयो । कुथियानमा उहाँले किसानको सेनालाई वैचारिक कवच प्रदान गरेर त्यसको नामकरण गर्नुभयो, ‘लाल सेना’ । यसमा धेरै समय लागेन–वैचारिक प्रबन्धकका रूपमा उहाँको जिम्मेवारीलाई आधिकारिक बनाइयो : माओ चिनियाँ सोभियत गणतन्त्रको अन्तरिम सरकारको प्रमुख निर्वाचित हुनुभयो । – ‘माओ त्सेतुङबारे अध्ययन’ बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।