माघ २३, काठमाडौँ । पूर्वी नेपालको ताप्लेजुङ पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विरोधमा जारी आन्दोलन स्थगित गरिएको छ ।
गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र केबलकारको विरोधमा उत्रिएका सम्बद्ध संस्थाका प्रतिनिधिहरुबीच भएको वार्तामा सहमति जुटेसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो । सरकार र आन्दोलन पक्षधरबीच माघ २२ गते साँझ ६ बुँदे सहमति भएको थियो ।
आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइ गर्ने र आन्दोलनकारी पक्षकाट घोषित आन्दोलन फिर्ता गर्ने सहमति भएको छ । अर्को वार्ता माघ २७ गते बस्ने पनि दुई पक्षबीच सहमति भएको छ ।
माघ २२ गते साँझ वार्तामा भएका सहमतिका बुँदा
१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने ।
२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।
३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।
४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।
५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।
६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता मिति २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने ।