माघ २३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नवलपरासीको भारत अतिक्रमित भुमि सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारधारी जत्थाले गरेको हस्तक्षेपको घोर भत्र्सना तथा निन्दा गरेको छ । सो पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले एक बक्तब्य जारी गर्दै नेपालको अखण्डता, सावैभौमसत्ता र स्वाधीनताको खिल्ली उडाउदै आफ्नो विस्तारवादी नीतिलाई लागु गर्न भारतीय सुरक्षाकर्मीले सुस्तामा हस्तक्षेप गरेको पार्टीको ठहर रहेको उल्लेख गरिएको छ ।
बक्तब्यको पूर्ण पाठ :
नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा हतियारधारी भारतीय सुरक्षाकर्मीले गरेको गस्ती प्रति हाम्रो पाटी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला समिति नवलपरासीको गंभीर ध्यानाकर्षण भएको छ । मिति २०८१ माघ २२ गते सोमबार दिउँसो नेपालको अखण्डता, सावैभौमसत्ता र स्वाधीनताको खिल्ली उडाउदै आफ्नो विस्तारवादी नीतिलाई लागु गर्न भारतीय सुरक्षाकर्मीले सुस्तामा हस्तक्षेप गरेको हाम्रो पार्टीको ठहर छ । पटक पटक सुस्ताका जनताको देशप्रतिको वफादारीतालाई कमजोर बनाउने नियतले मेहनतकस जनतालाई दुःख दिने भारतीय सुरक्षाकर्मीको रबैया प्रति हाम्रो पार्टी घोर भत्र्सना तथा निन्दा गर्न चाहन्छ । भारतीय प्रहरीकै गाडीमा आएका सुरक्षाकर्मी सुस्ता बचाउ अभियानका मुन्ना खाँलाई पक्राउ गर्न आएको र उनी फेला नपरेका कारण रित्तै फर्किएको घटनाले स्थानीयवासी त्रसित भएका छन् ।
अत : यस्ता घटना दोहोरिन नदिन हामी नेपाल सरकार एवम् जिल्लास्थित प्रहरी प्रशासन संग माग गर्न चाहन्छौ । साथै, हस्तक्षेपकारी भारतीय विस्तारवादी नीति र नेपाल सरकारको उदाशीनताको बिरुद्ध उत्रन देशभक्त, क्रान्तिकारी तथा बामपन्थी शक्तिमा आब्हान गर्दछौ ।