0 COMMENTS

माघ ३, काठमाडौँ । देशमा यतिबेला चलेको संविधान संशोधनको बहसका विषयमा पार्टीको गंभीर ध्यानाकर्षण भएको भन्दै यसबारे पार्टीको धारणा सार्वजनिक गर्न एक प्रेस–वक्तव्य जारी गरिएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको प्रेस वक्तव्यमा वर्तमान संविधानको पूर्ण खारेजी र संघीय जनगणतान्त्रिक संविधान निर्माणका लागि सडकबाट आवाज बुलन्द गर्न देशका मजदुर तथा किसान सहित आम उत्पीडित जनसमुदायमा हार्दिक अपिल गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “देशमा यतिबेला चलेको संविधान संशोधनको बहसले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यसबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ ।

नेपालमा २००७ सालदेखि जनसंघर्ष, जनयुद्ध लगायत विभिन्न जन आन्दोलनहरु हुँदै आएका छन् । ती नै संघर्षका बलमा पटक–पटक नयाँ संविधान लेखिएका छन् र शासन व्यवस्थामा आंशिक रुपमा केही सकारात्मक राजनीतिक परिवर्तन पनि भएका छन् । तर ती राजनीतिक परिवर्तन पछि निर्मित कुनै पनि संविधानले देशको अर्थ–सामाजिक अवस्थामा आधारभूत परिवर्तन गरेका छैनन् । राणाकालीन राज्यसत्ताको संरचना र कानुन अहिलेसम्म यथावत छन् । अर्थ–सामाजिक अवस्था तथा राज्यसत्तामा आमूल परिवर्तन नभएसम्म देश र जनताले भोग्दै आएका राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका यावत समस्याहरु कहिल्यै समाधान हुदैनन् । फलतः बारम्बार आन्दोलन र संविधान संशोधनका मुद्दा उठिरहन्छन् ।

नेपालको वर्तमान अर्थ–राजनीतिक समस्याको प्रमुख आन्तरिक कारण दलाल तथा नोकरशाही पुँजीवादी र सामन्त वर्गीय राज्यसत्ता हो भने वाह्य कारण मुख्यतः अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद हुन् । नेपालमा साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको नेतृत्वमा रहेको संसदीय व्यवस्था तथा प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने कुनै पनि प्रकारको संविधान संशोधनको नौटङ्की आन्दोलित जनतालाई भ्रममा पार्ने र नेपाललाई सधैं वाह्य शक्ति केन्द्रहरुको अखडा बनाइराख्ने भ्रमजाल बाहेक अरु केही होइन । यसकारण हाम्रो पार्टीले यो प्रतिक्रियावादी संविधानको संशोधन होइन यसको पूर्ण खारेजीे र संघीय जनगणतान्त्रिक संविधान निर्माणको माग गर्दछ ।

के कुरा प्रस्ट छ भने साम्राज्यवाद तथा विस्तारवादका दलाल प्रतिक्रियावादी शासकहरुले सजिलै जनगणतान्त्रिक संविधान निर्माण गर्न दिने छैनन् । यसका लागि देशका मजदुर तथा किसान सहित आम उत्पीडित जनसमुदायको संघर्षको दवाव आवश्यक हुन्छ । यस स्थितिमा हाम्रो पार्टीले मजदुर, किसान सहित आम उत्पीडित जनता र संपूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरुसित वर्तमान संविधानको पूर्ण खारेजी र संघीय जनगणतान्त्रिक संविधान निर्माणका लागि सडकबाट आवाज बुलन्द गर्न हार्दिक अपील गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।