मङ्सिर ८, मुग्लिन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा प्रचण्डले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘अब मिल्नुको विकल्प छैन, विभाजनको शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन् ।’ । देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन्,’ अध्यक्ष प्रचण्डले भने