0 COMMENTS

असोज २२, काठमाडौँ । दसैँ तिहारमा गाउँ फर्किनेहरूलाई सहयोग गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । सहायता कक्षहरु काठमाडौँ उपत्यकामा १४ ठाउँमा स्थापना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले बताए ।

काठमाडौँको नागढुंगा, कलङ्की, बाफल, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, बल्खु, दक्षिणकाली र सुन्धारामा सहायता कक्ष स्थापना गरिएको छ । भक्तपुरको जगाते, ललितपुरस्थित सातदोवाटो र चापागाउँमा पनि सहायता कक्ष स्थापना गरेर ट्राफिक प्रहरीले सेवा दिइरहेको छ । अस्थायी रूपमा निर्माण गरिएको सहायता कक्षमा दुई जना ट्राफिक प्रहरी खटिन्छन् । ट्राफिकसँगै सम्बन्धित वृत्तका प्रहरी र सामुदायिक प्रहरी पनि खटाउने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ । सुरक्षा योजनाअनुसार सहायता कक्षमा खटिने प्रहरीले सचेतनामूलक जिङ्गल बजाउँछन् ।

यात्रुहरूलाई उनीहरूको सुरक्षाको लागी प्रहरी परिचालन गरिएको छ भनेर सहायता कक्षमा बस्नेहरूले सुसूचित गर्ने गरी जिम्मेवारी तोकिएको डीएसपी कार्कीले जानकारी दिए । यात्रुलाई भाडाबारे जानकारी नभएमा मुख्य चोक र काउन्टर नजिकै सञ्चालित सहायता कक्षमा देखिनेगरी भाडाको सूची टाँसिएको छ । सहायता कक्षमा खटिएका प्रहरीले टिकट काउन्टरमा पनि दररेट राख्न लगाउँछन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी कार्की भन्छन्, ‘नियमभन्दा धेरै भाडा लिएकोबारे सूक्ष्म अनुगमन, फर्जी र दोहोरो टिकटबारे छानबिन गर्ने अधिकार सहायता कक्षमा परिचालित ट्राफिक प्रहरीलाई दिइएको छ ।’ बस र अन्य यात्रुवाहक सवारी छुटेमा यात्रुलाई सो सवारीमा चढाउन सहायता कक्षका प्रहरीले सहयोग गर्छन् । धेरै भाडा लिने र सिट क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारबाही गर्ने अधिकार सहायता कक्षमा बस्ने प्रहरीलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।