0 COMMENTS

असोज १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको जनाएको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएर केही स्थानमा वर्षा भइरहेको छ। केही स्थानमा भने मौसम सफा छ। महाशाखाले कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

विभागले आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र पहिरोमा परेर सयौंको मृत्यु भइसकेको छ । अवरद्ध अधिकांश राजमार्ग अझै खुल्न सकेका छैनन । मौसम ख्याल गरेर मात्र यात्रा गर्नसमेत विभागले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।