असार ४, काठमाडौँ । बेपत्ता योद्धाका परिवारजनहरूले माओवादी जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका आफ्ना सन्तानहरू तुरुन्त सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
सोमबार काठमाडौँस्थित प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनीकिकरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बेपत्ता योद्धाका परिवारजनहरूले राज्यले १८ बर्षसम्म आफ्ना सन्तानहरू सार्वजनिक नगरेकोमा आपत्ति जनाउँदै यथाशिघ्र सार्वजनिक गर्न माग गरेका हुन् ।
पीडित परिवारजनहरूले कहाँ छन् हाम्रा सन्तानहरू ? कि त लास चाहियो ? कित सास चाहियो सरकार ! यो लोकतन्त्र र गणतन्त्र कस्को हो ? सरकार ! भन्दै गम्भीर प्रश्नहरू गरेका छन् । बेपत्ता परिवारजनहरूले आफ्ना आफन्जहरूले अहिलको गणतन्त्र ल्याउने परिवर्तनका लागि ठुलो योगदान गरेपनि सन्तानको सास र लासबारे जानकारी नदिनु दुःख भएको बताएका छन् ।
भण्डारीका बुवा तथा बेपत्ता परिवार समाज नेपालका अध्यक्ष एकराज भण्डारीले राज्यको व्यवहारप्रति खरो आलोचना गर्दै आफ्ना सन्तानहरूको बारे सार्वजनिक गर्न जोडदार माग गरे । उनले हरेक नागरिकहरूको आफ्ना सन्तानकाबारे खोजि गर्नु नैसर्गिक अधिकार भएको भन्दै शान्ति प्रक्रिया सुरू भएको १८ बर्षसम्म पनि बेपत्ता योद्धाहरू किन सार्वजनिक गर्न नसकेको भन्दै सरकारलाई प्रश्न गरे । उनले भने ‘सत्य निरुपण तथा मेलमिलाप आयोग कहाँ पुग्यो ? बेपत्ता योद्धाको छानविन आयोग कहाँ पुग्यो ? टिआरसी विधेयक कहाँ पुग्यो ? किन आजसम्म सरकारले बेपत्ता पारिएका योद्धाहरू सार्वजनिक गर्न चाहेन ? अब यथाशिघ्र सार्वजनिक गरिहोस् ।’
त्यसैगरी योद्धा दण्डपाणी न्यौपानेकी छोरी निशा न्यौपानेले आफ्नो सन्तानको अवस्था के छ ? जान्न पाउनु पर्यो सरकार ! कहाँ छन ? मेरो बुवा सार्वजनिक गर भनिन् । उनले जनयुद्धमा बगेको रगत, बेपत्ता योद्धाको योगदान, घाईतेहरूको योगदान जनताको त्याग तपस्याले अहिलको व्यवस्था आएको भन्दै बेपत्ता नागरिक तुरुन्त सार्वजनिक गर्न माग गरिन् । एउटै घरबाट एकजना सहिद र २ जना बेपत्ता पारिएका योद्धाको आफन्त इन्द्रकेसरी श्रेष्ठले कार्यक्रममा भावुक हुँदै आफ्ना सन्तानको सार्वजनिक गर्न जोडदार माग गरिनन् । उनले भनिन् ‘अरु कुरा म जान्दैन, हाम्रा सन्तानहरू कहाँ छन ? सार्वजनिक गरिहोस् । म मर्ने उमेरको भइसके मेरा सन्तानहरूको बारेमा जानकारी पाएर मर्छु । ए सरकार ! मेरा सन्तानहरू सार्वजनिक गर !’
तथा बेपत्ता सन्तति योद्धा फाउण्डेशन नेपालका तर्फबाट किरण पोखरेलले २०७२ को संविधानले सहिद तथा बेपत्ता योद्धाहरूको भावनालाई बोकेपनि नेताहरूले बोक्न नसकेको बताए । शान्ति सम्झौता भएको ६० दिनभित्र बेपत्ता योद्धाहरूको बारे सार्वजनिक गर्ने भनिएपनि अहिलेसम्म सार्वजनिक गर्न नसक्नु दुःखद भएको बताए । पोखरेलले बेपत्ता योद्धाको अवस्थाबारे सरकारले यथाशिघ्र सार्वजनिक गर्न माग गरे । उनले जसलाई घाउ नै छैन, उसलाई मलपट्टी लगाएको जस्तो नेपालमा भइरहेको भन्दै आज बेपत्ता योद्धाहरू त्यसकै चपेटामा परेको टिप्पणी गरे । उनले आयोग तथा विधेयकहरू सत्ताको दाउपेज नबनाउन आग्रह गर्दै शान्ति प्रक्रियाका वाँकीकामहरू छिटो भन्दा छिटो सक्न र बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न पुनःमाग गरे ।
२०५९ साल असार ३ गतेकै दिन तत्कालिन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य विपिन भण्डारी, केन्द्रीय सदस्य दिलबहादुर राईलाई राज्यले पक्राउ गरी बेपत्ता बनाएको थियो । त्यस्तै असार ३ गतेकै दिन रामहरी रूपाखेति, देवराज पौडेल र कृष्णबहादुर वस्नेतलाई पनि राज्यले पक्राउ गरि बेपत्ता बनाएको थियो । सोही दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरूले सम्बोधन गरेका थिए । बेपत्ता योद्धा विपिन भण्डारीकी आमा सान्ता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आस्थाले गरेकी थिइन् ।