काठमाडौँ । एकात्मक केन्द्रीय राज्य प्रणालीबाट राज्य पूर्ण विकेन्द्रित राज्य प्रणालीमा प्रवेश गरिसकेको छ, सबै क्षेत्र, तह–तप्का र व्यक्तिमा राज्यको साधन, स्रोत र पहुँच समान एवम् समानुपातिक बनाउने उद्घोष हाम्रो संविधानले गरेको छ र पनि उक्त संविधान प्रदत्त अधिकार अझै पनि कतिपय बालकबालिकासम्म पुगिसकेको अनुभूति गर्न पाइएको छैन । राज्य र संविधानले प्रत्याभूत गरेका हकअधिकार, अवसर र पहुँचलाई अपाङ्गता भएका बालबालिकासम्म पुर्याउन र राज्यको कदमलाई थप टेवा मिल्ने गरी विभिन्न कारणले अपाङ्गता भएका र विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरूलाई पुनर्स्थापनाको माध्यमबाट विशेष शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको विशुद्ध सामाजिक संस्थाको एउटा नाम हो सिर्जनशील अपाङ्ग पुनःस्थापना तथा विशेष शिक्षा विद्यालय ।
विगत केही समय यता यस विद्यालयले औपचारिकरूपमा आफ्नो काम सुरु गरेको छ । अपाङ्गता हुन कसैको रहर हुँदैन तर पनि भवितव्य भनौँ या अपसोस विभिन्न कारणले गर्दा बालबालिकाहरू जन्मिदा नै वा जन्मपछि आफ्नो स्वभाविक क्षमता गुमाई विशेष क्षमताका साथ संघर्षपूर्ण जीवनयापन गरिरहेका हुन्छन् । अपाङ्ग हुनुको बाध्यता र कठिनाई अपाङ्ग भएका व्यक्ति स्वयम्मा त पर्छ नै उनीहरूका अभिभावकहरूसमेतमा त्यति नै कष्टपूर्ण हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण गर्नु, तिनिहरूको पुनःस्थापना गर्नु र उनीहरूको शिक्षा, सूचना तथा स्वास्थ्यसम्बन्धी हकलाई सुनिश्चित गर्नु सम्बन्धित निकाय र यो चेतनशील समाजको सामाजिक दायित्व हुन आउँछ । यसै सामाजिक उत्तरदायित्वबाट अभिप्रेरित भई एकै प्रकारको सोच, चेतना र सामाजिक भावनासमेत एकै भएका मनहरू एकै ठाउँमा उभिएर गरिएको अठोटले यो विद्यालयको स्थापना भएको छ । यसको साथसाथै यस संस्था स्थापना गर्नुमा कुनै रहर मात्र नभएर अपाङ्गता भएका बालबालिकाहरूको अभिभावक हुनुको पिडाबोधसमेत एकै भएका केहि व्यक्तिहरू मिली खोलिएको सामाजिक संस्था हो यो सिर्जनशील अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालय । यस विशेष शिक्षा विद्यालय २०७३ साल असोज १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँ मा दर्ता गरी विधिवतरूपमा स्थापना गरिएको हो । हाल यस संस्थाको केन्द्रीय कार्यालय तथा विद्यालय काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. १४, नयाँ नैकाप टोलमा रहेको छ । सिर्जनशील अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालय अपाङ्गता भएका बालबालिकाहरूलाई सहज अनुभूति हुनेगरी अभिभावकत्व निभाउनका लागि खोलिएको संस्था हो र यसले आफ्नो उद्देश्यअनुरूप समाजमा छरिएर रहेका मानवीय समस्याहरूलाई आफ्नै समस्या हो भन्ने भावना बोकी दिनरात सामाजिक कार्यमा जुटिराखेको छ ।
यहि सामाजिक मन तथा भावनाहरूको कारण केहि हदसम्म अपाङ्गता भएका बालबालिकाहरूको संरक्षण, शिक्षा, तालिमजस्ता कार्यक्रमहरू सञ्चालन हुदै आइरहेको भएता पनि सिमीत साधन र स्रोतको कारण कतिपय आँखै अगाडिको समस्याहरू अझैपनि उत्तिकै जरजर छन् ।
जहाँ घाउ लागेको हुन्छ, त्यहाँनेर नै बढि दुखेको हुन्छ भने झै जो अभिभावकले अपाङ्गता भएका वालवालिकाको अभिभावक हुनुको पिडा खपिरहेका हुन्छन् उनीहरूलाई यस्ता सामाजिक संस्थाहरूको महत्व बढी हुनु स्वभाविक हो । यस सिर्जनशील अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालय अपाङ्गता भएका बालबालिकाहरूका अभिभावकहरूको सामूहिक प्रयासबाट खोलिएको संस्था हो । यस विद्यालय स्थापना गर्न प्रोत्साहन गर्ने, सहयोग गर्ने र विद्यालय स्थापनामा लागी पर्ने सबै सामाजिक मनहरूमध्ये अधिकांश अपाङ्ग बालबालिकाहरूका अभिभावकहरू हुन् । अपाङ्गता भएका बालबालिकाको अभिभावक हुनुको पीडा आफुले जस्तै अन्य अभिभावकले खप्न नपरोस् भन्ने सेवा भावले उत्प्रेरित भएर नै संस्थाको जन्म भएको हो । आफ्ना बालबालिकाहरू र आफुजस्तै कठिनाइ भोगिरहेका अभिभावकका बालबालिकाहरूको पुनर्स्थापनाको माध्यमबाट शिक्षा तथा सिपमूलक तालिम प्रदान गरी रोजगारीको सिर्जना गर्ने हेतुले ८ जना अपाङ्गता भएका बालबालिकाहरूका अभिभावक र १ जना स्वयम् शारीरिकरूपमा अपाङ्गता व्यक्तिहरू समेत (जो हाल कार्य समितिमा सक्रिय भूमिकामा तल्लिन हुनुहुन्छ ) द्वारा स्थापनाको दिनदेखि आफूले खाने गाँसदेखि छुट्याएर मासिकरूपले केहि रकम संस्थामा दाखिला गर्दै आइरहनुभएको छ । संस्थामा आवद्ध पदाधिकारीहरू तथा सदस्यहरू संस्थाबाहेक आफ्नो अन्य स्वरोजगार पेशाहरूमा पनि आवद्ध हुनुहुन्छ । कतिजना त दिनभरी बाहिर कमाएर संस्थामा फर्किने र त्यहाँको असजिलो के छ बुझेरमात्र घर जाने गर्नुहुन्छ । यिनै साधनश्रोतवाट संस्थामा हाल २४ जना अपाङ्गता भएका बालबालिकाहरूलाई पुनर्स्थापना केन्द्रमा राखी उनीहरूको उचित लालनपालन गराउने, पठनपाठनमा लगाउने, सूचनामूलक र ज्ञानबर्द्धक तालिमहरू प्रदान गर्ने कार्यहरू हुँदै आइरहेको छ ।
विद्यालय जान नसक्नुको मुुख्य कारण यहाँ अपाङ्ग मैत्री विद्यालय प्रयाप्त मात्रामा नहुनु, अपाङ्ग आवास गृहको अभाव, भौगोलिक अवस्थाको विकटता, यातायातमा अपाङ्गमैत्री व्यवस्थाको अभाव, गरिबी आदि हुन् । यी सबै चिजहरूको सामना गर्न अपाङ्गता भएका बालबालिकाका अभिभावकहरू एक्लैले सम्भव हुने कुरा भएन । यस प्रकारका समस्याहरूको साझा समाधान खोज्न केही सामाजिक मनहरू हरतरहले लागिरहेका हुन्छन् तर अपसोच सिमीत साधन र स्रोतको बीचमा आवश्यकताहरू असिमीत भइदिनाले केही हदसम्म मात्र यस्ता सेवामूखी संघ तथा संस्थाहरूबाट सिमीत मात्र लक्षित वर्गहरू लाभान्वित भएका हामी पाउँदछौ ।
संस्थाको हालको अवस्था
२०७३ साल असोज १७ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता गरी विधिवत्रूपमा स्थापना सिर्जनशील अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालय हाल काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. १४, नयाँ नैकाप, वाइछाप टोलमा अवस्थित छ । हाल यस अपाङ्ग पुनर्स्थापना केन्द्रमा २४ जना फरक फरक क्षमता भएका बालबालिकाहरू छन् । उनीहरूको हेरचाह, पढाइ तथा तालिमको लागि कार्यसमिति भित्रका ५ जना पदाधिकारीहरू नै पूर्णकालिन स्वयम्सेवककोरूपमा काम गरिराखेको अवस्था छ भने बाँकी अन्य पदाधिकारीहरू आंशिक स्वयमसेवक भई काम गरिरहनुभएको छ । ९ जनाको कार्यसमितिभित्र अधिकांश अपाङ्ग बालबालिकाहरूको अभिभावकहरू नै भएकाले सबैबाट विशुद्ध सेवाभावले संस्थाले साथ र सहयोग पाइराखेको छ र आवश्यक पर्दा यहिँभित्रबाट नै आर्थिक भारसमेत बहन हुनेगरेको भएता पनि व्यक्तिगत सहयोगले संस्था चल्ने कुरामा कहिलेसम्म सम्भव होला भन्ने कुरामा हामी शसङ्गित पनि छौं। शसङ्गित यस अर्थमा कि हाल कार्यसमितिभित्र जति अभिभावकहरू छौं सबै निम्न तथा मध्यम आय स्रोत भएका वर्गभित्र पर्दछौं । साथै जो बालबालिकाहरूलाई यस संस्थासम्म ल्याएर छाड्नुहुने अभिभावकहरू हुनुहुन्छ उहाँहरूसमेत निम्नवर्गका अभिभावकहरू हुनुहुन्छ । यस संस्थाले धेरै भन्दा धेरै अपाङ्गता भएका बालबालिकाहरूको समस्य पहिचान गरी उनीहरूलाई पुनर्स्थापना केन्द्रसम्म ल्याई उचित शिक्षा, तालिम तथा रोजगारीको सिर्जना गर्ने लक्ष्य जुन राखेको छ त्यसका लागि आगामी दिनमा द्रुतगतिमा कार्यक्रमहरूलाई अगाडि बढाउन जरुरी पनि छ ।
माथि उल्लेखित फरक फरक क्षमता भएका बालबालिकाहरूको लागि केहि फरक फरक कार्यक्रमहरू विद्यालयले सञ्चालन गर्दै आएको छ ।
शिक्षा
लेख्न, पढ्न वा सुन्न सक्ने १० जना बालबालिकाहरूको लागि विद्यालयले दैनिक ३ घण्टा विभिन्न प्रविधिबाट पढाइ गराउने गरेको छ । जसको लागि विद्यालयले ४ जना तालिम प्राप्त शिक्षिका हालको लागि निजी दरबन्दीबाट नियुक्त गरेको छ र निकट भविष्यमा आवश्यकताअनुसार शिक्षक शिक्षिका नियुक्त गर्न परेका कोटा तयार पारेर शिक्षक शिक्षिका नियुक्त गर्न सकिने प्रावधान खुल्ला गरिएको छ । सम्पूर्ण शिक्षकहरू न्यूनतम तलब तथा पारिश्रमिकमा कार्यरत छन् ।
स्वास्थ्य
विद्यालयले बेलाबेलामा अपाङ्गता भएका विद्यार्थीहरूको लागि स्वास्थ्य परिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । अन्तिम पटक २०७३ साल माघ महिनाको २८ गतेदेखि निरन्तररूपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको र निकट भविष्यमा पनि यस्तै कार्यक्रम राख्ने निर्णय गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण र बालबालिकाको पोषण, स्वास्थ्य थेरापीलगायत विभिन्न अभ्यासका बारेमा जानकारी दिने गरिन्छ ।
तालिम
हात राम्रोसँग चलाउ नसक्ने ५ जना बालबालिकाहरूलाई पोते उन्ने र कार्पेट वा चकटी बनाउने सिपमूलक तालिम प्रदानगरी सम्पूर्ण बालवालिकाहरूलाई रोजगारी सिर्जना गर्ने लक्ष्यमा विद्यालय लागि परेको छ । साथै विभिन्न जनचेतनामूलक तालिम तथा परामर्श दैनिक २ घण्टा सञ्चालन भइरहेको छ । यस्ता कार्यक्रमहरू भविष्यमा अझ बढी व्यवस्थित गरेर लैजाने कार्यक्रमहरू रहेका छन् ।
खेलकुद
बालबालिकाहरूलाई उनीहरूको शारीरिक अवस्थाअनुसारको मनोरञ्जनात्मक खेलहरू खेल्नको लागि स्वयम्सेवकहरू सँगै खेलिदिने वा खेल्नको लागि प्रोत्साहन गर्ने गरिन्छ । यस्ता खेलकुद क्रियाकलापहरूको सहयोगले बालबालिकाहरूमा स्फुर्ति बढ्नुका साथै शारीरिक तन्दुरुस्त हुनमासमेत मद्दत पुग्दै आएको कुरा हामीलाई महशुस हुँदै अएको छ । जसको कारण अपाङ्गता भएका बालबालिकाहरूमा क्रियाशीलता बढ्दै आएको छ ।
भौतिक संरचना तथा अन्य स्रोत साधन
चन्द्रागिरि नगरपालिकाको वडा नं. १४, नैकाप, वाइछाप टोलमा पर्ने दशरथ मल्लको ५ कोठे घर भाडामा लिई मिति २०७३ जेठ १२ गते देखि विद्यालय सञ्चालन गर्दै आएकोमा हाल आएर सोहि टोलमा पर्ने सुशील वाग्लेको २ रोपनी क्षेत्रफल बराबरको जग्गा १० वर्षको लागि भाडामा लिई आफ्नै अस्थायी भवन बनाई बालबालिकाहरूलाई सोहि स्थानमा सार्ने योजनाअनुरूप मिति २०७३ मङ्सिर देखि वार्षिक रु.६०,०००/- को दरले जग्गा भाडाको सम्झौतासमेत गरी अस्थाई भवन निर्माण गरिएको छ । बालबालिकाहरूलाई हरेक दिन बिहान ८ बजे घरदेखि विद्यालयसम्म ल्याउन र बेलुकि ४ बजे विद्यालयदेखि घरसम्म छाड्नको लागि एउटा माइक्रो बस भाडामा राखिएको छ । बालबालिकाहरू बसेर पढ्नका लागि आवश्यक टेबल कुर्चि तथा अन्य केहि फर्निचरहरू संस्थाले आफै रकम सङ्कलन गरी जुटाएको छ । बालबालिकाहरूलाई दिनको खाजा नास्ता खुवाउनका लागि आवश्यक न्युनतम किचन सेट तथा दिउँसोमा सुत्नुपर्ने बालबालिकाहरूको लागि ओछ्यान तथा सिरक डसनाको व्यवस्था संस्थाले सोहि ठाउँमा गर्दै आएको छ । कार्यालयको अन्य कामहरूसमेत एकै ठाउँबाट गर्नुपर्ने भएकाले केहि अप्ठ्यारो हुनेगरेको भए पनि हालको सबैजना बालबालिकाहरूको वरिपरि नै भइरहने अवस्था छ जसले गर्दा बालबालिकाहरूको रेखदेखको लागि सबैजना नै उत्तिकै तल्लिन छन् । यति हुँदाहुँदै पनि हिड्डुल गर्न नसक्ने बालबालिकाहरूको लागि आवश्यक पर्ने ह्वीलचेअर र अन्य सहयोगी सामाग्रीको अभाव भएकाले धेरै कठीन भइरहेको छ । र साथै आफ्नै निजी यातायतको साधन नभकाले कहिलेकाहीँ अझ बढी अप्ठ्यारो पर्ने गरेको छ ।
उद्देश्य
अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकहरूद्वारा स्थापित यस संस्थाको मूख्य उद्देश्य आफूजस्तै अन्य अभिभावकहरूको पिडा कम गर्नको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरी उहाँहरूका बालबालिकाहरूलाई पुनस्र्थापनाको माध्यमवाट औपचारिक शिक्षा प्रदान गर्नुका साथै उनीहरूको शारीरिक क्षमताअनुसारको सिपमूलक तालिमहरू दिई सरल नागरिक जीवनयापनमा सघाउने रहेको छ । संस्था स्थापनाको यो सुरुको अवस्था भएको कारणले पनि हाल संस्थामा सिमीत साधन र स्रोतमात्र छ जुन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको व्यक्तिगत योगदान तथा सामूहिक प्रयासले संस्थालाई हालको जटिल अवस्थाबाट जसका लागि संस्थामा सिमीत साधन र स्रोतलाई बढाउँदै देशमा रहेका वास्तविक अपाङ्गहरूको सइया पत्ता लगाई उनीहरूको घर दैलोमा पुगी अपाङ्गताको अवस्था वा समस्याको आधारमा अपाङ्गहरूको प्रकार वर्गीकरण गरी छुट्टाछुट्टै कार्यक्रमहरू बनाई अपाङ्गता भएका बालबालिकाहरूलाई सपाङ्ग वा सो सरहको क्षमता विकास गराउने यो संस्थाको दृढ उद्देश्य रहेको छ ।
हाम्रो समस्या र आवश्यकता
बालकबालिकाहरूलाई हरेक दिन विहान ८ बजे घरदेखि विद्यालयसम्म ल्याउन र बेलुकी ४ बजे विद्यालयदेखि घरसम्म छाड्नको लागि एउटा माइक्रो बस भाडामा राखिएको छ । बालबालिकाहरू बसेर पढ्नका लागि आवश्यक टेबल कुर्चि तथा अन्य केहि फर्निचरहरू संस्थाले आफै जोह गर्न सकिरहेको छैन । बालबालिकाहरूलाई दिनको खाजा नास्ता खुवाउनका लागि आवश्यक न्युनतम किचन सेट तथा दिउसोमा सुत्नुपर्ने बालबालिकाहरूको लागि ओछ्यान तथा सिरक डसनाको व्यवस्था पनि व्यवस्थित गराउन सकेका छैनौँ । कार्यालयको अन्य कामहरूसमेत एकै ठाउँबाट गर्नुपर्ने भएकाले केहि अप्ठयारो हुनेगरेको छ । यति हुँदाहुँदै पनि हिड्डुल गर्न नसक्ने वालबालिकाहरूको लागि आवश्यक पर्ने ह्वीलचेअर र अन्य सहयोगी सामाग्रीको अभाव भएकाले धेरै कठीन भइरहेको छ । र साथै आफ्नै निजी यातायतको साधन नभकाले कहिलेकाहीँ अझ बढी अप्ठ्यारो पर्ने गरेको छ । यस संस्था हाल कार्यरत ड्राइभरबाहेक अन्य ४ जना कर्मचारीलाई प्रतिव्यक्ति रु.१५,०००/- का दरले मासिक तलव दिलाइएको छ भने वाँकी यस संस्थाको स्थापनाकालबाटै स्वयम्सेवकका रूपमा कार्यरत छन् । यी र यस्ता विविध अप्ठ्यारा र कठिनाइबाट गुज्रदै गरेको यो संस्थालाई निम्न सामान खरिदगरी वा सेवा/सुविधा उपलब्ध गराई हाम्रो अभियानमा सहयोग र सहभागिता गराइदिनुहुने छ भन्ने, माननीय मन्त्री र मातहतको मन्त्रालयबाट, अपेक्षा गर्दछौ ।
सिर्जनशील अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालयका उद्देश्यहरु
१. सामाजिक उत्तरदायित्वबाट अभिप्रेरित भई एकै प्रकारको सोंच, चेतना र सामाजिक भावनासमेत एकै भएका मनहरू एकै ठाउँमा उभिने ।
२. अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण गर्नु, तिनिहरूको पुनर्स्थापना गर्नु र उनीहरूको शिक्षा, सूचना तथा स्वास्थ्यसम्बन्धी हकलाई सुनिश्चित गर्ने ।
३. उनीहरूलाई स्वावलम्बी बनाई आत्मासम्मानकासाथ जीवनयापन गर्न प्रेरित गर्ने ।
( दुर्गा लम्साल थापा, सिर्जनशील अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालयकी संस्थापक अध्यक्ष हुन्)