0 COMMENTS

अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो । संस्कृतिका सम्बन्धमा खोजीनीति गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषाभाषी भएका सबै मुलुकमा यस्तो विशेषता नपाइने होइन तर नेपालको हकमा भने यो विशेषतालाई अद्वितीय नै भन्न सकिन्छ किनभने नेपालमा एक सयभन्दा बढी भाषाहरू बोलिन्छन् र साठीभन्दा अलि धेरै जातिहरूको बसोबास छ । नेपालमा आठभन्दा बढी धर्मावलम्बीहरू रहँदै आएका छन् र ती सबैको आ–आफ्नै विशिष्ट संस्कृति छ । तिनमा आ–आफ्नै खालका चाडबाडहरू पनि चलनमा छन् । यसरी हेर्दा नेपाल संस्कृति र चाडबाडका दृष्टिले असाध्यै समृद्ध छ र त्यसमा विविधता पनि पर्याप्त छ ।

लेखक : निनु चापागाईं

जनतालाई करकाप गरेर, प्रशासनिक आदेश दिएर वा डरधम्की देखाएर पुरानो संस्कृति परित्याग गर्न र नयाँ संस्कृति अवलम्बन गर्न बाध्य पार्नु ठीक होइन । चाडबाडका सन्दर्भमा हामीले केही पुरानालाई नवीनीकरण गर्ने, केहीलाई परित्याग गर्ने मात्र होइन, नयाँ चाडबाडको निर्माणसमेत गर्नुपर्ने हुन्छ ।

 

तर नेपालका सन्दर्भमा अर्को बिर्सनै नसकिने तथ्य के पनि छ भने नेपालको शासकवर्ग शताब्दीयौँ अघिदेखि हिन्दू धर्मावलम्बी रहेको छ र त्यसले आफ्नो धर्म र संस्कृतिलाई अन्य सबैमाथि लाद्दने र आफ्नै संस्कृतिलाई नेपालको संस्कृतिका रूपमा चिनाउँदै आएको छ । मल्लकालदेखि जातिप्रथालाई विशेष रूपले स्थापित गर्ने प्रयास भए तापनि ‘असली हिन्दूस्तान’ बनाउने उद्देश्यसहित गरिएको पृथ्वीनारायण शाहको पालादेखि शासक वर्गीय संस्कृतिलाई सबै समुदाय र जातिमा विस्तार गर्ने अभियानको परिणामस्वरूप शासक वर्गको संस्कृति अन्य भाषाभाषी, जाति र समुदायमा विस्तारित भएको छ र त्यसको प्रभुत्व अहिले सबैतिर देखिन्छ । चाडबाडका हकमा यही कुरो लागू हुन्छ । हामी नेपालका सबै जाति र समुदायमा चलनमा रहेका चाडबाडलाई भन्दा पनि शासक वर्गले अपनाउँदै आएका चाडबाडलाई कसरी हेर्ने र तिनका सम्बन्धमा प्रगतिशीलहरूले के कस्तो नीति अपनाउने भन्ने सम्बन्धमा छलफल गर्न खोज्दैछौँ ।

नेपालमा विविध प्रकृतिका चाडबाडहरू चलनचल्तीमा छन् । फागु, माघे सङ्क्रान्ति, नववर्षजस्ता चाडहरू मौसम परिवर्तनसित सम्बन्धित छन् भने बुद्धजयन्ती, शिवरात्री, कृष्णजन्माष्टमी, रामनवमी जस्ता चाडहरू धार्मिक व्यक्तित्व वा ईश्वरीय शक्तिसित सम्बन्धित छन् । दसैँ, तिहारजस्ता कतिपय चाडबाडहरू पौराणिक आख्यानसित गाँसिएका छन् । जनैपूर्णिमा र तीजजस्ता चाड लिङ्गगत विभेदमा आधारित छन् । त्यस अतिरिक्त कतिपय चाडबाडले कृषिसितको संलग्नतालाई पनि सङ्केत गर्दछन् । यी सबै चाडबाडले मनोरञ्जन दिने गर्दछन्, जनसमुदायको विश्रामको आवश्यकतालाई परिपूर्ति गर्ने गर्दछन् र सामाजिक सम्बन्धलाई दरिलो बनाउने काम पनि गर्दछन् । तिनले यत्ति मात्र काम गर्ने भए हामीले चाडबाडका सम्बन्धमा विशेष महत्व र चासो दिइरहनुपर्ने थिएन । यस्ता चाडबाडले मूल रूपमा खास सन्देश वा विचारसमेत सम्प्रेषित गर्दछन् र ती विचारले मुख्यतः शासक वर्गको हितलाई सुरक्षा, संरक्षण र सम्बद्र्धन गर्ने र शासक वर्गको स्वार्थलाई दरिलो बनाउने कार्य गर्दछन् । हाम्रो चासोको मुख्य विषय यही हो र हामीले त्यसलाई रूपान्तरण गरेर आम जनसमुदायको हितसित गाँस्ने प्रयास गर्नु उचित हुन्छ । पुरानो संस्कृतिको ध्वंस र नयाँ संस्कृतिको निर्माण गर्न चाहने र शासक वर्गको होइन आफ्नै वर्गको आम उत्पीडित जनसमुदायको र सर्वहारा वर्गको संस्कृति निर्माण गर्न चाहने प्रगतिशील समुदायले पुरानो संस्कृति र चाडबाडबाट मुक्त हुने प्रयास अपरिहार्य रूपले गर्नैपर्दछ । यो अहिलेको आन्दोलनको अहम् सवाल पनि हो ।

शासक वर्गका तहमा रहेका ब्राह्मण, क्षेत्रीहरूका अधिकाँश चाडबाडहरू धर्मसित गाँसिएका छन् । राजतन्त्रको समाप्ति हुनुयता मात्र नेपाल धर्मनिरपेक्ष देश घोषणा गरिएको हो । यसअघि लामो समयसम्म नेपाललाई हिन्दूधर्म मान्ने राज्यका रूपमा लिइने गरिएको थियो र हिन्दूधर्मसित गाँसिएका चाडबाडलाई नै राष्ट्रिय चाडबाडका रूपमा महत्वसमेत दिइने गरेको थियो । धर्म अन्धविश्वास, रुढिवाद र अवैज्ञानिकता र जनहितको विरोधमा आधारित छ । धर्ममा बुद्धिलाई त्याग गरेर भावनाबाट काम लिने प्रवृत्ति भएको कारणले यो एकाङ्गी र सड्कीर्ण हुन्छ । धर्मले बुद्धिको मात्र होइन इन्द्रियज्ञान र तर्कपद्धतिको पनि निषेध गर्दछ । यसले प्रत्यक्ष ज्ञान तथा अनुभव, बुद्धि र प्रयोगलाई आधार मान्ने विज्ञानको होइन अन्धविश्वास र पूर्ण समर्पणको माग आफ्ना अनुयायीसित गर्दछ । यही मागले गर्दा अन्य धर्मप्रति पूर्ण अनास्था र निषेधको भावना यसमा निहित हुन्छ । अनुभव र विज्ञानमाथि आधारित ज्ञानले धर्मका मान्यतामाथि प्रश्नचिन्ह लगाउने हुनाले यसले रहस्यवाद र अबुद्धिवादको शरण लिने गरेको छ । मानवजातिको सार्वभौम समानता र त्यसलाई यथार्थ बनाउने कुनै पनि उपाय धर्मसित छैन । यसको उल्टो श्रम र वर्गविभाजनमा आधारित समाज व्यवस्थालाई नै यसले मान्दछ । धर्ममा विद्यमान यो लोक र अर्को लोक वा स्वर्ग र नरकको कल्पना धरतीमा विद्यमान वर्ग विभाजनकै अभिव्यक्ति हो र यसले यही वर्गीय विभाजनलाई दरिलो बनाउने काम गर्दै आएको पनि छ । धर्म वा जातिको आधारमा मानवजातिको विभाजन र विभाजित समूहहरूको असमानतामाथि जोड यसको विशेषता हो । एकताको सट्टा विभेद, सहयोगको सट्टा विरोध र सार्वभौमिकताको सट्टा सङ्कीर्णतालाई धर्मले अघि बढाउँदै आएको छ । वर्गविभाजन मानिसको चेतनामा धार्मिक रूप लिएर यो लोक र परलोकजस्ता दुई लोकको धारणामा अभिव्यक्त हुँदै आएको छ, मानिसको स्वतन्त्रताको सट्टा परतन्त्रलाई बल पुर्याउने काममा नै यसले सहयोग गरेको छ । कर्म, पुनर्जन्म, भाग्यवाद, कर्मवाद, अवतारवादजस्ता विचारहरू मानिसको यही परतन्त्रतालाई दरिलो बनाउनकै निम्ति, मानवजीवनमा उत्पीडनलाई निरन्तरता दिनकै निम्ति निर्माण भएका हुन् । हामी सबैलाई थाहा छ– दसैँ, तिहार, तीज, गाईजात्रा, भोटोजात्रा, रामनवमी, शिवरात्री, कृष्णाष्टमीजस्ता चाडपर्वहरूले यही खालको चिन्तन र धारणालाई प्रबद्र्धन गरिरहेका छन् । त्यसैले भौतिकवादमाथि आस्था राख्ने र वर्गविभाजनलाई समाप्त पारेर वर्गीय समानताको समाज व्यवस्था निर्माण गर्न चाहने प्रगतिशीलहरूले यसखालका चाडपर्वहरूलाई परम्परागत रूपले मान्नु उचित हुँदैन र तिनलाई रूपान्तरण गर्दै, आफ्नैखालका चाडबाडहरूको निर्माण गर्दै अघि बढ्नुपर्दछ ।

साँस्कृतिक रूपान्तरण सहज कार्य होइन । यो एकदमै जटिल र दीर्घकालीन प्रकृतिको समेत हुन्छ र यसलाई निरन्तर जारी राख्नुपर्ने हुन्छ । शताब्दीयौँ अघिदेखि संस्कारका रूपमा व्यक्तिभित्र हस्तान्तरित हुँदै आएका परम्परा, रीतिरिवाज, आस्था र विश्वासहरूलाई भत्काउन र नयाँ संस्कृतिलाई संस्कारकै रूपमा लागु गर्नु अति कष्टकर कार्य हो । भौतिक वस्तुहरूलाई झैँ संस्कृतिलाई तत्काल भत्काउन सकिन्न । यसका लागि निरन्तरको सचेतन प्रयास र निरन्तरको क्रान्तिको आवश्यकता हुन्छ । साँस्कृतिक रूपान्तरणको अर्थ आन्दोलनमा भएका कमी, कमजोरी र विचलनहरूसित सङ्घर्ष गर्नु र तिनलाई सच्याउनु, पुरानो संस्कृतिलाई नवीन रूप दिनु र नयाँ संस्कृतिको निर्माण गर्नु भन्ने बुझिन्छ । यी तीनवटै काम गर्नका लागि शासकवर्गीय विचारधाराको विरोध र जनपक्षीय, सर्वहारावर्गीय एवम् क्रान्तिकारी विचारधाराको पक्षपोषण अनिवार्य रूपमा आवश्यक हुन्छ । नेपालमा शासकवर्गीय विचारधाराका रूपमा सामन्तवादी तथा साम्राज्यवादी–विस्तारवादी विचारधारा प्रभुत्वशाली रहँदै आएको छ भने त्यसको विरोधमा कम्युनिस्ट विचारधारा क्रियाशील हुँदै आएको छ । कम्युनिस्ट विचारधारालाई सर्वहारावादी र आम उत्पीडित वर्गको विचारधारा पनि भन्न सकिन्छ । वर्तमान नेपालमा शासकवर्गीय विचारधाराले प्रतिगमनको पक्षमा र यथास्थितिवादलाई बचाउने कार्य गरिरहेको छ भने माक्र्सवादी विचारधाराले सबै उत्पीडित जनवर्गसहित सिङ्गो मानवजातिको मुक्ति र क्रान्तिको पक्षमा काम गर्दै आएको छ । यही कारणले नेपाली जनताको मुक्ति र क्रान्तिका लागि, संस्कृतिको क्षेत्रमा साँस्कृतिक रूपान्तरणका लागि दर्शन, राजनीति, नैतिकता, कानुन, साहित्य–कलालगायतका संस्कृतिका सबै क्षेत्रमा शासक वर्गीय वा प्रतिध्रुवीय विचारधाराको विरोध र माक्र्सवादी विचारधाराको पक्षपोषण अनिवार्य रूपमा आवश्यक छ । यही क्रममा नै उत्पीडन, दमन, रुढिवाद, अन्धविश्वास आदिमा आधारित जनविरोधी, अराष्ट्रिय र अवैज्ञानिक विचार, मूल्यमान्यता र संस्कार, बानीबेहोरा, रुचि आदि विषयहरूमा परिवर्तन ल्याउन आवश्यक हुन्छ । यसै सिलसिलामा उल्लिखित पुराना चाडपर्वहरूलाई नवीकरण गर्दै अगाडि बढ्न सकिन्छ । नेपालको प्रगतिशील साँस्कृतिक आन्दोलनमा वर्तमान समयमा अनेकौँ किसिमका विचलनहरू देखिएका छन् । यस्ता विचलनहरू मूलतः सामन्तवाद–साम्राज्यवादपरस्त चिन्तन, प्रवृत्ति, संस्कार र चाडबाडलाई चटक्कै छाड्न नचाहने र अनेकौँ बहानामा तिनको पालना गर्दै जाने प्रवृत्तिमा प्रकट हुने गरेका छन् । दलित, जनजाति र महिला समुदायलाई हेप्ने, गणतन्त्रको कुरा गर्ने तर काममा राजतन्त्रको अभ्यास गर्न चाहने, जन्म, विवाह, मृत्यु, दसैँ, तिहार, तीजजस्ता पुराना संस्कार र चाडहरूको दास बन्नेलगायतका जनविरोधी तथा अवैज्ञानिक चिन्तन र प्रवृत्तिले सामन्तवादी विचलनलाई व्यक्त गर्दछन् भने राष्ट्रिय स्वाधीनताप्रति उपेक्षाभाव देखाउने, विदेश र विदेशीहरूको सेवाभावमा लिप्त रहने, उत्तरआधुनिकतावादप्रतिको मोहजस्ता प्रवृत्तिहरूले साम्राज्यवाद तथा विस्तारवादी विचलनहरूलाई सङ्केत गर्दछन् । साँस्कृतिक क्षेत्रमा विद्यमान यस्ता विभिन्न किसिमका विचलनहरूलाई अझ विस्तारमा गएर व्याख्या गर्दा व्यवहारवाद, अनुभववाद, सारसङ्ग्रहवाद, बहुलवाद, जडसूत्रवादजस्ता दार्शनिक विचलन, दक्षिणपन्थी संशोधनवाद, मध्यपन्थी विचलन, उग्रवामपन्थी विचलन र नववामपन्थी राजनीतिक विचलनका साथै संस्कार, विश्वास, आचरण र परिवार तथा समाजका दायित्वसँग जोडिएका पुरातन चिन्तनमा टाँसिइरहने नैतिक विचलनका रूपमा विभाजित गरेर हेर्न पनि सकिन्छ ।

साँस्कृतिक रूपान्तरणको समस्या भनेको आजको सन्दर्भमा शासक वर्गका विचार, भावना र संस्कृतिको उत्पीडित वर्गका विचार, भावना र संस्कृतिमा रूपान्तरणको समस्या हो । लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि नेपालको अर्धसामन्ती, अर्धऔपनिवेशिक चरित्रमा परिवर्तन खासै आएको छैन । नेपाली जनतामाथिको सामन्त, दलाल–नोकरशाह र साम्राज्यवादी एकाधिकारवादी पुँजीपति वर्गको शोषण–उत्पीडन अहिले पनि यथावत् छ, मूलतः सामन्ती सामाजिक सम्बन्ध र स्वामित्वको अन्त भएको छैन । वर्गीय, जातीय, लैङ्गिक, वर्णगत र क्षेत्रीय उत्पीडन अहिले पनि उस्तै नै छ । सारमा नेपालको सामाजिक, आर्थिक र साँस्कृतिक अवस्थामा आधारभूत परिवर्तन आएको छैन । नेपालको अहिलेको यस ठोस ऐतिहासिक अवस्थामा नेपाली साँस्कृतिक आन्दोलनको अभीष्ट क्रमशः नयाँ जनवादी संस्कृतिको निर्माण गर्दै समाजवादी र साम्यवादी संस्कृतिको दिशामा अघि बढ्नु हो । साँस्कृतिक रूपान्तरणको सवालमा यसलाई आत्मसात् गर्न सकेको खण्डमा मात्र सही दिशामा अघि बढ्न सकिन्छ । साँस्कृतिक रूपान्तरणको सवाल होस् कि चाडबाडको रूपान्तरणको सवाल होस् आन्दोलनमा सहभागी आन्दोलनकर्मीहरू र आम जनताका बिचमा भिन्नता छ । आन्दोलनकारीहरूको संस्कृति सम्बन्धित सामाजिक परिवेशमा आधारित हुने भए तापनि सर्वहारावादी संस्कृति र साम्यवादको सिद्धान्तको आदर्श र उचाइबाट निर्देशित हुनु अपरिहार्य हुन्छ । समाज परिवर्तनको महान् आदर्शबाट अभिप्रेरित कार्यकर्ताले आफुलाई माक्र्सवादको समुन्नत र अग्रगामी चेतनाले समृद्ध पारेकै हुनुपर्दछ । आम जनताको स्थिति अवश्य पनि यस्तो होइन तर कतिपय सन्दर्भमा आम जनता र कार्यकर्ताका बिचमा साँस्कृतिक सवालमा, अझ ठोसमा भन्दा पुराना चाडबाड मान्ने सन्दर्भमा खासै भिन्नता पाउन छाडिएको छ । आम जनताले जसरी चाडबाडहरूलाई मान्ने गरेका छन् उनीहरूमध्ये कतिपयले पनि त्यसरी नै मनाउँदै आएको देखिन्छ । यस कमजोरीलाई अनिवार्यरूपमा सच्याउनु जरुरी छ । आन्दोलनमा प्रवेश गर्नासाथ पुराना अवशेषहरू, संस्कारहरू, आनीबानीहरू त्यसै परिवर्तन भइहाल्छन् भन्ने होइन । तिनलाई सचेतन प्रयासबाट मात्र हटाउन सकिन्छ, नयाँ रूप दिन सकिन्छ र नयाँ गुणहरू विकसित गर्न सकिन्छ । यसका लागि वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका प्रक्रिया अनिवार्य हुन्छ । त्यसमा पनि आत्मरूपान्तरणको जटिल प्रक्रियामा आफुलाई होम्ने र त्यसका क्रममा आफुलाई रूपान्तरित गर्ने आँट र साहस हुनै पर्दछ । सर्वहारा महान् साँस्कृतिक क्रान्तिका नेता र योद्धा माओका शब्दमा यो स्वयम् आफ्नै शरीरमा आगो सल्काउने, आफैँँलाई जलाउनका लागि ज्वाला हम्कने कुरा हो । आफ्नै शिर जलाउने यस किसिमको साहस गरे मात्र आफुलाई रूपान्तरित गर्न सकिन्छ । त्यसो भयो भने मात्र साँस्कृतिक रूपान्तरण सम्भव छ र पुराना चाडबाडलाई नयाँ रूप दिन सकिन्छ ।

यसका लागि महान् सर्वहारा साँस्कृतिक क्रान्तिका समुन्नत शिक्षाहरूद्वारा निर्देशित हुन जरुरी हुन्छ । सर्वहारा साँस्कृतिक क्रान्तिका पाठहरू भनेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभवहरूको सार र संश्लेषण हो । समाजवादी क्रान्तिकालको वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको ऐतिहासिक अनुभव भएको कारणले यसलाई समाजवादी कालमा मात्र क्रियान्वयन गर्ने हो भन्ने किसिमको गलत चिन्तनबाट सर्वथा बच्नुपर्दछ । साँस्कृतिक रूपान्तरणको अभियान सारमा समग्र समाजको भौतिक र आत्मिक मूल्यहरूको रूपान्तरण गर्ने अभियान हो । हामीले यस अभियानलाई सही ढङ्गले अघि बढाउन अहिलेदेखि नै एकातिर प्रतिक्रियावादी तथा संशोधनवादी चिन्तनमाथि सशक्त रूपले आक्रमण र प्रहार गर्न र अर्काेतिर आफैँँमा विद्यमान तमाम वैचारिक तथा साँस्कृतिक पछौटेपन र प्रदूषणका विरुद्ध सङ्घर्ष चलाउनुपर्ने हुन्छ । यसलाई भोलिका कामका रूपमा अहिले छाड्न सकिन्न । साँस्कृतिक क्रान्ति समाजवाद तथा कम्युनिज्मको निर्माणको प्रक्रियामा समाजको आत्मिक जीवनमा मूलभूत परिवर्तनको एक मात्र माध्यम हो । समाजवादी क्रान्तिले मात्र साँस्कृतिक क्रान्तिका निम्ति सम्पूर्ण आवश्यक पूर्वाधारहरूको निर्माण गर्दछ । साँस्कृतिक क्रान्ति समाजवादी क्रान्तिको प्रक्रियामा नै राजनीतिक तथा आर्थिक रूपान्तरणहरूको आधारमा, श्रमजीवी जनताले सत्तामा नियन्त्रण कायम गरेपछि र सम्पूर्ण भौतिक तथा आत्मिक मूल्यहरू जनताका हातमा स्थानान्तरण भएपछि मात्र सम्पन्न गर्न सम्भव हुन्छ । सन् १९२३ तिर सोभियत सङ्घको व्यावहारिक अनुभवका क्रममा नै साँस्कृतिक क्रान्ति भन्ने शब्दावली प्रयोगमा आइसकेका हो । पुरानो समाजको विचार, संस्कार, आनीबानी र संस्कृतिलाई वर्गसङ्घर्षका क्रममा परित्याग गर्न प्रयत्न गर्ने, सही अर्थमा समृद्ध आत्मिक संस्कृतिको निर्माण गर्ने र व्यक्तिको चौतर्फी विकासका लागि सम्भावनाहरू जुटाउने यसको उघेश्य थियो । चिनियाँ महान् सर्वहारा साँस्कृतिक क्रान्ति पनि यसै उद्देश्यद्वारा अभिपे्ररित थियो । तत्कालका निम्ति यसको सारतत्व संस्कृतिका सबै उपलब्धिहरूमाथिको सम्पत्तिशाली वर्गहरूको एकाधिकारलाई उन्मूलन गर्नु, आत्मिक मूल्यका सम्पूर्ण विषयहरूलाई आम जनताको पहँुचभित्र ल्याउनु, समाजवादी बुद्धिजीवी समुदायको सिर्जना गर्नु र श्रमप्रति नयाँ दृष्टिकोण विकास गर्नु थियो । निश्चय नै चीनको महान् सर्वहारा साँस्कृतिक क्रान्ति पुँजीवादको पुनस्र्थापना रोक्ने कार्य र संशोधनवादको मूलोच्छेदन गर्ने उद्देश्यमा आधारित सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्ति थियो । यो पार्टी, सेना, सरकार, शिक्षा र संस्कृतिका फाँटमा घुसेका लुकेर बसेका वा प्रच्छन्न शत्रुहरू पुँजीवादपन्थीहरूका विरुद्ध परिचालित थियो । तर यसलाई मात्र राजनीतिक उद्देश्यमा सीमित गरेर हेर्ने र अनुभवलाई गहिरिएर बुझ्न प्रयत्न नगर्ने प्रवृत्ति हामीकहाँ विद्यमान छ । यसबाट मुक्त हुनु अत्यावश्यक छ । बम्बार्ड दि हेडक्वार्टर भनेर राजनीतिको केन्द्रमा आक्रमण गर्ने निर्देशनका साथ थालिएको भए तापनि संस्कृतिका विचार, संस्कृति, परम्परा वा रीति र बानीबेहोराजस्ता चार पक्षमा नै यो आधारित थियो । हाम्रो आजको सन्दर्भमा साँस्कृतिक क्रान्तिको शिक्षालाई ग्रहण गर्नु भनेको वर्गसङ्घर्षमा सहभागी हुँदै पुराना सामन्ती एवम् पुँजीवादी विचार, संस्कार, आनीबानी, चाडबाड र समग्रमा पुरानो संस्कृतिलाई परित्याग गर्न सचेतन रूपबाट क्रियाशील रहनु र समुन्नत व्यक्तित्व निर्माणका निम्ति लागिपर्नु हो । यसलाई साँस्कृतिक आन्दोलनको आदर्श मानेको खण्डमा मात्र सही किसिमले नयाँ जनवादी संस्कृतिको निर्माणमा सहयोग पुर्याउन र चाडबाडहरूलाई नयाँ रूप दिन सकिन्छ ।

चाडबाडलाई हेर्ने सन्दर्भमा हामीकहाँ विभिन्न किसिमका प्रवृत्तिहरू प्रगतिशील आन्दोलनमा देखापर्ने गरेका छन् । एकथरी प्रगतिशीलहरूले पहिल्यैदेखि पुराना चाडबाड र संस्कृतिलाई आफ्नै तरिकाले आफ्नो सिद्धान्त र विचारको प्रतिकूल भएको मान्दै बिना–होहल्ला नमान्ने र त्यसबाट पृथक रहने प्रयास गर्दै आएका छन् । आफुलाई प्रगतिवादी मान्ने तर सामन्ती संस्कृतिको पिँजरामा कैद बनाइराख्ने, आफुलाई भौतिकवादी भन्ने तर आध्यात्मिक संस्कार र चाडबाडको फन्को मारिरहने र आफुलाई निरीश्वरवादी भन्दै ईश्वरको भक्तिमा समर्पित गरिरहने पाखण्डका विरुद्ध उनीहरूले आफुलाई सर्वथा पर राखेर आदर्श प्रमाणित गर्दै आएका छन् । यसरी नै अर्काथरीले सामूहिक रूपले दसैँजस्ता चाडबाडमा परिवारभन्दा अलग्गै भेला हुने, संस्कृति, अर्थतन्त्र, राजनीतिजस्ता विविध विषयमा छलफल गर्ने, आमोद–प्रमोद गर्ने कार्यलाई शिविरका रूपमा सञ्चालन गर्दै आएका छन् । यो पनि प्रशंसनीय कार्य हो । तर एउटा अर्को प्रवृत्ति पनि छ जो यस्ता दसैँलगायतका चाडबाडमा कुनै धार्मिक तत्व छैन, यो संस्कृतिसित सम्बन्धित पाटो मात्र हो र यसलाई मनाउनु उचित हुन्छ भनेर पारम्परिक रूपले नै यसलाई मनाउने पक्षमा उभिँदै आएको छ । परम्परागत रूपले चाडबाड मनाउने यस्ता मानिसहरूको पङ्क्तिमा कुनै तर्क नै नगरी लागिरहने पनि छँदैछन् । अर्का एकथरी पनि छन् जो आफुलाई साँस्कृतिक रूपान्तरणको पक्षमा रहेको देखाउन ज्यादै उत्सुक देखिन्छन् तर आन्दोलनले विकल्प नदिएको, विकल्प नभएसम्म रूपान्तरमा जान नसकिने तर्क गर्ने गर्दछन् । उनीहरू आन्दोलनलाई विकल्प दिन नसकेकोमा आन्दोलनको आलोचना पनि निकै गर्दछन्, तर आफैँँ पनि विकल्प दिने प्रयास गर्दैनन् । यो पनि आफुलाई रूपान्तरणबाट जोगाउने बहानाबाजी हो । साँस्कृतिक रूपान्तरणको प्रक्रियामा पुराना गलत परम्परा सबैको विकल्प हुन्छ भन्ने ठान्नु नितान्त गलत छ । केही रूपान्तरित हुन्छन्, केहीलाई परित्याग गर्नुपर्ने हुन्छ र कति नयाँ थपिँदै जान्छन् । राजमार्ग त्यसै बन्दैन, पहिले त्यहाँ कसै न कसैले थाहै नपाई सुरुआत गर्छ, त्यसलाई अरूले अनुसरण गर्छन्, गोरेटो बन्छ अनि मात्र राजमार्ग बन्ने हो । राजमार्ग बनिसकेकोस् अनि मात्र त्यसमा हिँडौँला भन्ने सोच अवसरवादी सोच र रूपान्तरणको बाटो निर्माण गर्नबाट बच्ने सोच नै हो । जो कोहीले पनि आ–आफ्नै तरिकाले रूपान्तरणको प्रक्रियामा अघि बढ्ने र अनुभवका आधारमा प्रारूप निर्माण गर्ने प्रक्रियाबाट नै साँस्कृतिक रूपान्तरण अघि बढ्छ र बढाइनुपर्दछ । आफ्नाविरुद्ध सङ्घर्ष चलाउन नचाहने, आफ्नो शरीरमा आगो लगाउन डराउने र आफैँँलाई जलाउन ज्वाला हम्कन साहस नगर्नेहरूले आत्म–रूपान्तरण गर्न सक्तैनन्, साँस्कृतिक रूपान्तरणलाई सहयोग गर्न सक्तैनन् ।

धर्म, आध्यात्मिकता र पारलौकिकतासित नगाँसिएका र शासकवर्गको हितलाई प्रबद्र्धन नगर्ने चाडबाडहरूलाई हामीले त्यसमा भएका सामाजिक कुरीतिलाई हटाएर मात्र पनि मनाउन सक्तछौँ तर धर्म, आध्यात्मिकता र पारलौकितासित सम्बद्ध चाडबाडहरूलाई भने हामीले यति सहज रूपमा मान्न सक्तैनौँ । तिनमा रहेका धार्मिक रूपलाई अलग्ग्याएर मात्र अर्थात् नवीकरण गरेर मात्र हामी तिनमा संलग्न हुन सक्तछौँ । पहिलो कुरो यो । दोस्रो कुरो दसैँजस्ता चाडबाडलाई एकदमै सरल बनाइनुपर्दछ, त्यति धेरै दिन मनाइनुको कुनै औचित्य छैन, त्यस्ता चाडबाडहरूलाई छोट्याइनुपर्दछ । जटिल विधि विधानलाई सरल बनाइनुपर्दछ । तेस्रो कुरो तिनलाई कम खर्चमा सम्पन्न हुने गरी मनाइनुपर्दछ, दशा बन्ने गरी होइन । चौथो कुरो सकेसम्म जननीतिलाई ख्याल गरेर चाडबाडहरूलाई रूपान्तरित गर्ने प्रयास गर्नुपर्दछ ।

तत्कालको स्थितिमा हामीले यति मात्रै काम गर्न सकिएमा चाडबाडलाई प्रगतिशीलकरण गरेको हुनेछ ।

पुराना चाडबाड, चालचलन, रीतिथिति सबैलाई एक झड्कामा सबै तोडेर एकदमै नयाँको थालनी गर्नुपर्छ भन्ने क्रान्तिकारी र अग्रगामी मित्रहरू नभएका होइनन् । यस सन्दर्भमा यस्ता मित्रहरूलाई मानवचिन्तन र संस्कृतिका दुई हजारभन्दा बढी वर्षहरूको विकासमा मूल्यवान् रहेका सबैभन्दा मूल्यवान् उपलब्धिहरूलाई आत्मसात् गरेको र नयाँ रूपमा ढालेको कारणले माक्र्सवादले क्रान्तिकारी सर्वहारा वर्गको विचारधाराका रूपमा आफ्नो विश्व ऐतिहासिक महत्व हासिल गरेको हो भन्ने माक्र्सवादका गुरु लेनिनको भनाइलाई स्मरण गर्न आग्रह गर्दछु । सोभियत सङ्घमा सर्वहारा संस्कृतिको अतिशय वकालत गर्ने तर विगतका उपलब्धिहरूबाट त्यसलाई पृथक राख्ने ‘प्रोलेट्कल्ट’ (प्रोलेटारियन कल्चर) नामक संस्थाको विरोध र विघटन सोभियत सङ्घमा बोल्सेभिक पार्टीले गर्नुको कारण पनि यही थियो । एकातिर परम्परामा, परम्परागत चाडबाडमा लिसो टाँसिए झैँ टाँसिइरहने र अर्कातिर परम्परा भत्काउने नाममा परम्परामा भएका सकारात्मकता केहीलाई पनि नदेख्ने दुइटै प्रवृत्ति ठीक छैनन् ।

मैले जे जति कुराहरू प्रस्तावित गरेको छु यी कामहरू सर्वप्रथम राजनीतिक पार्टीहरूले आफ्ना सङ्गठनहरूमा क्रियान्वयन गर्न विशेष पहल गर्नुपर्दछ । यसो गर्न उनीहरूले आचार संहिता नै बनाउनु र आफू र मातहतका सङ्गठनमा अनिवार्य लागू गर्न प्रयत्न गर्नुपर्दछ ।

जनताका हकमा यसलाई प्रचारात्मक रूपमा लगिनुपर्दछ र उनीहरूलाई यसो गर्न वा नगर्न बाध्य पारिनुहुँदैन ।

माथि उल्लेख गरिएको नीति आम जनताका लागि होइन, आन्दोलनमा क्रियाशील प्रगतिशील कार्यकर्ताका लागि हो । यस नीतिलाई आम जनताका बिच प्रचारात्मक रूपमा लगिनुपर्दछ र तिनलाई पनि यही दिशामा अघि बढ्न प्रशिक्षित गरिनुपर्दछ । जनवादी पद्धति, छलफल, आलोचना, प्रोत्साहन र शिक्षाको पद्धतिजस्ता उपायबाट उनीहरूलाई धर्म, धार्मिक आस्था, धर्ममा आधारित चाडबाडबाट मुक्त पार्ने प्रयास हामीले गर्नुपर्ने हुन्छ । जनतालाई करकाप गरेर, प्रशासनिक आदेश दिएर वा डरधम्की देखाएर पुरानो संस्कृति परित्याग गर्न र नयाँ संस्कृति अवलम्बन गर्न बाध्य पार्नु ठीक होइन ।

चाडबाडका सन्दर्भमा हामीले केही पुरानालाई नवीनीकरण गर्ने, केहीलाई परित्याग गर्ने मात्र होइन, नयाँ चाडबाडको निर्माणसमेत गर्नुपर्ने हुन्छ । सहीद सप्ताह, जनयुद्ध दिवस, साँस्कृतिक प्रतिरोध दिवस, पार्टी स्थापना दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, अन्तर्राष्ट्रिय मजदुर दिवसलगायतका दिवसहरूलाई मनाउने प्रयास गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।