0 COMMENTS

चैत २६, भक्तपुर । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको लुटको धन्दा बाहिरिसकेको छ । सहकारी खोलेर ऋणीलाई सुकुम्बासी बनाउँदै आएको सिन्सियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरीसमेत परिसकेको छ । घुस खाएर कर्जा दिँदै आएको सिन्सियरले ऋणीलाई के सम्म गरेन् ? कर्जा दिने बेलामा पाँचदेखि सात वर्ष तिर्ने अवधि राखेर दियो । तर, तीन किस्ता नतिर्नेबित्तिकै धितो नै पचाइदिन्थ्यो ।

सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले धेरैलाई पीडित बनाए । चिप्ला कुराको जालमा पारेर घरखेत, ट्याक्सीलगायतका धितो लुट्ने यी तीन नाइके कानुनको दायरामा आउने भएपछि पीडितहरु मख्ख परेका छन् । अख्तियार र शुद्धिकरणले केही नगरेको खण्डमा आफैंले प्रहरीकहाँ पुर्याउने तयारीमा पीडितहरु छन् । सिन्सियरको ठगीधन्दाविरुद्ध पीडितहरु सहकारी विभागसम्म पनि पुगिसकेका छन् ।

सिन्सियर तत्काल खारेज गर्नुपर्छ र त्यहाँका तीन नाइकेलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने माग लिएर उजुरी हाल्न पुगेका पीडितहरुलाई विभागले प्रदेशमा जानु भन्दै फिर्ता पठाइदिएको हो । राजनीतिक दल र गुण्डाको आडमा पीडितहरुको आवाज दबाउँदै आएको सिन्सियरको शोषणले सीमा नाघिसकेको छ । पीडितहरु जति गुमसुम बस्नु थियो बसे अब उनीहरु बमझै विस्फोटन हुने छन् । २०५७ सालमा दर्ता भएको सिन्सियरले धेरै सुकुम्बासी बनाएको छ ।

नयाँ मात्र नभई पूराना पीडितसमेत जागरुक भएका छन् । सिन्सियरजस्तो ठग संस्थाको विरोधमा पीडितहरु एकजुट भइसकेका छन् । सहकारीको सञ्चालकको बर्को ओढेर बसेका तीन नाइकेलाई कानुनको दायरामा ल्याउन पीडितहरु लागिपरेका छन् । उनीहरु एकै स्वरमा भन्छन्,‘ऋणीलाई विस्थापना गराउने सिन्सियरलाई कानुनले केही गरेन् भने हामी आफैं त्यसको कार्यालयमा ताला लगाउँछौं । न्यायका लागि आन्दोलन गर्न पनि पछि हट्दैनौं ।’ विगतदेखि नै सिन्सियरले ट्याक्सीमा लगानी गर्दै आएको छ, किन ?

ट्याक्सी चालकहरु धेरै पढेलेखेको नहुने र उनीहरुलाई ठगेर खान सहज हुने भएकाले यो क्षेत्रमा सिन्सियरले भकाभक लगानी गर्यो । लुट्नेलाई त सिन्सियरले लुटिहाल्यो । अब त्यही थोत्रा ट्याक्सी ‘टोक्नु न बोक्नु’ भन्ने अवस्थामा छ, सिन्सियर । ट्याक्सीमा भएको कर्जा लगानी चार्लमचुर्लुम्म डुबिसकेको छ । यो थाहा पाएर सिन्सियरमा बचत निकाल्न जानेहरुको चर्कै लाम लागेको छ । त्यहाँ पनि अन्य सहकारीझैं डिपोजिट गर्ने कोही छैनन्, निकाल्ने मात्रै भेटिन्छन् ।

अर्थतन्त्रको तीन खम्बे भनिएका सहकारीहरुले लाखौंको उठीबास लगाएको छ । त्योमध्ये सिन्सियर पनि एक हो । उसको कालो कर्तुत बाहिर आउनेबित्तिकै बचतकर्ताबाट सिन्सियर त नङ््गिहाल्यो । हजारौंलाई डुबाएको संस्थासंग को कारोबार गर्न चाहन्छ ? अहिले बजारमा जताततै सिन्सियरकै चर्चा छ । आफूले आफैंलाई ‘मपाईं’ भन्दै आएका सिन्सियरका तीन नाइके कसरी त्यहाँ पुगे ? त्यो त प्रष्ट भइसकेको छ । अरुलाई डुबाएर अब्बल सहकारीको ठोकुवा गर्दै आएको सिन्सियरको कालो कर्तुत बाहिर ल्याउने सञ्चारमाध्यमले धेरैलाई डुबिन र ठगिनबाट जोगाएका छन् ।

बचतकर्ता र सेयर होल्डरहरु बेलैमा सचेत बनेका छन् भने पीडितहरुलाई धेरै राहत भएको छ । सिन्सियरको थलो पर्ने दिन शुरु भएको छ । ऋणीलाई भाग्न बाध्य बनाएको सिन्सियरको पनि कुलेलम ठोक्ने दिन नजिकै छ । थोत्रा ट्याक्सी धितो राखेर ऋण लिएकाहरुले हात उठाइसकेका छन् । उनीहरुले ट्याक्सी छोडिसकेका छन् । ट्याक्सीबाट सिन्सियरले १६ देखि १७ लाख कर्जा उठाउनु छ । सरकारले २० वर्षे ट्याक्सी चल्न नदिने निर्णय गरिसकेको छ ।

त्यो ट्याक्सी कबाडीलाई बेच्दा १५ देखि २० हजार रुपैयाँ आउँछ । ऋणीहरु थप धितो दिनेवाला छैनन् । ऋण तिर्न सक्ने अवस्था उनीहरुको छैन् । अब सिन्सियरले आफ्नो कर्जा कहाँबाट उठाउँछ, बचतकर्ताको पैसा कहाँबाट फिर्ता गर्छ ? बुढापाकाले भन्थे,‘ओरोलो बगेको खोला १२ वर्षमा पनि उभो फकिन्छ ।’ सिन्सियरको पोल त खुलिसक्यो । हिजो अरुलाई चुस्नुसम्म चुस्यो । सीधासाधीलाई मारेर आफू माथि जाने सपना देखेका सिन्सियरका तीन नाइके केही वर्ष रमाए ।

तर, आफ्नो ठगीधन्दा बाहिर आइसकेपछि र ट्याक्सीमा भएको लगानी डुब्ने अवस्थामा पुगेपछि सिन्सियरको होश उडेको छ । घरजग्गामा लगानी गरेर तहसनहस हुने सहकारीहरुको गिन्ती गरेर साध्य छैन् । अहिले सहकारी डुब्नुको प्रमुख कारण नै घरजग्गा बनेको छ । यद्यपि, सिन्सियर भने ट्याक्सीमा भएको लगानीका कारण डुब्दै छ । बचतकर्ताको पैसा जथाभावी लगानी गर्दा सहकारीहरु माथिको विश्वास गुमेको छ । जसरी हुन्छ व्यक्तिगत सम्पत्ति कमाउनेतर्फ मात्र यिनीहरुको ध्यान छ ।

चाँडो नाफा कमाउने र घुस पनि खान पाउने भएपछि आँखा चिम्लेर कमशल धितोमा कर्जा लगानी गरियो । अहिले धितोबाट लगानी नउठ्ने भएपछि सिन्सियरजस्ता सहकारीहरु तर्सिएका छन् । पीडितहरु मिडियामा आउन थालेपछि सिन्सियरका तीन नाइकेले पावर र पैसाको आड लिन थालेका छन् । कार्यकारी सञ्चालक खड्काले कर्जा दिने भनेर प्रलोभन देखाउँदै आएका छन् । पाता फर्काउनेसम्मका कुरा बाहिर आएका छन् । तर, सिन्सियरका तीन नाइकेले सबै उनीहरुजस्ता पैसामा बिक्ने हुँदैनन् भनेर बुझेका छैनन् ।

पैसाको प्रलोभन देखाउँदैमा पीडितहरु ढग्मगाउने छैनन् । हिजो उसले गरेको व्यवहार पीडितहरुलाई झल्झली याद आउँछ । आफूहरु धनी बन्नका लागि यिनीहरुले केसम्म गरेनन् ? कोठे राजनीति गर्न माहिर सिन्सियरका तीन नाइकेले व्यक्ति हेरेर ब्याज लिन्छन् । एउटा व्यापारीको विरोधमा अर्कोलाई उचाल्ने, उनीहरुको बीचमा झगडा बनाइदिने अनि आफू कमाउने । सिन्सियर फट्याहाले चलाएका छन् भन्ने त कसलाई थाहा नहोला ? सिन्सियर दलालीले चलाएको सहकारी हो भन्दा पनि केही फरक पर्नेवाला छैन् ।

विगत २३ वर्षदेखि यिनीहरुले ठगीधन्दा चलाएका छन् । तर, यिनीहरु कानुनको नजरमा आउन सकेका छैनन्, किन ? सिन्सियरले आफू हिँडेको पाइला आफैंले मेटाउने भएकाले उनीहरु जोगिएका हुन् । राज्य र सञ्चारमाध्यमलाई भुंग्रामा राखेर सफल भएका यिनीहरुको विरोधमा बोल्ने आँट पीडितहरुले गर्न सकेनन् । सिन्सियरसंग राजनीतिक पार्टीको आड छ । सिन्सियरमा ठूल्ठूला नेताहरुको पैसा छ । भ्रष्ट्राचार गरेको पैसा सिन्सियरले राख्ने गरेको छ । प्रहरी प्रशासन र गुण्डाहरुको पैसा पनि त्यहाँ छ ।

आफूलाई गुण्डा लगाएर हात खुट्टा भाँच्छ कि भन्ने डर बोकेर पीडितहरु चुपचाप बसेका हुन् । सिन्सियरबाट सयौं होइन्, हजारौं पीडित बनेका छन् । यो कुरा क्रमशः बाहिर आयो । जसोतसो ढाकछोप गर्दै आएको कालो कर्तुत बाहिर आएपछि सिन्सियरका कार्यकारी सञ्चालक खड्काले सञ्चारकर्मीलाई तर्साउन शुरु गरे । मिडिया हाउसमा गएर धम्काउने, समाचार हटाउन दबाब दिने, प्रेस काउन्सिलमा जानेलगायतका काम भयो । उनले जति कोसिश गरेपनि सत्य ढग्मगाएन् ।

सिन्सियरले पीडित बनाएको सत्य हो । हजारौंको घरबार उजाडेको, उनीहरुलाई सुकुम्बासी बनाएको र रातारात भाग्नुपर्ने अवस्थामा पुर्याएको कुरामा अलिकति पनि झुठ छ । तीन नाइकेले सञ्चारकर्मीलाई थर्काएर आफ्नो ठगको धन्दा लुकाउछु भनेर अनेकौं कोसिश गरेका थिए । तर, उनीहरु सफल हुन सकेनन् । सञ्चारमाध्यम पीडितको लागि हो, पीडकका लागि होइन् । पीडितको आवाज निष्पक्ष रुपमा बाहिर आउनुपर्छ । सिन्सियरजस्तो संस्थाले प्रेस विज्ञप्ति निकाल्दैमा कोही डराउने वाला छैन् ।

भनिन्छ नि,‘गल्ती गर्ने कराउनुहुँदैन्, गल्ती गरेको छैन् भने डराउनुहुँदैन् ।’ सञ्चारकर्मीहरुले पीडितको पक्षमा कलम चलाएका छन्, उनीहरु किन डराउने ? जहाँ राज्य र सञ्चारकर्मीको आँखा पुगेको हुँदैन्, त्यहाँ सीधासाधी लुटिन्छन् । सहकारी क्षेत्रमा सरकारको ध्यान गएको थिएन्, जसको नतिजा अहिले व्यापक देखिएको छ । समाजमा मीटरब्याज व्याप्त हुनुमा पनि सरकारको धरै कमीकमजोरी छन् । सर्वसाधारणको आयस्तर उकास्नका लागि सहकारी खोल्ने इजाजत दिइएको हो, नाकि सुकुम्बासी बनाउन ।

सहकारी विभागले एक प्रतिशत सेवाशुल्क र १६ प्रतिशत ब्याज तोकेको छ । घुस खाने प्रावधान त विभागले बनाएको छैन् । तर, सिन्सियरले कर्जा दिँदा घुस लिन्छ । सेवाशुल्क दुई प्रतिशत र ब्याज पनि १८ देखि २२ प्रतिशतसम्म लिँदै आएको छ । पाँच वर्षको लागि भनेर कर्जा दिन्छ तर वर्षैपिच्छे नवीकरण गराउन लगाउँछ । मासिक किस्ता तिरेपनि साँवा नघटाउने, तिरेको पैसा सबै हिनामिना गर्ने । ऋण चुक्ता गर्ने बेलामा पनि दुई प्रतिशत सेवाशुल्क लिने ।

तीन किस्ता नतिर्नेबित्तिकै धितो पचाइदिने । यति गरेपछि ऋणी सुकुम्बासी नबनेर के बन्नु ? जसरी हुन्छ, ऋणीलाई चुस्नु र धितो पचाउनु सिन्सियरको उद्धेश्य हो । अरुको बिचल्ली बनाएर तिनकै सम्पत्तिमा रजाइँ गरेर बसेका सिन्सियरका तीन नाइकेलाई सरकारले तुरुन्त कानुनको दायरामा ल्याउनुपर्छ । सीधासाधीलाई चुस्ने हक कसैलाई पनि छैन् । सिन्सियरजस्तो ठग सहकारीलाई सरकारले कुनै पनि हालतमा छोड्नुहुँदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।