0 COMMENTS

विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह गर्नु भनेको फलामको चिउरा चापाएसरह हुँदो रहेछ । रूढिवादी सामाजिक संस्कार–संस्कृतिमा विद्रोह भन्नेबित्तिकै आफ्नै घर–परिवार, आफन्त, नाता–गोता, इष्टमित्र र टोल–छिमेकीहरूसँग विद्रोह गर्नु हो । यो भनेको वर्गीय राज्यसत्तासँगको विद्रोहजस्तो हुँदैन । यो त माओले भन्नुभएझैँ ‘आफ्नो टाउकोमा आफैँ आगो लगाउनु’ जस्तै हो । रूढिवादी संस्कार–संस्कृतिविरुद्ध विद्रोह भनेको अफ्नो टाउकोमा आफैँले आगो लगाएसरह हुँदो रहेछ ।

यहाँ थोरै एउटा घटना जोड्न मन लाग्यो; जति बेला मलाई जन्म दिने आमाको निधन भयो त्यति बेला श्रद्धाञ्जली दिनेदेखि दाहसंस्कार र त्यसपछिको कथित सामाजिक संस्कार–संस्कृतिका नाममा परिवार, नाता–गोता, आफन्त, इष्टमित्र र सिङ्गो समाज एकातिर उभियो । भने म परिवारमा अर्कातिर उभिएर गैरमाक्सवादी चिन्तन, दृष्टिकोण, पाखण्ड र ढोङ्गी प्रवृत्तिका विरुद्ध एक्लै लड्नु पर्यो । त्यो साँच्चै नै पीडादायी र कष्टकर थियो । त्यसो हुँदा यो सजिलो पक्कै छैन तर हिम्मत र साहस गर्यौँ भने त्यति असजिलो पनि छैन । तर हामीले यो साहस गर्नैपर्छ ।

हजारौँ वर्षदेखिको सामन्तवादी राज्यसत्ताको दमन, शोषण, अन्याय र अत्याचारबाट लादिएको सामन्ती संस्कार–संस्कृति र ५०० वर्षभन्दा अगाडिदेखि जबर्जस्ती थोपरिँदै आएको निम्नपुँजीवादी टुक्रे उत्पादन चिन्तनले हाम्रो सामाजिक संस्कार–संस्कृति कति धेरै जकडिएको छ भने चाहे त्यो दसैँतिहारजस्ता चाडपर्व होऊन् वा जन्म–मृत्युको संस्कार–संस्कृति, यसका अवैज्ञानिक पाटा, पक्ष र रूढिवादी परम्परा तोड्न प्रायः असम्भवजस्तै देखिन्छ तर असम्भव भने छैन ।

मानव समाजको विकाससँगै आआफ्नो संस्कार–संस्कृति, भेष–भुषा, चलन–चल्ती, रीति–रिवाज र ऐतिहासिक परम्पराहरू चल्दै र मान्दै आएको देखिन्छ । तर जब मानव समाज दासयुग हुँदै सामन्तवादी युगमा प्रवेश गर्यो तब राजामहाराजा वा सामन्तहरूले आफ्नो वर्गको रक्षा गर्न वा भनौँ अर्को वर्गलाइ दबाउन (कज्याउन) आफूअनुकुल हुने गरी अवैज्ञानिक, अप्राकृतिक र अमानवीय रूपमा समाज विज्ञानको नियमविपरीत चल्दै आएका संस्कार–संस्कृति, रीतिरिवाज र ऐतिहासिक परम्पराहरूलाई गलत व्याख्या र अपव्याख्याहरू गर्दै लगे । अझ भनौँ अघोषित कानुनका रूपमा प्रयोग गर्दै विभिन्न बहानामा धर्मसँग जोडेर ल्याएको देखिन्छ । कहाँसम्म भने ती सामन्त, राजा–महाराजाहरू अर्थात् शासकहरुले मान्छेले बनाएको चलनचल्ती, रीतिरिवाज, परम्परा, धर्म, संस्कार–संस्कृतिहरू स्वयम् मान्छेलाई नै त्यसैको दास बनाइदिने प्रवृत्तिको विकास गरे । कहाँसम्म भने कोही कसैले अलि प्रगतिशील, वैज्ञानिक ढङ्गको चिन्तन, विचार, दृष्टिकोण राख्यो भने दमन गर्ने, यातना दिने मात्र नभएर झुन्ड्याइहाल्ने, फाँसी दिइहाल्नेसम्मका अमानवीय कार्यहरू हुन्थे । हुँदाहुँदा शासकहरु कतिसम्म क्रूर बन्न थाले भने श्री ३ जबराको पालामा विसं १९९० सम्म आइपुग्दा त कानुन नै बनाएर धर्म, संस्कार–संस्कृति, जात–भात, छूत, अछूत, क्षेत्र, लिङ्ग, वर्णका आधारमा रीतिरिवाज र परम्पराको जन्जिरले बाँधेर जनताको स्वतन्त्रता हनन गरी शोषण, दमन, अन्याय–अत्याचार गर्दै जनतामाथि शासन गर्न थाले । यसरी लामो समय देखि सामन्त, राजा–महाराजाहरूले क्रूर शासन गर्दै आउँदा जनता धेरै प्रताडित भएर डामिएका छन् । जनताका लागि क्रान्तिकारी सांस्कृतिक परिवर्तन हुनु भनेको आकाशको फल अँखा तरी मर भनेजस्तै भएको छ । तसर्थ ठूलाठूला क्रान्तिकारी आन्दोलन, राजनीतिक क्रान्ति वा आमूल परिवर्तनबिना सितिमिति जनतामा लादिएको संस्कार–संस्कृति परिवर्तन हुने देखिँदैन । आंशिक रूपमा जनताको आन्दोलन, त्याग, तपस्या र बलिदानबाट २००७ सालमा केही परिवर्तन भयो तर पर्याप्त भएन । त्यसैगरी २०३६ साल, २०४६ साल हुँदै २०५२ सालबाट आमूल परिवर्तनका निम्ति जनताको बलमा नेकपा (माओवादी) ले सुझबुझका साथ हतियार उठायो । १० वर्षसम्म चलेको त्यो महान् जनयुद्धले २०६२/०६३ सालमा आइपुग्दा सामन्तवादी राजतन्त्र ढाल्यो, गणतन्त्र ल्यायो तर जनगणतन्त्र आउन सकेन । आमूल परिवर्तन हुन सकेन । नेपाली आमाका १७ हजार होनहार छोराछोरीले सहादत प्राप्त गरे, मृत्युवरण गरे । हजारौँको सङ्ख्यामा घाइते, अपाङ्ग र बेपत्ता भए तर बदलामा जनताले के पाए ? पाए त केवल बुर्जुवा गणतन्त्र । यद्यपि उपलब्धि केही नभएको भने होइन । मात्र आमूल परिवर्तन हुन सकेन । केही संसदीय संशोधनवादीहरूको जीवनमा आमूल परिवर्तन आयो । हिजो खाली खुट्टा हिँड्नेहरू आज चिल्ला कारमा हुइँकिन्छन् । हिजो झुपडीमा बस्नेहरूको आज महल र ठूलाठूला बङ्गलाहरू खडा भएका छन् । हिजो एक छाक खान नपाउनेहरू आज चौरासी व्यञ्जन खाने भएका छन् । समाजवाद आयो त केवल तिनिहरू र तिनका आसेपासेहरूलाई आयो । जनता सडकमै छन् । जमिन, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचना–सञ्चार, यातायातजस्ता आधारभूत आवश्यकताबाट जनता वञ्चित छन् । राज्यको वर्गीय चरित्र र उदासीनताका कारण जात, भात, छूत, अछूत, वर्ग, क्षेत्र, लिङ्ग, धर्म, संस्कार–संस्कृतिका नाममा जनता पिल्सिएकै छन् । तसर्थ यी तमाम विषयको हल गर्ने एक मात्र विकल्प भनेको विद्रोह हो । केवल विद्रोह । विद्रोहभन्दा अरू विकल्प छैन । विद्रोह जनताको अधिकार हो । आफू सत्तामा टिकिराख्न र शासनसत्तामा पुग्नका निम्ति यो दलाल राज्यसत्ताले भर्याङ बनाएका र विभाजित नेपाली जनताका तह र तप्काहरू; बुद्धिजीवी, लेखक, वकिल, पाइलट, डाक्टर, इन्जिनियर, युवा, बिद्यार्थी, महिला, मजदुर, किसान, सुकुमबासी, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, उत्पीडित, बाहुन–क्षेत्री, सेना, पुलिस, कर्मचारी, देशभक्त, राष्ट्रिय पुँजीपति वर्ग, मध्यम पुँजीपति वर्गलगायत सबै तहका जनताले विद्रोहको झन्डा उठाउनुपर्ने बेला भयो । जनविद्रोह सिर्जना गर्दै मालेमावादी मान्यताअनुसार बलप्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्दै अन्ततः एकीकृत जनयुद्धको बलमा यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्ने र हामीले भनेको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने । त्यो व्यवस्थाले मात्र गर्नेछ जनता र रास्ट्रको सुरक्षा । त्यहाँ मात्र हुनेछ देश र जनताको मुक्ति, राष्ट्रिय स्वाधीनता र समृद्धि । त्यहाँ मात्र हुनेछ गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचना–सञ्चार, यातायात र जमिनमाथि जनताको अधिकारको सुनिश्चितता । त्यहाँ मात्र हुनेछ वैज्ञानिक समाजवादी संस्कार र संस्कृतिको निर्माण ।

अन्त्यमा क्रान्तिकारी संस्कार–संस्कृति भएको बैज्ञानिक समाजवादी राज्य व्यवस्थाले मात्र सभ्य मानिस र उच्चतम् मानवसमाज निर्माण गर्नेछ जसलाई हामि वैज्ञानिक समाजवाद भन्दछौँ ।

वैज्ञानिक समाजवाद जिन्दावाद !
वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद !!
एकीकृत जनयुद्ध जिन्दावाद !!!
वीर सहिद लालसलाम !!!!
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिन्दावाद !!!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।