0 COMMENTS

असार १८, भक्तपुर । तपाई हामी कोही सरकारी कार्यालयमा काम लिएर गयौंँ भने अधिकांश कुर्सीहरु खाली हुन्छन् । प्रायजसो कर्मचारी बिदामै रहेको पाइन्छ । कार्यालय नगएका कर्मचारीहरु सेयर खरिदबिक्री गर्ने ठाँउमा भेटिन्छन् । आजको सेयरको मूल्य घट्छ कि बढ्छ भन्नेमा मात्र उनीहरुको ध्यान छ । काम नै छोडेर सेयरको बारेमा चासो दिन्छन्, सरकारी कर्मचारी । कोही आधा दिनमै निस्किने, कोही आउदै नआउने । कति रमाइलो । कार्यालयमा भएका पनि सेयरको मूल्य घटेको झोकमा आएर सेवाग्राही थर्काउछन् । हामी डुब्यौ भनेर सेवा लिन आउनेसंग झर्किछन् । सरकारी कर्मचारीहरुको यस्तो पाराले सेवाग्राही आजित भइसकेका छन् । सरकारी कर्मचारीको बानी व्यवहार थाहा नहुने सायदै कोही होलान् । सेवाग्राहीको सेवा नदिने र आफ्नो नानाथरी काममा झुम्मिने यो नौलो कुरा रहेन् ।

आज हुने कामलाई साता दिनसम्म अड्काएर राखिदिने, छिटोछरितो काम नगर्ने बरु दिनभर सामाजिक सञ्जालमा गफिएर बस्ने । यो प्रवृत्ति वर्षौदेखि चलिआएको छ । जनताले दुःख पायो भने यिनीहरुलाई साह्रो आनन्द आँउछ जस्तो छ । अहिले त झन् यो थप भइसकेको छ । घण्टौं लाइनमा बसेर सेवाग्राहीको हातखुट्टा गलिसक्छ । यता, कर्मचारी भने सेयरको मूल्य घट्यो, मेरो यति लगानी डुब्यो भनेर काम गर्ने ढिलाइ गर्छन् । पिऊनदेखि हाकिमको सेयरमा लगानी छ । कुनैले लाख कुनै करोडको लगानी गरेको छ भन्ने कुरा छरपस्ट भइसकेको छ । सरकारी कर्मचारीलाई त सेयरले तनावमा पारेको छ भने निजीमा काम गर्नेको हालत के होला । सरकारीमा काम नै नगरेपनि मासिक तलब पाक्छ । कार्यालय जाऊ÷नजाऊ कसैको चासोको विषय रहेन् ।

तर, अन्य क्षेत्रमा लगानी गर्नेको त एकदिन काममा गएन भने तलब काटिन्छ । उनीहरुलाई चाहि तनाव छैन् होला ? तनाव भएपनि त्यो उनीहरुले आफ्नो काममा देखाएका छैनन् । तर, सोही ठाँउमा उभिएर सरकारी कर्मचारीले रमिता देखाइरहेका छन् । सरकारी कर्मचारी त निकै पढेका लेखेका हुन्छन् नि ! त्यत्रो लोकसेवाको परीक्षा उत्तीर्ण गरेर आँउछन् । तर, उनीहरु नै फस्नु लज्जास्पद कुरा हो । छिटो धनी बन्ने सपना देख्नेलाई सेयरले ठिक ठाँउमा ल्याएको छ । बैंकले एक सय रुपैंया कित्तामा निकास गरेको सेयर चार हजार तिरेर किन्ने व्यक्ति मुर्ख होइनन् । हामीले गैरकानूनी क्षेत्रमा लगानी गर्नु हुदैन् भनेर थाहा हुँदाहुदै पनि कर्मचारीले वेबास्ता गरे । दिनमा दुई गुणा र रातमा चार गुणा कमाउने सपना देख्नुको प्रतिफल हो यो ।

एउटा सामान्य साग बेचेर, मकै पोलेर जीविकापार्जन गर्नेहरुले समेत सेयरमा लगानी गरेका छन् । दलालीहरुले कतिसम्म ठूलो योजना बनाएका रहेछन् । बिहान कमाएर बेलुका जीविकापार्जन गर्नेलाई फसाउन दलालीहरु सफल भएका छन् । लाठादेखि बाठा सबैलाई दलालीले आफ्नो जालमा पारे । घरखेत बेचेर, जिन्दगीभर रगतपसिना बगाएर सेयरमा लगानी गर्नेहरु चुलुम्मै डुबे । व्यक्ति त डुब्ने भए तर सेयरमा लगानी गर्ने बैंक र सहकारी पनि सिद्धिने भो भन्ने कुरा सुन्दाचाहि सबै जनता आश्चर्यचकित छन् । सेयर कारोबार शुन्यजस्तै छ । किनबेच ठप्पजस्तै बनिसकेको छ । तर, सेयर दलालीले दैनिक यति रकमको कारोबार भयो भनेर झुठा विवरण सार्वजनिक गरिरहेका छन् । अझैपनि जनतालाई ‘मुर्गा’ बनाउने चाल चालिरहेका छन् ।

सरकारले २० प्रतिशतभन्दा बढी नाफा राखेर कुनै पनि सामान बिक्री गर्न पाइदैन् भनेर प्रष्ट पारेको छ । तर, सेयर दलालीले त एक सयमा किनेको सेयर चार हजारसम्म बेचे । खोइ त कारबाही ? कि सरकार पनि डरायो ? बैंक र सहकारीहरु घाटामा छन् । तर, सेयर दलाली भने अहिले पनि वित्तिय संस्थाले बोनस दिन्छ भनेर सिधासाधी जनतालाई झुक्याइरहेका छन् । हिजो चार हजारमा किनेको सेयर आज सय रुपैंयामा पनि कसैले किन्दैनन् । पैसाको खाँचो परे पनि किनिदिने नहुँदा लगानीकर्ताहरु चिन्तित बनेका छन् । सेयर लगानीकर्ताको रातको निद्रा र दिनको भोक हरायो । यता, पैसा डुबेका कारण मानसिक रोगीको संख्या दिनहुँ वृद्धि हुदैछ । हिजो सेयरको मूल्य बढेको बेला आकाशमा उडेकाहरु अहिले पनि धर्तीमै झरेका छन् । आर्थिक कमजोर भएकालाई त हेपिरहेका थिए । अहिले तिनीहरु पनि सडकमा आइपुगेका छन् ।

चिसो भुईमा अनशन बस्दा कस्तो लाग्दो रहेछ ? बल्ल थाहा पाए होलान् । हामी पनि सडक छाप भएछौ भनेर अनुभुति पनि गरे होलान् । पहिलेदेखि सेयरमा लगानी जोखिमपूर्ण छ भन्नेहरुको कुरा साबित भएको छ । यसअघि पनि तारन्तार सेयरमा लगानी गर्नु जुवा खेलेसरह हो भन्दाभन्दै पनि कसैले विश्वास गरेनन् । जसको प्रतिफल आफै भोग्न बाध्य भएका छन् । दलालीले हिजो पनि प्रलोभन देखाएर फसाए । अझैपनि फसाउन खोज्दै छन् । यसमा समाजको हरेक नागरिक चेतनशील हुन जरुरी छ । कसैले सेयरमा लगानी गर्दै छ भने उसलाई सुझाव दिनुपर्छ । सेयरमा गरेको लगानी जतिबेला पनि डुब्न सक्छ भनेर उसलाई सम्झाउनुपर्छ । सोच्दैनसोची लगानी गर्नाले सडकको बास काट्नुपर्ला । बेलैमा होस् पुर्याऔं । जिन्दगीभर अफसोस मान्नुभन्दा अहिले नै सतर्क हुन बेस् । सरकारले सेयर किन् भनेर जनतालाई दबाब दिएको होइन् । हामी आफैले किनेका हौं ।

सेयर भनेको जुवा तास हो । भएको सम्पत्ति जुवा खेलेर नउडाऔं । भोलि टाउको हात राखेर धुरुधुरु रुनुपर्ने दिन कसैको पनि नओआस् । आफ्ना छिमेकी, आफन्तलाई कसैले पनि बिचरा भन्न नपरोस् । बरु, बेलैमा अर्थी दिए उनीहरु बच्न सक्छन् । सेयर लगानीकर्ताहरु बाटोमा रुदै हिडेका छन् । घर, गाडी हुने पनि सडकमा ओइरिएका छन् । उनीहरुलाई देखेर हामीले पाठ सिक्नुपर्छ । यसलाई अझैपनि ख्यालख्यालमा लिने हो भने भोलि त्यही स्थानमा हामी हुने छौं । हाम्रो समाजमा यस्तोसम्म मान्छे छन् कि जसले आफ्नो घरखेत नै बेचेर सेयरमा लगानी गरेका छन् । अब त्यो घरखेत फर्किएर आँउछ ? अबको एक वर्षमा सेयर झन थिलथिलो हुदै जान्छ । यो क्षेत्र नै तहसनहस बनिसक्छ । सेयर किन्ने कोही पनि हुदैनन् । सेयरमा लगानी गर्नेहरु भाग्न अवस्था बन्छ ।

मुलुकको अर्थतन्त्र अझै टाट पल्टिरहेका छन् । वित्तिय संस्थाहरुमा तरलता झनै गहिरिदै गएका छन् । सेयर कारोबार बढ्दो होइन् घट्दो छ । त्यसैले पनि आफ्नो कमाइ होस् पुर्याएर मात्र लगानी गरौं । यता, सेयरमा पनि मिडियाबाजी भइरहेको छ । सेयरको मूल्य बढ्छ भनेर सञ्चार माध्यमहरुले बाहिर ल्याएका छन् । यो क्रम बन्द गरौं । सेयर दलालीको डुबेर केही जादैन् । किन कि ऊसंग खर्बौको सम्पत्ति छ । तर, गरिब जनतालाई पाँच हजार डुब्नु भनेको पनि ठूलो कुरा हो । पाँच हजारमा दुई महिनाको चामल आँउछ भनेर उनीहरु हिडेका हुन्छ । अहिले बैंकले सेयर धितो राखेर कर्जा दिदैन् । अब सेयर छ भनेर राखेको प्रमाणपत्र के काम ? च्यातेपनि केही फरक पर्ने देखिदैन् । नेपाल राष्ट बैंक र अर्थ मन्त्रालयले लहैलहैमा आएर सेयर खरिद नगर्नुस् भनेर सचेतना फैलाएको छैन् । सेयरमा लगानी गर्न खतरापूर्ण छ भनेर सरकारले सूचना जारी गरेका छैन् ।

राष्ट बैंकका गर्भनर महाप्रसाद अधिकारीले विदेशी मुद्राको सञ्चिति घटेको बताइसकेका छन् । उता दिनहुँ बढिरहेको व्यापार घाटाले विदेशी मुद्रालाई थप चापमा पारेको छ । नेपालको अर्थतन्त्र बिथोलिदै छ । श्रीलंकाजस्तो हुन बेर नलाग्ने अवस्थामा नेपाल छ । अहिले अर्बको सेयर किनबेच भइरहेको छ तर केही महिनापछि करोड पनि हुदैन् । सेयरको मूल्य थप घट्दै आउछ । हिजो भन्दा आज र भोलि गर्दै यो क्षेत्र सोत्तर हुन्छ । एक कप चिया नखाई जम्मा गरेको पैसा सेयरले लग्यो । गलत ठाँउमा लगानी गर्दा जीवनभरको दुःख खेर भयो । सेयर दलालीको पछि लागेर सेयर किन्ने काम हानिकारिक छ । आफू पनि बचौ अरूलाई पनि बचाऔँ । नाफा हुने लोभमा नफसौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।