फागुन १३, भक्तपुर । विद्यालय विद्यार्थीका लागि ज्ञानको मन्दिर हो । तर, महाशिवरात्रीको नाममा मिठाईमा भाङ हालेर विद्यालयले विद्यार्थीलाई खुवाउँछन् । स्कुल, कलेजको ड्रेसमा हुन्छन्, तर दिउँसै झ्याप भएर हिँडेको देखिन्छ । यता, फागू पूर्णिमा नआउँदै होली खेल्ने । ड्रेसमा कोर्ने, रंगमा लत्पतिएर हिँड्नेलगायतका दृश्य पनि अहिले नै देखिन थालेको छ ।
अभिभावकले आफ्ना सन्तानलाई विद्यालय पढ्न पठाएका हुन् । उनीहरुलाई चाडपर्वको विषयमा ज्ञान पनि चाहिन्छ । तर, चाडपर्व आउनु दुई साता अगावैदेखि यस्ता गतिविधि गर्नु भने ठीक होइन् । रमाइलोको नाममा स्कुलको नपढाउने बहाना हो । बाबुआमाको छोराछोरीको पढाइका लागि मोटो रकम खर्च गरेका हुन्छन् । तर, यस्ता क्रियाकलापले विद्यार्थीको पढाइमा ठूलो असर पर्छ । रमाइलो गर्नुपर्छ, तर ठीक समयमा । दुई साता अघिदेखि होली मनाउनुको औचित्य के ? विद्यालयमा आफ्ना सन्तानले के गरिरहेका छन् ? अभिभावकलाई चासो छैन् । पैसा तिरेपछि सकियो । जसले गर्दा विद्यार्थीहरु गलत ट्रयाकमा जान सक्छन् ।
रमाइलो गर्ने नाममा विद्यार्थी गलत बाटोमा गइरहेका छन् । रमाइलो गर्दा कुनै दुर्घटना भयो भने कसले जिम्मेवारी लिन्छ ? शिवरात्री मनाउने नाममा गाँजा, भाँङ, धतुरो खाएर झगडा गरेको र ज्यान गएको घटनाहरु धेरै छन् । यी पदार्थको सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएर ज्यान गुमाएका उदाहरणहरु पनि नभएका होइनन् ।
शिवरात्रीमा आगो बाल्ने चलन छ । त्यही आगो घरभरि सल्किएकोलगायतका अप्रिय घटना पनि घटेका छन् । शिवरात्री र होलीको दोस्रो नाम नै मादक पदार्थ र लागूपदार्थ सेवन बनेको छ । मादक पदार्थ र लागूपदार्थ सेवन गर्ने, होहल्ला गर्ने कार्यले पछिल्लो समय प्राथमिकता पाएको छ ।
मादक पदार्थ र लागू पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउँछन् । उनीहरुको ज्यान जान्छ । अर्कोतर्फ, झैझगडा एउटाको मृत्यु हुन्छ, अर्को जेल जान्छ । यस्तो अप्रिय घटना भएको देख्दादेख्दै विद्यालयले दुई साता अघिदेखि होली मनाउने अनुमति दिने हो ? विद्यार्थीले त रमाइलो गर्न खोजिहाल्छन् । तर, विद्यालय पनि पढाउन छोडेर त्यस्तो क्रियाकलाप गर्नमा आबद्ध भएको छ । नेपालीहरु रमाइलो गर्दा हजारौं रुपैयाँ खर्च गर्छन् । चाडबाड मनाउने भन्दै फजुलको खर्च गरिन्छ । यद्यपि, सामाजिक काममा भने नेपालीको ध्यान नै छैन् । भन्ने गरिन्छ,‘थोपाथोपा गरेर समून्द्र बन्छ ।’
यसरी खर्च गर्ने पैसाले कतै पुल बनाउन सकिएला । भोकोलाई खाना खुवाउन सकिन्छ । विडम्बना, नेपालीहरु यस्तो सोच्दैनन् । रमाइलो गर्दा पैसा पानीझैं बगाएको उनीहरुलाई थाहा हुँदैन्, तर कसैलाई सहयोग गर्नुपर्यो भने दाँतबाट पसिना छुट्छ । विद्यालय विद्यार्थीको दोस्रो घर हो । घरपछि सबैभन्दा बढी समय विद्यार्थीले विद्यालयमा बिताउँछन् । तर, प्रिन्सिपल र शिक्षक नै विद्यार्थीको सामुन्ने चुरोट पिउँछन् । खैनी खाएर पढाउन आउँछन् । टिचरहरु मदिरापान गरेर कक्षामा आएको पनि बेलाबखत सुन्नमा आइरहेको हुन्छ । यता, शिक्षिकाहरुको कपाल पुरै रंगाएको हुन्छ ।
शरीरमा ट्याटु हानेका हुन्छन् । यस्ता शिक्षक शिक्षिकाले विद्यार्थीलाई के पढाउलान् ? विद्यार्थीले उनीहरुबाट के सिक्छन् ? विद्यार्थी भनेको भोलिका कर्णधार हुन् । विद्यालयमा जस्तो शिक्षा हासिल गर्यो, उनीहरु त्यस्तै बन्छन् । घरमा बुवाआमाभन्दा उनीहरु आफ्ना टिचरबाट बढी इन्स्पायर हुन्छन् ।
अहिलेका शिक्षक शिक्षिकाबाट विद्यार्थी चुरोट खैनी खान, कपाल रंग्याउन, ट्याटु हान्न इन्स्पायर भएका छन् । भोलि अधिकांश दर्शनका लागि पशुपतिनाथ मन्दिर पुग्छन् । त्यहाँ भएका नागा बाबाबाट आर्शिर्वाद लिन उनीहरु त्यहाँ गएका हुन्छन् । भेटी चढाउँछन् । सबैभन्दा ठूलो धर्म आफ्नो अभिभावकको सेवा गर्नु हो । घरमा बुढा भएका बुवाआमालाई चाँहि अपहेलना गर्छन् । खान दिँदैनन्, नुहाईधुहाई गर्दिदैनन् अनि आर्शिर्वाद माग्न पुग्छन् । नेपालीहरु ढोंग रच्न निकै जान्ने भए । देखाउनेका लागि मात्रै काम गर्छन् । एउटा उखान छ, चपाउने दाँत एउटा, देखाउने दाँत अर्को । यस्तै छ नेपालीको व्यवहार ।
नेपालीहरु न ऐनकानुन टेर्छन् न आफ्नो जिम्मेवारी बुझ्छन् । होली आफ्नो परिवारबीच मनाउने पर्व हो । तर, छतमा बसेर अर्कालाई पानी छ्यापिन्छ । छतबाट चिप्लिएर हरेक वर्ष एकाधले ज्यान गुमाइरहेका हुन्छन् । तैपनि पाठ सिक्दैनन् । योभन्दा विडम्बनापूर्ण कुरा के होला ? राज्यको काम समाजलाई सही दिशामा लैजानु हो । तर, सरकारले आफ्ना जनतालाई केही सिकाउन सकेन् । जनतालाई टिकटक चलाएर भ्याइनभ्याइ छ । टिकटकबाट नकारात्मकता फैलाएको छ । जनता त्यहाँ अल्मलेका छन् । सरकारलाई त यसले फाइदा नै भएको होला । काम नगर्ने सरकारले आफ्नो विरोध हुन्छ भनेरै टिकटक खोलेको हो ।
जनताले आफ्नो सबैभन्दा बढी समय त्यहाँ बिताउँछन् । पछिल्लो समय हरेक आकाशे पुलमा मान्छेहरु नाँचिरहेको देखिन्छ । काम नगर्ने, टिकटक बनाउने । जनता गलत बाटोमा गइरहेका छन् । उनीहरुले आफ्नो समय खेर फालिरहेका छन् । तर, सरकारलाई मतलब छैन् । उल्टै त्यस्तो काम गर्न उक्साइरहेको छ । सरकारले जनतालाई शिक्षित बनाउनै चाहेको छैन् । देशको ऐनकानुनबारे जानकारी नगराउने, अनि उनीहरुले गल्ती गरेपछि जेल कोच्ने । जनता सरकारका लागि भोट र नोटको माध्यम मात्र बनेको छ । जनतालाई कानुनको विषयमा जानकारी छैन् । सरकारले विद्यालयमा पनि सिकाएन् ।
जनता आफ्नै धुनमा छन् । हत्कडी लागेपछि संविधान र कानुन पढाएर के काम ? सरकार आफैं जाल थाप्छ अनि जनतालाई फसाउँछ । जनता पनि रमाइलोको नाममा फस्छन् । सरकार भन्छ, घरेलु मदिरा बेच्न पाइँदैन् । सार्वजनिक ठाउँमा धुम्रपान गर्न पाइँदैन् । गाँजा, धतुरो बेच्न पाइन्छ ।
शरीरलाई असर पुर्याउने केमिकल भएको रंग, कालो मोबिलहरु बेच्न पाइँदैन् । तर, यहाँ त कानुनले बन्देज लगाएको सामानहरु खुलेआम रुपमा बिक्री भइरहेको छ । सरकारले जहिलेपनि जनताको सुरक्षा गर्छौं भन्छ । तर, जनता मारेर सरकारले कर उठाउँछ । सरकार नौटंकी भएपछि जनताले त्यो सिक्नु स्वाभाविकै हो । जो मान्छे गरिब परिवारमा जन्मियो, ऊ त पढाइबाट वञ्चित हुन्छ । उसलाई कानुनबारे थाहा हुँदैन् । तर, धनी बाउका छोराछोरीलाई पनि देशको ऐनकानुनको विषयमा रत्तिभर पनि जानकारी छैन् । बेतिथि आफै निम्तिँदैन्, व्यक्तिले निम्त्याउने हो । बेतिथि निम्तिएपछि राज्यले त्यसलाई नियन्त्रण गर्ने नाममा कानुन लगाउँछ ।
बिग्रिसकेपछि कानुन कार्यान्वयन गरेर के फाइदा ? मरेपछि आँखाबाट आँशु झारेर के गर्ने ? बिग्रिसकेपछि जेलमा लगेर थुनेर केही हुन्छ ? राज्य र अभिभावक चनाखो हुने हो भने सायद त्यो अवस्था देख्नै पर्दैन्थ्यो । चाडबाड मनाउने नाममा केही अप्रिय घटना नघटोस् । होली खेल्ने नाममा कसैको ज्यान नजाओस् ।
सरकारले यसका लागि आवश्यक तयारी गरोस् । सचेतना फैलाउने हो कि अन्य विधि अप्नाउने हो, राज्यको हातमा छ । अभिभावक पनि यसमा जिम्मेवार बनिदिनुपर्यो । सरकारले ऐनकानुन बनाउन सक्छ तर जनता जन्माउन सक्छ । एक जनतालाई केही भयो भने राज्य र अभिभावकलाई ठूलो क्षति हुन्छ । त्यसैले सचेत बनौं ।