नेपाली कम्युनिस्ट आन्दोलनमा यो पनि एउटा दुखद विडम्बना नै भएको छ कि आफूलाई पुष्पलालको सान्निध्यमा रहेर सहकार्य गरेका, पुष्पलाल स्कूलिङबाटै आएका, पुष्पलालका कट्टर हिमायती, खाँटी उत्तराधिकारी र सच्चा अनुयायी दावी गर्ने सबैजसो पार्टी, समूह र व्यक्तित्वहरुले नै पुष्पलालका विचार, राजनीती, भावना, कर्म र कार्यशैलीलाई अवलम्बन र कार्यान्वयन नगरिरहेको विडम्बना छ । अहिले देसमा पुष्पलाललाई एक मात्र सच्चा क्रान्तिकारी विचारक र आदर्श नेता मान्ने र यहाँसम्म कि पुष्पलालको नामबाटै पार्टीको नाम समेत राख्ने गरी कम्युनिस्ट पार्टी विभाजित भै दर्जनौं अलग/अलग कम्युनिस्ट पार्टीहरु नै बनेका छन् भने अन्य कैयौं संघसंस्था, मंचमोर्चा र अभियान/प्रतिष्ठानहरु पनि अस्तित्वमा आएकाछन् १ तर तिनका बिचमा न पार्टी एकीकरण हुन्छ, न ध्रुवीकरण हुन्छ, न मोर्चावन्दी हुन्छ न त भरपर्दो सहकार्य र तालमेलमै कुनै कार्यक्रम नै हुन्छ । यसो हुनु भनेको संकीर्णता, असहिष्णुता, आग्रह, पूर्वाग्रह, प्रतिशोध, गुट, फुट, र चकनाचूर हुने व्यक्तिवादी महत्वाकांक्षी प्रवृती हो । यस्तो प्रवृत्तिको मूल सर्जक/बाहक भनेर नेपाली कम्युनिस्ट आन्दोलनमा सर्ववरिष्ठ नेता कामरेड मोहनविक्रममाथि आरो लगाइएको पाइन्छ र यस्तो आत्मकेन्दृत प्रवृतिलाई व्यक्तिवादी प्रवृत्ती भनिएको छ । खासगरी २०४२ सालमा तत्कालीन नेकपा (मशाल) लाई फुटाएर नेकपा (मसाल बनाएकोमा मोहनबिक्रम सिंहलाई प्रचन्ड (त्यतिबेला विश्वास) को पहल, देव गुरुङ, सीपी गजुरेल र बादलको सहयोग अनि अन्ततः मूल नेतृत्व किरणजीको स्वीकृतिमा ‘आत्मकेन्दृत व्यक्तिवाद’ दक्षिणपन्थी अवसरवादको नेपाली आयामू नामक दस्तावेज नै तयार गरी राष्ट्रिय सम्मेलनबाट पारित गरेर उहाँलाई पार्टीबाट सदाका लागि कार्वाही गरिएको थियो । आफूबाहेक अरुलाई नेता नस्वीकार्ने, आफू बाहेक अर्कोलाई क्रान्तिकारी नदेख्ने, निषेधात्मक द्वन्द्ववादको प्रयोग गर्ने, भिन्न मतको निषेध वा ध्वंशमा आफ्नो सकार वा निर्माण देख्ने, नेतृत्व गुम्ने डरले अन्तर्संघर्षप्रति भयभीत हुने, अन्तर्संघर्ष चल्दाबित्तिकै पार्टीबाट अरुलाई कार्वाही गर्नै पर्ने, तर आफू कार्वाहीमा परे फुट्नै पर्ने, फुटेमा कर्के नजरले पनि नहेर्ने र आपसमा प्रमुख दुश्मन सरहकै व्यवहार गर्ने र यसैलाई उचित र आवश्यक कदम साबित गर्न विभिन्न तर्क, वितर्क र कुतर्क गर्ने गरेर आफूलाई खाँटी क्रान्तिकारी भएको आत्मरती गर्ने यो प्रवृत्तिका सर्जक मोहनविक्रमलाई भनिएको छ तापनि यसका वाहक आज सबैजसो पार्टी र तिनका मुख्य मुख्य नेताहरु नै भएका छन् । पुष्पलाल यस्तो प्रवृत्तिका ठीक विपरीत हुन् तापनि पुष्पलालका यी अनुयायीहरु भने मोहनविक्रम प्रवृत्तिका पूरै सिकार भएका छन् भन्दा धेरै फरक पर्दैन १ अझ साँच्चै भन्ने हो भने यो आत्मकेन्दृत व्यक्तिवादी प्रवृत्ति परिवारवाद र पद, प्रतिष्ठा, पावर र पैसा प्राप्तिवादमा विकसित भै व्यक्तिवादी गठ/अहंकार हुँदै नयाँ भुरे/टाकुरे राजा/महाराजावादसम्म विकसित भएको छ । यसो हुनु पनि अर्को एक विचित्र विडम्बना भएको छ । यस्तो चिन्तन, प्रवृत्ति र काम/व्यवहार मोहनविक्रममा भएको भएपनि पुष्पलालको त किमार्थ थिएन तर पनि पुष्पलाललाई गद्दार समेत भनेका मोहनविक्रम प्रवृत्ति भनिएको यो रोगले पुष्पलालपन्थीहरु ग्रसित हुनु दुखद आश्चर्य भएको छ ।
नेकपाका महासचिव भैसकेका नेताहरु मनमोहन, तुलसीलाल र केशरजङ्ग नै कुनै संसदवादी त कुनै राजावादी भएपछि विक्रमको बीसको दशकमै पार्टी वढ्दो वैचारिक विचलन, विभाजन, विघटन हुँदै विसर्जनको सँघारमा पुगेको थियो । त्यतिबेला केशरजंग रायमाझी, तुल्सीलाल अमात्य र मनमोहन अधिकारीका केन्द्रीय पार्टी वा गुटहरुका अतिरिक्त देसमा उत्तर गण्डक प्रान्तीय कमिटी, पूर्व कोशी प्रान्तीय कमिटीहरुले पनि आआफ्नै ढङ्गले काम गर्ने लक्षण देखाएका थिए भने रातो झन्डा, मुक्ती मोर्चा जस्ता समूहहरु पनि अस्तित्वमा आउँदै थिए भने जेलभित्र मोहनविक्रम सिंहहरुले पनि भिन्नै पार्टी बनाउने महत्वाकांक्षा पालिरहेका थिए । यो क्षतविक्षत अवस्थामा रहेको त्यतिबेलाको कम्युनिष्ट पार्टी र आन्दोलनलाई पुष्पलालले त २०२५ मा वैचारिक, राजनीतिक र सांगठनिक रुपले क्रान्तिकारी पुनर्गठन गरेका थिए । तर आज त महासचिवबाट पनि माथि उठेर वैचारिक प्राधिकार राख्ने शिखर नेतृत्वको रुपमा अध्यक्ष पदमा विराजमान भएका पहिलो वा दोस्रो दुवै पंक्तिका पुष्पलालपन्थी नेताहरु नै क्रान्तिकारी पुनर्गठन गर्न अर्थात् क्रान्तिकारी रुपान्तरण, एकीकरण र ध्रुवीकरण आदि केही गर्न तयार छैनन्, यद्यपि यी पार्टीका नेताहरुलाई पुष्पलालले शिक्षित/दीक्षित गरेका थिए भन्ने स्वयं यिनीहरु नै दावी गर्छन् १ यहाँसम्म पनि भएको छ कि सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुबिचको एकताको लागि मात्र होइन पुष्पलालपन्थीहरु बीचको एकताको लागि मात्र पनि हामी गैरपुष्पलालपन्थीहरुले आन्तरिक र बाह्य दुवै रुपमा बारम्बार सुझाव/दवाव र सहयोग/सद्भाव दिंदा समेत कोही पनि टसको मस गर्दैनन् ।
यसरी नै पुष्पलालले प्रधान दुश्मन तत्कालीन राणाशाही र निरंकुश राजतन्त्रात्मक निर्दलीय पंचायती व्यवस्थालाई किटान गर्दै तिनका विरोधी नेपाली काङ्ग्रेस लगायतका सम्पूर्ण शक्तिहरु मिलेर संयुक्त र सशक्त आन्दोलन गर्ने नीति लिएका थिए १ यही संयुक्त जन आन्दोलनको नीतिबाटै नेपालमा हालसम्मका परिवर्तनहरु सम्भव भएको हो र अझै पनि नेपाली नयाँजनवादी क्रान्तिलाई पूर्णता दिंदै समाजवादी क्रान्ती समेत यही संयुक्त जन आन्दोलनको बाटोबाटै पूरा गर्नुपर्छ पनि भन्ने र पुष्पलाललाई मान्ने आज नेपालका सबै कम्युनिस्ट पार्टीहरु छन् । प्रकारान्तरले यी सबै पुष्पलाल पन्थीहरु नै हुन् । तथापी आफूलाई खाँटी पुष्पलालआ उत्तराधिकारी भन्ने पुष्पलाल पन्थीहरु नै पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मागहरुलाई लिएर संयुक्त आन्दोलन गर्ने पहल गर्दैनन् । MCC र नागरिकता विधेयकजस्ता राष्ट्रघाती हरकतविरुद्धमा विरोध प्रदर्शन गर्दा भएका लाठी, गोली , जेलनेल र कर्फ्यू जस्ता जनतन्त्रघाती अनि महङ्गी, कालोबजारी, घुसखोरी, भ्रस्टाचार, मिटरब्याज, सहकारी पीडित गरीब जनताका दैनन्दिन जनजीविकाका ज्वलन्त समस्याहरुमा पनि मुद्दा मिल्ने शक्तिहरु सबैसँग मिलेर संयुक्त र सशक्त आन्दोलनलाई अघि बढाउनुपर्नेमा वामपन्थी क्रान्तिकारीहरुसँग समेत संयुक्त आन्दोलन गर्नेमा सकृय छैनन् र बन्दैनन् तथापि आफूलाई पुष्पलालका शिष्य भन्न छाड्दैनन् । हुन त संयुक्त आन्दोलन गर्ने र यसलाई उत्कर्ष र निष्कर्षमा पुराउने निर्णायक आन्दोलन गर्ने सोंच, शक्ति र सकृयता अन्य गैरपुष्पलालपन्थीहरुमा पनि छैन । आफूलाई माओवादी बताउने शक्ति र तिनका नेताहरुले माओको प्रधान दुश्मनसंग लड्दा गौण दुश्मनसँग कार्यगत एकतारसंयुक्त मोर्चा गर्नुपर्ने विचारलाई खुब हाइलाइट गर्छन् तर तिनले पनि आफ्नो गुटगत संकीर्णता, नेतृत्वको छिनाझपटी, आन्दोलनको जश लिने होडबाजी र आफूबाट फुटेर वा विद्रोह गरेर गएका शक्तिसँगको झोंकले गर्दा सहकार्य, संयुक्त मोर्चा आदि केही गर्नै चाहन्नन् ।
विगतमा राष्ट्रिय पार्टीको रुपमा फैलिएको नेमकिपा र त्यसका नेता नारायणमान विजुक्छे (क. रोहित) त झन् यस्तो हास्यास्पद तर्क गर्दै संयुक्त आन्दोलनबाट भाग्छन् कि कुरै गरी साध्य छैन । उनीहरुको तर्क छ कि संयुक्त आन्दोलन गर्दा अन्य पार्टीका नेताकार्यकर्तासँग हुने आफ्ना नेताकार्यकर्ताको भेटघाट र अन्तर्कृयाका कारण आफ्ना नेताकार्यकर्तालाई अरु पार्टीहरुले लगिदिन्छन्, त्यसैले संयुक्त आन्दोलन गर्न सकिंदैन र गरिंदैन भन्दै पन्छने गरेका छन् । स्पष्ट छ कि राष्ट्रघाती MCC र नागरिकता विधेयकजस्ता मुद्दाहरुलाई लिएर संयुक्त आन्दोलन गर्ने गरिएको भए ती संसदबाट पारित हुने र लागू हुने अवस्था बन्दैथ्यो १ परिणाम यो भएको छ कि खासगरी वामपन्थी क्रान्तिकारी भनिनेहरुकै गुटगत संकीर्णता, आग्रह/पूर्वाग्रह, प्रतिशोध र निषेधको प्रवृत्तिले गर्दा आज एकातिर नेमकिपा लगायतका सम्पूर्ण क्रान्तिकारी भनिने स्थापित शक्तिशाली पुष्पलाल पन्थी वा गैरपुष्पलाल पन्थीहरु सबैजसो टुटफुट भै ससाना गुट/उपगुटको रुपमा एकआध स्थानमा सिमित भएर अस्तित्व रक्षाको लडाइ लड्दै छन् भने अर्कातिर खुलेआम अमेरिकी साम्राज्यवादी शोषकहरु नेपाललाई युद्ध मैदान बनाउँदैछन् भने भारतीय विस्तारवादी शासकहरु नेपालमा बहुसंख्यक नागरिक बनेर नेपालको अस्तित्व समात पार्दैछन् तर हामी कथित क्रान्तिकारीहरु हाम्रै कमीकमजोरीका करणले कम्युनिस्ट आन्दोलन मात्र होइन देसै डुब्न लागेको टुलुटुलु हेर्दैछौं १
उपरोक्त कारण र परिणाम सम्बन्धी विश्लेषणले के देखाउँँछ भने कार्यनीतिक प्रश्नमा पुष्पलाल लचिला थिए र उनको नीति लागू हुँदा केही परिवर्तन त भयो तर अहिलेका क्रान्तिकारी भनिने पुष्पलाललाई मान्ने भन्ने नेताहरुनै संकीर्ण, जड, यान्तृक, रुढिवादी , आग्रही, पूर्वाग्रही, हठी र दम्भी भएपछि त देसी/विदेसी दलाल र दुश्मनहरुलाई नेपाल र नेपाली कम्युनिस्ट आन्दोलन समाप्त पार्नको लागि सहज हुने विष्मयकारी परिणाम भोग्नु पर्ने दुर्भाग्य नै भएको छ । तसर्थ एकपटक फेरि पुष्पलाल र उनका विचार, भावना, कर्म, कार्यशैली र जीवनशैलीगत मर्म र योगदानहरुलाई पुष्पलालपन्थीहरुले मात्र होइन हामी सबै वामपन्थी क्रान्तिकारीहरुले गम्भीरतापूर्वक अवलम्बन गर्न, आफैमा पुनःसंस्कार गरी रुपान्तरण गर्न र पुष्पलालले देखाएको बाटो अर्थात् पुष्पलालपथलाई दृढतापूर्वक कार्यान्वयन गर्न अत्यन्त जरुरी छ ।