0 COMMENTS

वैशाख ३, काठमाडौँ । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर ओली र कर्णबहादुर खत्रीको घर जलेको हो । सीताराम जैसीको घरबाट शुक्रबार एक्कासी आगलागी सुरु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले गाउँपालिकामा दमकल नहुँदा तत्काल आगो निभाउन समस्या भएको र आगो अरू घरमा पनि सल्किएको जानकारी दिए । नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट झन्डै एक करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

बिजुली सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी पीडितलाई तत्काल राहतका लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।