माघ २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको जनाएको छ । महाशाखाका अनुसार तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार र मंगलबार पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।