0 COMMENTS

हामी सबैलाई थाहा छ कि दर्शन, सिद्धान्त, विचार र कार्यदिशामा कोही कसैले पनि खेलाँची गर्नुहुँदैन तर नेपालमा यस्ता विषयमा अचाक्ली खेलाँची गर्ने प्रचलन बढेको छ । यही खेलाँचीका कारण नेपालको कम्युनिस्ट आन्दोलनबारे विभिन्न आशङ्का र उपशङ्का जनिमएका हुन् । हामीलाई यो कुरा पनि थाहा छ कि आन्दोलन नजोगाए नेतृत्व जोगिन । जस्तो कि साम्राज्यवादी षड्यन्त्रद्वारा पेरुभियन साइनिङपाथका संस्थापक नेता अबिमाइल गुजम्यान ‘गोन्जालो’ को जेलमै हत्या गरिएको थियो । पेरुभियन नेता जोसे कार्लोसको ‘माक्र्सवाद र लेनिनवाद भविष्यको चम्किलो बाटो हो’ कथनोक्तिका आधारमा सन् १९६९ मा गोन्जालो (अन्य ११ जना साथीसमेत) ले पार्टीको नाम ‘साइनिङपाथ’ जुराउनुएको थियो । कुनै बेला नेपालका कम्युनिस्टहरू ‘ओ याङ्की गो होम, डर्टी याङ्की गो होम’, ‘हाम्रो रातो झन्डा पेरुमा फहराउँदैछ’ भनेर गीत गाउँथे, आज ती पार्टीहरू टुक्रा–टुक्रा मात्र भएका छैनन्, कता–कता अलमलिएका पनि छन् । यहीबिचमा नेपालमा अबको कम्युनिस्ट आन्दोलनबारे बहस पनि चुलिएको छ । यसका अन्तरविरोधका विभिन्न पक्षबारे बहस र विमर्श सुरु भएका छन् । नेपालका कम्युनिस्ट नेताहरू तत्कालीन लाभका लागि सबै कुरा गुमाउन तयार देखिएका छन् तर लामो जेलजीवनमा गोन्जालोले साम्राज्यवादसित कुनै पनि सम्झौता गर्नुभएन, बरु सहर्ष मृत्यु स्वीकार्नुभएको थियो । तर पनि उहाँको मृत्युपछि अहिले पेरुमा नेतृत्व र पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको छ । यस्ता सन्दर्भ विश्वभर धेरै छन्, नेपालको कुरा पनि यही हो । नेतृत्वलाई जन्माउने र जोगाउने आन्दोलन नै रहेछ, आन्दोलनलाई बचाउने मूल कमान्डर पनि नेता नै रहेछन्, आन्दोलनको रक्षा गर्न नसक्ने नेतालाई आन्दोलनले पनि नजोगाउँदो रहेछ । समकालीनतामा नेपालको कम्युनिस्ट आन्दोलनमा यस्तै–यस्तै दोसाँधमा उभिएको छ ।

नेपाली राजनीतिको पछिल्लो अवस्थाको चित्रण गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड किरण भन्नुहुन्छ, ‘ केही वर्षयता र गत सङ्घीय निर्वाचनपश्चात् पनि गठबन्धन सरकार बनाउनुपर्ने बाध्यता पैदा हुँदै आएको छ । संसदीय व्यवस्थाको आदर्श मानिँदै आएको सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध एकातिर अनावश्यक विषयमा लामो समयसम्म संसद् नै अवरुद्ध गर्दै जाने र अर्कातिर सरकार बदल्न निरन्तर छिना–झप्टी भइरहने स्थितिका कारण संसद्वादी राजनीतिक दलबिच भीषण अन्तर्विरोध पैदा हुँदै आएका छन् । केही समययता संसदीय लोकतन्त्रको फासिवादीकरण हुँदै आएको छ । कैयौँ महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा आफैँले बनाएको संविधान तथा आफ्नै सांसदको मर्यादा र अधिकार क्षेत्रलाई मिचेर केही खास प्रमुख दलका शीर्षनेता एकान्तमा बसी स्वेच्छाचारी ढङ्गले निष्कर्षमा पुग्ने काम हुँदै आएका छन् । यसबाट संसदीय व्यवस्थाको जनप्रतिनिधिमूलकताप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् । त्यति मात्र होइन, संसदीय लोकतन्त्रको आदर्श मानिँदै आएको शक्ति पृथकीकरणको पारस्परिक नियन्त्रण तथा सन्तुलनमा आधारित मान्यता पनि केही वर्षयता अभिव्यक्त हुँदै आएका सरकारका तीन अङ्ग कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाबिच मुख्यतः एकअर्कालाई निषेध गर्ने प्रवृत्ति तथा तीव्र अन्तर्विरोधका कारण ध्वस्त हुँदै गएको छ । त्यसैगरी, निर्वाचनका बेला राजनीतिक दलका नेताहरू जनताबिच गएर विभिन्न वाचा–कबुल गर्छन् । परन्तु सांसद बनिसकेपछि र सरकार निर्माण भइसकेपछि ती वाचा–कबुल त्यसै सेलाएर जान्छन् । त्यो बेला ती सांसद तथा मन्त्रीले जनतासामु ढाँट्नुपर्ने स्थिति आउँछ । सांसद तथा मन्त्रीका भनाइ र गराइ तथा शब्द र कर्ममा गम्भीर विरोधाभास देखिँदै आएका छन् । यो सांस्कृतिक मूल्य विघटन र सङ्कटको अवस्था हो । यसरी हेर्दा आज वर्तमान सत्ता, व्यवस्था र तिनका संवाहक राजनीतिक दल आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा गम्भीर सङ्कटको भुमरीमा उम्कनै नसक्ने गरी फस्दै गएका छन्’, (हे. आलेख– ‘तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार’) ।

सच्चा कम्युनिस्टहरूको आगामी कार्यभारमा केन्द्रित भएर कमरेड किरण लेखनुहुन्छ, ‘देशमा चर्किंदै आएको आर्थिक, राजनीतिक तथा सांस्कृतिक सङ्कटको समाधान यसरी हुन सक्दैन । पुरानो सत्ता तथा व्यवस्थाअन्तर्गत हुने संसदीय निर्वाचनको निरन्तरताको चक्रव्यूह, गठबन्धन सरकारका सत्ता समीकरणका लगातार पुनरावृत्ति भइरहने पट्यारलाग्दा खेल र सत्तालिप्साको अहङ्कारले ग्रस्त रैथाने संसद्वादी राजनीतिक दलहरूको अक्षमता अब देश र जनताले धान्न सक्दैनन् । बालकृष्ण समको एउटा कवितामा उल्लेख भएजस्तो ‘सहू, सहू, सहू, बाबु सहनै नसके पनि’ भनेर अब काम चल्दैन । यथास्थितिवाद र पुनरुत्थानवाद अब नेपाली जनताका लागि सह्य हुन सक्दैनन् । पुरानो संविधानमा टालो हालेर पनि समस्या समाधान हुँदैन । अब देश र जनताका लागि नयाँ तथा अग्रगामी विकल्प अनिवार्य रूपमा आवश्यक भइसकेको छ । तसर्थ, हाम्रो पार्टीद्वारा हालै मात्र सम्पन्न केन्द्रीय समिति बैठकमा पारित राजनीतिक प्रतिवेदनमा तत्कालीन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भनिएको छ, ‘सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधान निर्माण हाम्रो तत्कालीन राजनीतिक कार्यनीति हुनेछ’, (माओवादी पूर्णाङ्क १७, २०८० असोज पृ. ७१) । यो कार्यनीति विद्यमान समस्याको समाधान र देशलाई अग्रगामी निकास दिन सही तथा वस्तुगत रहेको छ’ (उही) ।

नेपालका कम्युनिस्टहरूमा दार्शनिक समस्या चर्को रूपमा देखा परेको छ । नेपालका कम्युनिस्ट नेता तथा तिनका पार्टीहरूमा भन्ने एउटा र गर्ने अर्को प्रवत्ति देखा परिरहेको छ । नेपालका कम्युनिस्टहरूमा देखा परेका विभिन्न दार्शनिक समस्यामध्ये बहुलवाद पनि एउटा हो । बहुतत्वलाई उत्पत्तिका कारक मान्ने सिद्धान्त नै बहुलवाद हो । विश्वको उत्पत्ति र विकास एउटै तत्वबाट होइन, बहुतत्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । विज्ञानले बहुलवाद होइन, भौतिकवादलाई साथ दिंदै आएको छ । नेपालमा संविधानसभाको निर्वाचनपछि संविधानमा ‘बहुलवाद’ राख्ने कि नराख्ने भन्ने विषयमा व्यापक बहस भएको थियो । सुरुमा तत्कालीन एनेकपा (माओवादी) ले संविधानमा ‘बहुलवाद’ राख्न मानेकै थिएन, त्यसको मूल कुरा दार्शनिक विमतिको कुरा थियो । बहुलवाद नमान्नुमा खास कारण के पनि थियो भने ‘बहुलवाद’ अतीतमुखी शकित र त्यसको दर्शनमा आधारित थियो, त्यो गतिशील यथार्थमा आधारित थिएन । त्यो बहुदलीय संसदीय व्यवस्था मान्नेहरू अर्थात् आदर्शवादीहरू ‘बहुलवाद’ चाहने र ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद मान्नेहरू अर्थात् भौतिकवादीहरू ‘बहुलवाद’ लाई राख्न चाहनेहरूका बिचको कठोर दार्शनिक लडाइँ थियो । ‘बहुलवाद’ सित विज्ञानको कुनै साइनो नै छैन र हुँदैन पनि । कम्युनिस्टहरू ‘बहुदलवादी’ हुन सक्दछन् तर उनीहरू कहिल्यै पनि बहुलवादी हुनै सक्दैनन् । ‘बहुदल’ र ‘बहुलवाद’ आकास–जमिनजस्तै फरक–फरक कुरा हो । कसै–कसैले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेकोले ‘बहुलवाद’ किन नमान्ने भनेको पनि सुनिन्छ, जुन विषाक्त कुरा हो । ‘विविधता’ र ‘बहुलता’ नितान्त फरक–फरक कुरा हो । विविधताका बिचमा एकता र एकरूपताको परिकल्पना गर्न सकिन्छ तर बहुलताले विखण्डनको परिणाममा पुरयाउनु अनिवार्य छ । विविधताका बिचमा एकता वा एकरूपता खोज्नु माक्र्सवादको विपरीतहरूको एकत्वको सिद्धान्त हो ।

नेपालको कम्युनिस्ट आन्दोलनको अबको दिशाबारे बहस गर्दा यसको आर्थिक अवस्थाबारे स्पष्ट हुन जरुरी हुन्छ । समाजको वस्तुनिष्ठ अध्ययन विश्लेषण र संश्लेषण नगरी हामीले बनाएको कुनै पनि योजना सफल हुन सक्दैन । हचुवाको भरमा योजना बनाउने तरिका पनि सही होइन । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा अर्थविद् सीताराम तामाङ लेखनुहुन्छ, ‘नेपाली समाज सामन्ती अवस्थामा नरहेको तर पुँजीवादी (पुँजीपतिवर्गको अधिनायकत्व) पनि नभएको बिचको अवस्था भएको देश भन्न सकिन्छ । लेनिनको भनाइमा सामन्ती उत्पादन सम्बन्ध खण्डित हुन थालेको र पुँजीवादी उत्पादन सम्बन्धले (माल अर्थव्यवस्था) प्रवेश पाएको र विस्तारको क्रममा रहेको यो सङ्क्रमण अवस्था हो, जहाँ सामन्ती र पुँजीवादी, दुवै व्यवस्थाका विशेषताहरू गँसिएका हुन्छन्, (लेनिन, सीडब्लु–भोलुम–३, १९७७) । यसमा प्रमुख वर्ग–सम्बन्ध एकातिर दलाल पुँजीपति र नोकरशाही तथा सामन्तवर्ग र अर्कोतिर आम शोषित पीडितवर्ग र समुदायको जनता पर्दछन्’, (हे. आलेख– ‘नेपाली उत्पादन प्रणालीको अवस्था’) ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् चिन्तक मोहन वैद्य ‘किरण’ भन्नुहुन्छ, “नेपाली संस्कृतिमा भएका विविधतालाई एकरूपतामा आबद्ध गर्ने केही सूत्रहरू छन् । तीमध्ये पहिलो सूत्र हो– जनवाद । जब सबै वर्ग, समुदाय, जाति, क्षेत्र र लिङ्गका जनताले जनवादको उच्च अभ्यास गर्न पाउँछन्, त्यो बेला ती उत्पीडनबाट मुक्त हुन्छन् र एकअर्कासँग सुमधुर प्रकारको सम्बन्ध कायम गर्न पुग्दछन् । एकरूपतामा आबद्ध गर्ने दोस्रो तत्व राष्ट्रियता हो । राष्ट्रियता यस्तो चीज हो, जसले सबैलाई एउटै सूत्रमा आबद्ध गर्दछ । राष्ट्रियताका पनि दुईरूप छन्– आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता । आन्तरिक राष्ट्रियतालाई मजबुत पारेर सामन्तवादको विरोध र बाह्य राष्ट्रियतालाई बलियो बनाएर साम्राज्यवादको प्रतिरोध गर्नुपर्छ । यी दुवैको विरोध गरेर नै सच्चा राष्ट्रियता स्थापित हुन्छ । यसैगरी, विविधतामा एकरूपताको अर्को सूत्र हो– वैज्ञानिक चिन्तन । सांस्कृतिक एकरूपताका लागि हामीमा वैज्ञानिक चिन्तन हुनुपर्छ । यसका निम्ति हामीले आफूमा विद्यमान रुढीबुढी, अन्धविश्वास, भाग्यवाद, कर्मवादलगायतका सोचभन्दा भिन्न वैज्ञानिक चिन्तन अँगाल्न जरुरी छ । त्यसो भयो भने नै हामी एकअर्काको कदर गरेर जान सक्दछौँ । नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने नयाँ संस्कृति भनेको जनवाद, राष्ट्रियता र वैज्ञानिक चिन्तनमा आधारित संस्कृति नै हो ।”

नेपालमा अबको कम्युनिस्ट आन्दोलनको दिशाको कुरा गर्दा हरेक नेतामा पार्टी सङ्गठनका हरेक ‘क्षति र उपलब्धि’ को स्वामित्व लिने साहस हुनुपर्दछ । ‘क्षति’ लाई कार्यकर्ताको टाउकोमा थोपर्ने र ‘उपलब्धि’ लाई आफ्नो खातामा भर्ने तरिका नोकरशाही तरिका हो । अवैज्ञानिक तथा असान्दर्भिक साङ्गठनिक प्रणाली नेपालका कम्युनिस्ट पार्टीहरूका अर्को चर्को समस्या हो । कम्युनिस्ट पार्टी–सङ्गठनमा कस्ता मान्छेहरू छन् भन्ने कुराले पनि आन्दोलनमा ठूलो महत्व राख्दछ । सङ्गठनमा ‘सक्रिय’, ‘निस्क्रिय’ र ‘बिचका’ गरी तीन प्रकारका मानिस हुन्छन् । नेतृत्वले सदैव बिचमा बस्ने सदस्यलाई सक्रिय बनाउन सघाउनुपर्दछ । माओका अनुसार नेतृत्वको पार्टी सदस्यहरूसँगको सम्बन्धले जनताको सङ्घर्ष उठाउन सहज बन्दछ । सङ्घर्षको मोर्चामा सक्रिय पार्टी सदस्यहरूलाई नेतृत्व पङ्क्तिमा ल्याउने र नेतृत्व तहमा बसेर काम गर्न असमर्थहरूलाई बिदा दिँदा सङ्गठनभित्र पुनर्ताजगी छाउँछ । प्रतिबद्ध र सामूहिक भावनामा विश्वास गर्ने सक्षम पार्टी सदस्यहरूको अभावमा सङ्गठन अगाडि बढ्दैन । सही नेतृत्व जनताका बिचबाटै जन्मिन्छ, जुन नेतृत्व जनतालाई नै सुम्पिनुपर्दछ ।

नेपालको कम्युनिस्ट राजनीति मात्र होइन, समग्र राजनीतिक जीवन नै सङ्कटग्रस्त बन्दै गएको छ । बुर्जुवा राजनीति सङ्कटग्रस्त हुनु स्वभाविक कुरा भए पनि क्रान्तिकारी शक्तिहरूको छिन्नभिन्नताले धेरै समस्या निम्तिएका छन् । महान् बलिदानको कीर्तिमान कायम गर्दै अघि बढेको माओवादी धारा आज कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यद्यपि माओवादी धाराको सङ्गठनात्मक अवस्था केही कमजोर देखिए पनि उसको क्रान्तिकारी सपना र जनताको शुभेच्छा भने आज पनि जस्ताको तस्तै रहेको छ । क्रान्तिकारी कम्युनिस्टहरूका लागि यो कुरा सर्वाधिक महत्वपूर्ण रहेको छ । आजको नेपाली समाजको वस्तुगत मूल्याङ्कन गर्नु, सही क्रान्तिकारी राजनीतिक कार्यदिशा बनाउनु, वस्तुवादी कार्यनीतिक शृङ्खलाको विकास गर्नु, पार्टी, नेता तथा जनताका बिचमा रहेको अविश्वासको पर्दा हटाउनु एवम् कथनी र करनीका बिचमा तादात्म्यता मिलाउनु आजको आवश्यकता हो । नीति, नेतृत्व, सङ्गठन, सङ्घर्ष, कुटनीति, सूचना–सञ्चार र प्रविधिको एकीकृत कमान्ड खडा गर्नु अबको कम्युनिस्ट आन्दोलनको पहिलो कार्यभार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।