पुस २५, काठमाडौँ । एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली बिदेसिएका छन् । अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका हुन् । जसमा महिलाको सङ्ख्या ४ लाख ३२ हजार ५८४ जना रहेको छ भने पुरुषको सङ्ख्या ११ लाख ७१ हजार १८६ जना रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन् । त्यसपछि दोस्रो नम्बरमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् । जसमा पुरुष १ लाख ३० हजार ९२६ र महिला ७३ हजार ५७५ जना रहेका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बिदेसिएका छन् । जसमा पुरुष ७० हजार ८०८ र महिला ९६ हजार ६७३ जना रहेका छन् । यस्तै वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना बिदेसिँदा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेको विभागको भनाइ छ ।
त्यसैगरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना बिदेसिँदा पुरुषको सङ्ख्या ५१ हजार ८७६ र महिलाको सङ्ख्या ४० हजार ४६८ जना रहेका छन् । यस्तै स्थायी आवासीयतर्फ पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ गरी कुल ७० हजार ९१५ जना विमानस्थल हुँदै बाहिरिएको विभागले सोमबार जारी गरेको तथ्यांकमा उल्लेख छ । यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् । विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन् । यसैगरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ । युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै बिदेसिएका छन् ।
त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा धेरै सन् २०२३ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा २ लाख ७१ हजार ०८८ जना गएका छन् । त्यसपछि भारतमा १ लाख ८० हजार ६०२, कतारमा १ लाख ७९ हजार ४४१, मलेसियामा १ लाख ६५ हजार २०१, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना गएका छन् । यस्तै छैटौं नम्बरमा अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली गएका छन् । अस्ट्रेलियामा एक वर्षको अवधिमा १ लाख ५ हजार ३४३ जना नेपाली गएका हुन् । यस्तै जापान, अमेरिका, युके र कुवेतमा क्रमशः सातौं, आठौं, नवौं र दशौं शीर्ष स्थानमा नेपालीको गन्तव्य देखिएको छ ।