0 COMMENTS

भदाै ४, धनगढी । आज गुरही पर्व । थारू समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व आज मनाइँदैछ । पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग पञ्चमीकै दिन मनाइने यस पर्वको उल्लास बढेको हो । नाग पञ्चमी तथा गुरही पर्व आज भदौ ४ गते परेको हो ।

पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको हो । गुरही भनेको एक किसिमको गाइने किरा हो । सोही किराको प्रतीकको रूपमा यो पर्वमा कपडाको पुतला, खेलौना बनाइन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई  गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ ।

पुर्वमा थारु समुदायका घरहरूमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियत अनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटीहरू कपडाका रङ्गीचङ्गी कपडाका गरही बनाउने गर्दछन् । केटाहरू सोंटा वा केराको डाँठ तयार पार्छन् । साँझपख बालिका तथा युवतीहरू परम्परागत पोसाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् । यसैबीच केटाहरू सोटा लिएर जम्मा हुन्छन् । 

जम्मा भएका बालिकाहरु गुरही फाल्छन् र केटाहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरही फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी (भुटेका मकै) माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।

कतिपय गाउँमा पिटिएका यी गुरही सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ । यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । यस पर्वलाई बाल पर्वको रूपमा समेत लिइन्छ । पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ ।

यसैबीच थारु समुदाय गुरही पर्वलाई विशेष पर्वको रुपमा मनाउँदै आएकोले कैलाली र कञ्चनपुरका थारु बाहुल क्षेत्रका स्थानीय तहले स्थानीय बिदासमेत दिएका छन् 

गुरही भनेको के हो ?

पश्चिचम नेपालको थारु समुदायल नाग पञ्चमीको दिन गुरही पर्व भव्यरुपले मनाइने गर्दछन् । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौंमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको हो ।

गुरही भनेको एक किसिमको गाइने किरा हो । यो पर्वमा कपडाको पुतला, खेलौना बनाउँछन् । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ ।

नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरुमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियत अनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटीहरु कपडाका रंगीचंगी टुक्रा चिरकुटबाट पुतला बनाउने गर्दछन् ।

कसैले ती पुतलालाई गुरही (गाइने कीरा) मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामग्री) को प्रयोगले सुन्दर, रंगीचंगी बनाइएको हुन्छ ।

केटाहरु सोंटासँग खासै सरोकार राख्दैन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् । सूर्यास्त हुने बेलातिर केटीहरु गुरही र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।

केटा र पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई चौराहा (चौबाटो) पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटीहरु गुरही चौराहामा फाल्छन् र केटाहरु सोंटा, कोर्राले पिट्छन् ।

केटीहरु गुरही फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरुले केटीसँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।

कतिपय गाउँमा पिटिएका यी गुरही सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।

यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरुलाई सहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरुलाई बोकेरै सहभागी हुन्छन् ।

गुरही पिटिसकेपछि पिटेको सोंटा, कोर्रालाई ल्याएर मानिसहरु गोठमा वा घरमा राख्ने गर्दछन् । यसो गर्दा दुःख, कष्ट, रोग, ब्याध लाग्दैन, भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।