0 COMMENTS

 काठमाडौं । सरकारले टीकापुर घटनामा दोषी ठहर भइ जेल सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ । गृह मन्त्रालयमार्फत बुधबार चौधरीको सजाय माफीको निवेदन राष्ट्रपति कार्यालय पुगेको हो ।

चौधरीको सजाय माफीको निवेदन बुधबार राष्ट्रपति कार्यालय आइपुगेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले पुष्टि गरे । कुँवरले भने, ‘चौधरीको कैद सजाय माफीको निवेदन लागि हिजै राष्ट्रपति कार्यालय आइपुगेको हो । दर्ता भइसकेको छ ।’

निवेदन लिएर बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले राष्ट्रपति कार्यालय पुगेका थियो । दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर संविधान र कानुनबमोजिम चौधरीलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल गरेका थिए ।

राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेपछि मात्रै राष्ट्रपतिले आममाफी दिने निर्णय लिनेछन् ।

चौधरी २०७२ भदौमा एक नाबालकसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको टीकापुर घटनामा दोषी ठहर भइ २०७४ फागुन १५ देखि थुनामा छन् । चौधरी जन्म कैदको सजाय काटिरहेका छन् भने उनकी श्रीमती रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ ।

 राष्ट्रपतिले कैद सजाय माफी गर्ने निर्णय गरे चौधरीको करिब १५ वर्ष कैद सजाय मिनाहा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।