0 COMMENTS

जेठ २, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७९’ साहित्यकारद्वय देवेन्द्र लम्साल र तुम्बेहाङ लिम्बूलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिष्ठानले यो वर्षको इच्छुक प्रतिभा पुरस्कार भने खगेश्वर भण्डारी र निर्मला घिसिङलाई प्रदान गर्ने निर्णय गरेको जानकारी प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले दिएका छन् । प्रतिभा पुरस्कारको राशि २५–२५ हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानले हरेक वर्ष प्रगितवादी साहित्य र कला क्षेत्रका स्थापित लेखक, साहित्यकार तथा कलाकर्मीहरूलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा इच्छुक पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरूका बारेमा भनिएको छ, ‘स्याङ्जा चिन्नेवास निवासी देवेन्द्र लम्साल नेपाली प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील हुँदै जनयुद्धको ऐतिहासिक प्रक्रियादेखि सङ्गठनात्मक एवम् सिर्जनात्मक रूपबाट निरन्तर क्रियाशील भई नेपाली वर्गसङ्घर्षको नवीन सौन्दर्य मूल्यहरूको विकास र प्रवद्र्धनका लागि अहोरात्र समर्पित रही आउनुभएका स्रष्टा हुनुहुन्छ । नेपालीभाषी भुटानी नागरिक तुम्बेहाङ लिम्बू भुटानको निरङ्कुश शासन व्यवस्थाले थोपरेको वर्गीय, जातीय र भाषिक दमन र उत्पीडनका विरुद्ध वर्गसङ्घर्ष र जनक्रान्तिको उद्घोष गर्दै मार्क्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादी कलात्मक विधिलाई आधार बनाएर साहित्य रचना गरी जनमुक्तिका लागि क्रान्तिको अपरिहार्यताको सन्देश प्रवाहित गर्ने स्रष्टा हुनुहुन्छ ।’

साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार लामो समयदेखि साहित्यलेखन र चित्रकला सिर्जनामा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई अभिव्यक्त गर्दै आएका खगेश्वर भण्डारीलाई र कलातर्फको इच्छुक प्रतिभा पुरस्कार गीत–सङ्गीतका माध्यमबाट जनपक्षीय संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी गायिका निर्मला घिसिङलाई प्रदान गरिने भएको छ । भण्डारी दाङका र घिसिङ मकवानपुरकी हुन् ।

दुवै पुरस्कार इच्छुक यही जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा प्रतिष्ठानका संरक्षक वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक चैतन्यबाट प्रदान गरिने जनाइएको छ । प्रतिष्ठानले उक्त दिन वार्षिक कार्यक्रमका साथै पुरस्कार प्रदान गरिने भएकाले सहभागिताका लागि कवि, कलाकार र सम्पूर्ण सांस्कृतिक कर्मीहरूलाई विशेष आमन्त्रणसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।