0 COMMENTS

चैत १६, भक्तपुर । बुढापाकाले भन्थें, ‘अरुले घोडा चढ्यो भनेर आफू धुरी नचढ्नु ।’ यसको अर्थ त छर्लङ्ग छ । अरुको देखावटी गरेर कहिल्यै उभो लागिँदैन् भन्ने भनाइ बुढापाकाको थियो । तर, अहिलेका मानिसहर ठ्याक्कै त्यसको उल्टो दिशामा हिँडिरहेका छन् । देखासिकी गर्ने प्रवृत्ति हाम्रो समाजमा ह्वात्तै बढेको छ । पछिल्लो समय पार्टी प्यालेसमा मँहगो रकम खर्च गरेर विवाह, ब्रतबन्धलगायत अन्य संस्कार गर्ने क्रम बढेको छ । आफ्नो जग्गाजमिन बेचेर र बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर पार्टी प्यालेसमा भोज दिने चलन हाम्रो समाजमा देखिन थालेको छ ।

पहिलेपहिले मठमन्दिरमा विवाह, ब्रतबन्धलगायत अन्य संस्कार गर्ने गरिन्थ्यो । यसो गर्दा कम खर्चमै सस्कार टुगिँन्थ्यो । तर, अहिले सानो कार्जे गर्न पनि पार्टी प्यालेस नै रोजिन्छ । पछिल्लो समय पार्टी प्यालेसहरु च्याऊ उम्रिएझैं उम्रिएका छन् । दुईतीन घरको फरकमा पार्टी प्यालेस भेटिन्छन् । थोरै जग्गामा पार्टी प्यालेस खोल्ने अनि लुटको धन्दा मच्चाउने । चार आनादेखि डेढ रोपनी जग्गामा पार्टी प्यालेस खोलिएको छ त्योपनि सडकको दायाँबायाँ । सडकसंगै जोडेर पार्टी प्यालेस खोल्न इजाजत दिइएको छ । तर, यसले ट्राफिक व्यवस्थापना र आम नागरिकहरु मर्कामा परेका छन् ।

पर्याप्त जग्गामा पार्टी प्यालेस नखोल्दा सडकमा सवारी पार्क गरिन्छ । जसले गर्दा ट्राफिक जाम बढेको छ । उता, दुर्घटनाको जोखिम पनि उत्तिकै छ । जनसंख्या बढेसंगै बस्ती पनि बढेको छ । जहाँ घनाबस्ती छ, त्यही पार्टी प्यालेस खोल्ने प्रवृत्ति हामीकहाँ देखिएको छ । तर, यसले आम नागरिकलाई पारेको असर पार्टी प्यालेस सञ्चालकले देखेका छैनन् । पार्टी प्यालेस रातभर खुल्ला हुन्छ । होहल्ला गर्ने क्रम रातभर चल्छ । जसका कारण उक्त क्षेत्रमा बस्ने आम नागरिकहरुलाई निकै ‘डिस्टर्ब’ हुन्छ । सम्बन्धित निकायले नियमन नगर्दा पार्टी प्यालेसहरुले मनलाग्दी गरिरहेका छन् ।

पार्टी गर्दा लिने रेट पनि सञ्चालकहरुको जिब्रोमा छ । प्लेट र चम्चा समात्यो कि पैसा तिर्नुपर्ने हुन्छ । पार्टी प्यालेसहरुले एक प्लेट खानाको १५ सयदेखि २५ रुपैयाँसम्म तोकेका छन् । तर, बच्चा र बुढाले कति खान्छन् ? बुढाबुढीलाई खाने उमेर भएकासंग तुलना गर्न मिलेन नि । बच्चा र बुढीबुढीलाई सरकारले हरेक क्षेत्रमा सहुलियत दिएको छ । सार्वजनिक यातायात, अस्पताललगायतका क्षेत्रमा उनीहरुले आधा छुट पाउँछन् । तर, पार्टी प्यालेसले उनीहरुलाई छुट दिँदैन् । जबकी उनीहरुले अरुले खाएकोजति खाना पनि खान सक्दैनन् । पैसा त खानाअनुसारको हुनुपर्ने होइन् र ?

पार्टी प्यालेसमा भोज दिनुको कारण त पछिल्लो समय छर्लङ्ग देखिन थालेको छ । धनी–धनीलाई छानेर बोलाउने अनि पार्टी दिएको खर्च उठाउने । आफ्नै नातेदार भएपनि आयस्तर हेर्न थालिएको छ । राम्रो लुगा लगाउन नसक्ने र खर्च गर्न नसक्नेलाई संस्कारमा बोलाउनै छाडिएको छ । घरमै विवाह गरेको भए यो अवस्था सिर्जना त हुदैनथ्यो । पार्टी प्यालेसले समाजमा विकृति ल्याएको छ । संस्कार मासिँदै गएको छ भने आफ्नो नजिकको नातेदारमा समेत भेदभाव गर्न थालिएको छ । पार्टी प्यालेसमा भोज दिनुको कारण अरुमाथि रवाफ जमाउनु त हो ।

विवाह त सामान्य तरिकाले पनि हुन्छ । आफ्नो आयस्तरले धान्ने गरी रितिरिवाज पुरा गरिरहेकै थिए । पहिलेपहिले नातेदार मात्र होइन्, पुरै टोलछिमेकलाई नै निमन्त्रणा दिइन्थ्यो । आफ्नो घरमा जे पाकेको हुन्थ्यो, त्यही खुवाउने गरिन्थ्यो । एकअर्कालाई सहयोग गरेर रितिरिवाज गर्ने चलन थियो । विवाहमा चिन्दै नचिनेको व्यक्ति गएपनि खान दिइन्थ्यो । गरिब र धनी भनेर भेदभाव गरिदैनथ्यो । छिमेकीलाई छिमेकीले सहयोग गर्दा खर्च पनि कम लाग्थ्यो । दाउरा काट्ने, घरहरु सजाउने, पकाउनेलगायतका कामहरु सबै मिलेर गर्ने चलन थियो ।

विवाहमा उत्तिकै रमाइलो हुन्थ्यो । वर्षौंदेखि भेट नभएका साथीभाइ, इष्टमित्र, नातेदारहरुसंग भेट्न पाउँदा छुट्टै आनन्द आउथ्यो । पहिलेपहिले चामल घरमै हुन्थ्यो । तरकारी बारीमै फलाउँथे । खसीबोका घरमै पाकेको हुन्थ्यो । दाउरा पनि घरमै हुने भएकाले किन्नुपर्ने अवस्था थिएन् । किन्नुपर्ने भनेको बेहुलाबेहुलीलाई कपडा र सुन हो । एकदेखि तीन लाखमा धुमधामसंगै विवाह सकिन्थ्यो । विवाह गर्ने भन्नेबित्तिकै छिमेक, नातेदारहरुले सहयोग गर्थें । ब्याज नतिर्ने गरी पैसा पैचोंको रुपमा दिने गरिन्थ्यो । आफूलाई पनि भोलिको दिनमा सहयोग चाहिन्छ भनेर उनीहरुले अरुलाई पनि सहयोग गर्थे ।

जग्गा बेचेर विवाह गर्नुहुँदैन भन्ने मान्यता त्यतिबेला थियो । यता, विवाह गर्न ऋण लिने कार्यको विरोध गरिन्थ्यो । उत्ताउलो खर्च गर्न समाजले नै रोक लगाउथ्यो । तर, अहिलेको परिस्थिति देख्दा धेरैलाई आश्चर्यचकित लाग्छ । नेपालीको सोचाइ कति तल्लो स्तरको छ भन्ने प्रमाण अहिलेको अवस्थाले देखाउँछ । जग्गा जोड्नुको साटो बेचेर भोज दिने चलन हाम्रो समाजमा मौलाएको छ । ऋण लिएर मँहगा रक्सीसहितको भोज दिइन्छ । हाम्रो समाज कुन दिशामा गइरहेको छ त ? जुन देशका महिलाहरु कुनै बेला कुर्कुचो देखाउँदैन्थे त्यही मुलुकका महिलाहरु शरीर प्रदर्शन गर्न थालेका छन् ।

शरीर देखाउँदैमा कोही ठूलो भएको छ ? विवाहमा जाने भन्नेबित्तिकै कसले छोटो लुगा लगाउँछ भन्ने विषयमा प्रतिस्पर्धा चल्छ । भोजमा गएर महिलाहरु नै मात्तिने गरी रक्सी खाइदिन्छन् । यता टाँसिने र उता लस्किने गर्दा कतिपयको घरव्यवहार नै बिग्रिएको छ । आफ्नो संस्कार संस्कृतिहरु कसैले पनि बिर्सिनुहुँदैन् । अहिले पनि गाउँमा विवाह हुँदाखेरि महिलाहरु जन्ती जाँदैनन् । पुरुष नै जन्ती जाने गर्दछन् । महिलाहरु घरकै काम गर्छन् । गाउँका महिलाहरुले बरु हलो जोत्न थाले । मान्छे मर्दाखेरि मलामी जान थाले । दाजुभाइको साटो दिदीबहिनी नै क्रिया बस्न थालेका छन् ।

गाउँका महिलाहरु त्यति आँटिलो भइसकेका छन् । ढुंगा बोक्नेदेखि लिएर पर्खाल लाउनमा समेत उनीहरु पछाडि परेका छैनन् । चाँहिने काममा उनीहरु जहाँ पनि अगाडि छन् तर नचाहिने काममा उनीहरु घरबाट बाहिरसमेत निस्किदैनन् । घरपरिवार र समाजलाई आँच आउने काम उनीहरु गर्दैनन् । अक्षर नचिनेको भएपनि उनीहरुलाई के गर्दा के हुन्छ ? थाहा छ । गलत र सहीको फरक उनीहरुले सहजै छुट्याउन सक्छन् । यी हुन् असली महिला । महिलाको सही अर्थ त गाउँका महिलाहरुले देखाएका छन्, होइन् र ? शहरमा बसेका महिलाहरु मलामी गएको कसैले सुनेका छन् ?

हलो जोत्नलाई यहाँ जग्गाजमिन छैन् । उनीहरुले जन्ती जान, ठुल्ठुला कुरा गर्न, शरीर देखाउने लुगा लगाउन मात्र आउँछ । छोटा लुगा लगाएर जन्ती जाने, भोज खाने, अनि कम्मर भाँच्ने योभन्दा अरु केही जानेका छैनन्, अहिलेका महिलाले । महिलाले घरव्यवहार चलाउनुपर्छ । महिलामाथि धेरै जिम्मेवारी हुन्छन् । उनीहरुले जहिले पनि समाज र परिवारको ख्याल गर्नुपर्छ । महिलाहरुले निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेनन् भने घरपरिवार तहसनहस हुन्छ । पार्टी प्यालेसमा सानो कार्यक्रम गर्दापनि पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म खर्च हुन्छ ।

पैसा हुनेले त खर्च गर्लान् । पैसा नहुनेले विवाह नै गर्न छोडिदिने ? यो त जटिल स्थिति बनेको छ । हाम्रो संस्कार संस्कृतिमा समेत व्यापार हाबी भयो । खर्च गर्न नसक्नेलाई कसैले छोरी नै दिँदैनन्, अनि ऊ त विवाह नै नगरीकन मर्ने भयो । पार्टी प्यालेसले मान्छेको मौलिक हकसमेत छिनेको छ । पार्टी प्यालेसले गर्दा यहाँ धेरै समस्या निम्तिने देखिएको छ । अहिले विवाह गर्दा बेहुला बेहुलीको घरसम्म जान पदैन् । बेहुला र बेहुलीलाई पार्टी प्यालेसमा लैजाने, टिकाटालो गरेर पठाइदिने । खर्च बढ्यो तर संस्कार माँसिदै गयो । अहिलेको विवाहलाई के भन्ने के ?

पार्टी प्यालेसको मँहगो पैसा लिइरहेको छ तर गुणस्तर कसले चेकजाँच गर्ने ? खसीको भनेर बोकाको मासु खुवाएको खबर धेरैपटक बाहिर आएको छ । म्याद गुज्रिएका, सडे गलेका तरकारीहरु पकाउँदा धेरै बिरामी भएको घटना पनि छन् । सरकारले कुन कार्यक्रमको कति ? भनेर छुट्याइदिनु पर्यो । यता, पार्टी प्यालेसमा काम गर्नेहरुले पनि थोरै तलब पाइरहेका छन् । सरकारले पार्टी प्यालेसमा अनुगमन पनि गर्दैनन् । एउटा पार्टी प्यालेसमा तीन करोडदेखि ३० करोडसम्म लगानी गरिएको छ । त्यो लगानीको राज्यले राजस्व पाएको छैन् । दैनिक आम्दानीको पनि पार्टी प्यालेसले राज्यले कर तिर्दैन् । राज्य चिल्लै छ । पार्टी प्यालेसका सञ्चालनले राज्यलाई पनि लुटेका छन्, भोज दिनेलाई पनि ठगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।