0 COMMENTS

असार २३, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाले अध्यक्षमा हरिश भट्ट, दुई उपाध्यक्षमा वीरेन्द्र विक र अविनाश कुँवर, महासचिवमा झलक विक, सचिवमा सन्तोष सुवेदी र कोषाध्यक्षमा कविता कार्कीलाई निर्वाचित गरेको छ । काठमाडौँमा मङ्गलबार सुरु भई बुधबार सम्पन्न नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाले ८१ सदस्यीय केन्द्रीय समिति पनि निर्वाचित गरेको छ ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नेकपा (बहुमत) का संयोजक कञ्चनले बधाई ज्ञापन गरेका थिए । भेलाको बन्द सत्रमा प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्दै नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले विप्लवहरूले सरकारसँग तीनबँुदे सहमति गरेर आत्मसमर्पण गरेको बताए । विप्लव समूह दार्शनिक रूपमा सारसङ्ग्रहवादी, राजनीतिक रूपले संसदीय संशोधनवादी, साङ्गठनिक रूपले निषेधात्मक अधिभूतवादी, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक रूपले जुझारु अर्थवादी भएकाले क्रान्तिकारीहरूले उनीहरूलाई कारबाही गरी नेकपा (बहुमत) पुनर्गठन गरिएको बताए ।

नेकपा (बहुमत) ले वैज्ञननिक समाजवाद स्थापनाका लागि जनवादी क्रान्तिको कार्यभारसहितको समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा तय गरेकाले जनसङ्घर्ष, जनविद्रोह हुँदै वैज्ञानिक समाजवादसम्म पुग्न स्वतन्त्र र समृद्ध सरकारको न्यूनतम् तत्कालीन कार्यनीतिक नारा अघि सारेको प्रस्ट पारे । युवाहरू संसदीय संशोधनवादसँग विद्रोह गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा अघि बढिसकेकाले दलाल पुँजीवादका विरुद्ध निर्णायक सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

माक्र्सवाद लेनिनवाद माओवादको स्थापना र यसका सार्वभौम चरित्रको चर्चा गर्दै प्रवक्ता सुदर्शनले विशिष्ट इतिहासको मोडमा रहेको क्रान्तिकारी आन्दोलन इतिहासका खराब विरासतबाट मुक्त हुँदै र निरन्तर क्रान्तिको प्रस्थापनालाई अवलम्बन गर्दै अगाडि बढ्ने पनि बताए ।

युवा जनस्वयम्सेवक नेपालका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुकामना दिँदै सङ्गठनका फ््रयाक्सन इन्चार्जसमेत रहेका पार्टी कार्यालय सदस्य दीपकले नेपालका एक मात्र क्रान्तिकारी शक्ति नेकपा बहुमतको सहायक सङ्गठनले पार्टी कार्यदिशा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पार्टी कार्यदिशा लागू गर्ने जिम्मेवारी रहेको युवा जनस्वयम्सेवक नेपाल राष्ट्रघाती, भ्रष्ट र दलालहरूको मृत्यु बन्ने उद्घोष गरे ।

नवनिर्वाचित कार्यसमितिका तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै युवा जनस्वयम्सेवक नेपालका अध्यक्ष हरिश भट्टले सबैखाले प्रतिक्रियावाद, साम्राज्यवाद र संसदीय संशोधनवादसँग लडेर क्रान्तिलाई विजयको लक्ष्यसम्म पुर्याएरै छोड्ने उद्घोष गरे । उनले सहिद–बेपत्ता योद्धा र घाइते–अपाङ्गका सपना पूरा गर्ने वाचा गर्दै आफूहरूलाई आइपरेको जिम्मेवारी पूरा गर्न र देश र श्रमिक सर्वहारा वर्गको सपना साकार पार्न बलिदान रोज्न पनि तयार रहेको उद्घोष गरे । विशेष राष्ट्रिय भेलामा देशका ७७ जिल्लाका प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।