0 COMMENTS

साउन ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने नक्साबारे भारतीय सञ्चारमाध्यमहरूले विभिन्न दाबी गर्न थालेका छन्। भारतीय समाचार च्यानल ‘आजतक’ ले नेपालले एक रुपैयाँको नयाँ सिक्काबाट लिम्पियाधुरा, कालापानी र लिपुलेख समेटिएको चुच्चे नक्सा हटाउन तयार भएको दाबी गरेको छ।

भारतीय मिडियाका अनुसार भारतसँगको कूटनीतिक संवाद र विवादका बीच नेपालले नयाँ सिक्का जारी गर्दा उक्त क्षेत्रहरू हटाइएको नक्सा प्रयोग गर्न लागेको उल्लेख गरिएको छ।

नेपालले भने यसअघि नै संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको छ। सरकारले एक रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाएर मुस्ताङस्थित ‘घार गुम्बा’ को चित्र राख्ने निर्णय गरेसँगै यसको देशभित्र र बाहिर तीव्र चर्चा र विरोध सुरु भएको छ।

मन्त्रिपरिषद्‌ बैठकको उक्त निर्णय सार्वजनिक भएसँगै भारतीय सञ्चारमाध्यमहरूले नेपाल पछि हटेको र लिम्पियाधुरा, कालापानी तथा लिपुलेक समेटिएको नक्सा सिक्काबाट हटाउन तयार भएको भन्दै प्रचार सुरु गरेका छन्। भारतीय मिडिया ‘आजतक’ ले यसलाई कूटनीतिक सफलताको रूपमा प्रस्तुत गर्दै नक्सा विवाद समाधानतर्फ गएको दाबी समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।