0 COMMENTS

जेठ २८, भरतपुर । चितवनमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) संक्रमण देखिएपछि ३८ हजार बढी कुखुरा नष्ट गरिएको छ । खैरहनी नगरापालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दाना सहित कुखुरा नष्ट गरिएको हो ।

पशु सेवा कार्यालय चितवनका अनुसार संक्रमित फार्मबाट ३८ हजार २०० लेयर्स कुखुरा कुखुरा नष्ट गरिएको छ । जेठ २३ गते कुखुरामा बर्ड फ्लू संक्रमण भएको पुष्टि भएपछि जेठ २४ गते (आइतबार) बाट कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालयका प्रमुख डा.प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार लगातार तीनदिनसम्म कुखुरा नष्ट गरेपछि मङ्गलबार फार्म पूर्ण रूपमा सरसफाईगरी सिल गरिएको हो । यस्तै सो फार्मबाट १ हजार ४ सय ५ पेटी अण्डा, १२ टन दाना समेत नष्ट गरिएको उनले जानकारी दिए ।

‘पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमुना पठाएका थियौँ । त्यहाँबाट एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान देखिएपछि हामीले तीन दिन लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हौँ’,–उनले भने । उनका अनुसार अन्य स्थानमा नमुना संकलन गर्ने काम समेत भइरहेको छ । यसअघि चैत्र १२ गते भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि १७ हजार ८७० लेयर्स कुखुरा र नजिकैको अर्को फार्मबाट ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो ।

कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । जसको आधाभन्दा बढी लगानी चितवनमा रहेको छ । पशु सेवा कार्यालय चितवनको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा चितवनमा एक करोड आठ लाख कुखुरा छन् । चितवनमा साना–ठूला गरी हजारौं पोल्ट्री फार्म र सयभन्दा बढी ह्याचरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।