जेठ ६, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हुन आउँछ ।
चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा भएको नोक्सानीसहित थप ३ खर्ब ९९ अर्बले वृद्धि भएको हो । हाल कायम कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.५७ प्रतिशत (१५ खर्ब ९३ अर्ब ८१ करोड) र आन्तरिक ऋणको हिस्सा ४६.४३ प्रतिशत (१३ खर्ब ८१ अर्ब २२ करोड) रहेको छ ।
लक्ष्यको ६१ प्रतिशत मात्र ऋण प्राप्ति
सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब १६ करोड मात्र ऋण प्राप्ति भएको छ, जुन वार्षिक लक्ष्यको ६१.३० प्रतिशत मात्र हो । ऋण प्राप्तिको प्रगतितर्फ आन्तरिक ऋण उत्साहजनक देखिए पनि वैदेशिक ऋण भने न्यून छ । आन्तरिक ऋण लक्ष्यको ८२.५० प्रतिशत (२ खर्ब ९८ अर्ब ६६ करोड) प्राप्त भइसकेको छ भने वैदेशिक ऋण लक्ष्यको केवल २८.४६ प्रतिशत (६६ अर्ब ४९ करोड) मात्र प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले वैशाख मसान्तसम्ममा ऋणको साँवा र ब्याज भुक्तानी (ऋण सेवा खर्च) का लागि २ खर्ब ९२ अर्ब ५२ करोड खर्च गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ४.४३ प्रतिशत हो । कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब ८५ अर्ब ६६ करोड र ब्याज भुक्तानीमा ५० अर्ब ५२ करोड खर्च भएको छ । त्यसैगरी, बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड साँवा र १० अर्ब ६ करोड ब्याज भुक्तानी गरिएको छ । सरकारले यस वर्ष ऋण सेवाका लागि कुल ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरेकोमा वैशाखसम्म ७१.१७ प्रतिशत खर्च भइसकेको छ ।
प्रतिवेदन अनुसार यस अवधिमा वैदेशिक विनिमय दरमा भएको परिवर्तनका कारण १ खर्ब ६७ अर्ब ७५ करोड बराबरको विनिमय नोक्सानी (ऋण दायित्वमा वृद्धि) भएको देखिएको छ । यस्तै, वैशाख मसान्तसम्मको खुद ऋण परिचालन १ खर्ब ३३ अर्ब २३ करोड रहेको छ । सार्वजनिक ऋणमा भएको कुल वृद्धिमा खुद ऋण परिचालनको अंश ४४.२७ प्रतिशत रहेको छ भने वैदेशिक विनिमय घाटाको हिस्सा ५५.७३ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
मासिक तथ्यांक अनुसार वैशाख महिनामा मात्र सरकारले १५ अर्ब ८७ करोड ऋण प्राप्त गरेको छ भने सोही महिनामा २६ अर्ब ८१ करोड आन्तरिक र ११ अर्ब ५९ करोड बाह्य ऋणको भुक्तानी गरेको छ ।
