माघ ५, काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउँदै आएको सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व सोमबार देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ। मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको हो। यस अवसरमा सर्प वर्षको विदाइ गर्दै घोडा वर्षमा प्रवेश गरिएको छ।
सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ पशुपन्छीका आधारमा वर्गीकरण गरिएको छ। ल्होसारको गणना पशुपन्छीको नामबाट गरिनु तामाङ समुदाय प्रकृतिपूजक रहेको प्रमाण भएको अनुसन्धाता टीका शेर्पाले बताएका छन्। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। साथै नेपाल तामाङ घेदुङले राजधानीको टुँडिखेलमा शनिबारदेखि तीनदिने ल्होसार महोत्सव सुरु गरेको छ।
महोत्सवमा ताम्बा, बोन्बो र लामाहरूको सांस्कृतिक झाँकी, परम्परागत गीत–नृत्य तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहने जनाइएको छ। करिब ४७ सय वर्ष पुरानो मानिने यो पर्व नेपालसहित विभिन्न एसियाली मुलुकमा पनि मनाइन्छ।
