0 COMMENTS

असोज ७, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मङ्गलबार विशाल पहिरो खसेको छ। तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मङ्गलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए । एसपी पुरीले अनलाइनखबरसँग भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको  छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल  गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ । यसविषयमा निर्णय  लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले बताए ।

सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए । पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको उनले बताए ।

गत शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि अहिले पनि दशैँमा घर हिँडेका हजारौँ यात्रुहरू अलपत्र परेका छन् । सडक एकतर्फी खुलेसँगै सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।