भदौ १६, काठमाडौँ । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले हात पारेकी छन् । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । दर्शकको भोटका आधारमा गंगा विजेता घोषणा भएकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले विजेता गङ्गालाई ट्रफी प्रदान गरेका थिए। विजेता बनेसँगै गंगाले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ तथा विभिन्न उपहार प्राप्त गरेकी छन् । यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर फर्स्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् ।
उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । यस्तै दार्जिलिङका अभिनय खाती चौथो बने भने काठमाडौँका मृनल मानन्धर पाँचौँ स्थानमा आएका छन् । चौथो र पाँचौँ भएका दुबै जनाले एक–एक लाख रूपैयाँ पुरस्कार हात पारेका छन् ।
नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए । सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन् । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको फिनालेलाई लाइभ प्रसारण गरिएको थियो । यसअघि नेपाल आइडलमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापामगर र अघिल्लो वर्ष करण परियारले उपाधि हात पारेका थिए ।