साउन २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली रहने जनाएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा पूर्णतया बदली रही बाँकी भूभागमा साधारणतया बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थान, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।