0 COMMENTS

साउन २२, कठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले दलितका समस्या राष्ट्रिय समस्या भएको भन्दै सङ्घीय जनगणतान्त्रिक व्यवस्थामा मात्रै ती समस्या समाधान हुने बताएका छन् । “उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकार सुनिश्चित गरौं !, नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाको क्रान्तिकारी यात्रामा अघि बढौं” भन्ने मुल नाराका साथ बुधबार उद्घाटन गरिएको दलित जागरण जनयात्रा अभियानलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालले काठमाडौँ महानगरस्थित भुगोल पार्क पिपलवोटमा जागरण जनयात्रा अभियान उद्घाटन गरेको हो । अभियानको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेलले मोर्चाको झण्डा अभियान दललाई हस्तान्तरण गरेका थिए । उनले वर्ग सङ्घर्षबाट आमुल परिवर्तनपछि प्राप्त हुने संघीय जनगणतन्त्रबाट मात्रै दलितका समस्या समाधान हुने भएकोले यो अभियान त्यही उद्देश्यसित जोडेर अगाडि बढाउन पनि अनुरोध गरे ।

उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले नेपालमा केन्द्रीकृत सामन्ती राज्य स्थापनापछि वैदिक वर्ण व्यवस्था लादेपछि दलित समस्या देखापरेको कुरा चर्चा गर्दै जति जति समाज विकसित हुँदै गयो, यो समस्या झनझन पेचिलो र जटिल बनेको बताए । पछिल्लो जनगणनाअनुसार कुल जनसंख्याको १३% जनसंख्या रहेको दलितहरुको मुक्तिको लागि बिशेष अधिकार दिएर गैरदलित सरह अधिकार सम्पन्न गरेर मात्रै उनीहरूको अवस्थामा सुधार ल्याउन सकिने बताए । अधिकार प्राप्त गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने पनि बताए ।

अर्का वक्ता क्रान्तिकारी किसान महासंघका अध्यक्ष सिताराम तामाङले एशियामा जब वैदिकहरुको प्रवेश भयो र राज्य सत्ता बनाउँदै गएपछि खानि र उत्पादनमा लागेका श्रमिकहरूलाई दलित बनाएर सुरु गरेको कुरा चर्चा गर्दै जति जति हिन्दू राज्यसत्ता बलियो र बिस्तार हुँदै गयो त्यति त्यति दलितहरूबीच विभेदीकरण बढ्दै गएको बताउँदै सरकारले ल्याउन लागेको भुमि बैंकबाट अलि अलि जमिनसँग जोडिएको दलितहरूलाई पनि जमिनबाट सम्बन्ध छुटाउने प्रयास भएकोले त्यो मुद्दालाई पनि जोडेर लान अनुरोध गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले जागरण जनयात्रा व्यपक जनसहभागिता सहित सफलताको शुभकामना दिँदै सरकारले सामान्य सुधारका केही कानुन बनाए पनि त्यो लागु भएको छैन भन्दै मुक्ति पाउन त सारा दलित समुदाय नजागी हुँदैन । त्यसैले जागरण अनिवार्य भएको चर्चा गर्दै सानातिना सुधार सँगसँगै आमुल परिवर्तनको अभियानसँग जोडेर लान अनुरोध गरे । क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक टेकबहादुर बिकको अध्यक्षतामा उद्घाटित समारोहको सञ्चालन मोर्चाको केन्द्रीय कार्यालय सदस्य शोभा सेन्चुरीले गरेका थिए भने स्वागत मन्तव्य कार्यालय सदस्य रोशन विशंखेले रारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।