साउन ३, काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई फराकिलो अन्तरले हराएको छ । शनिबार ढाकास्थित बसुन्धरा स्पाेर्टस् ग्राउण्डमा जारी खेलमा पूर्णिमा राई र मीना देउवाको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको हो ।
नेपालको जितमा पूर्णिमा र मीनाको ह्याट्रिकसँगै कुसुम खतिवाडाले १ गोल गरिन् भने एक गोल आत्मघाती भएको थियो । पहिलो हाफमै ६-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल मात्र गर्न सक्यो ।
खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । नवौं मिनेटमा समिक्षाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदै गोलकिपरलाई लागेर पोस्टभित्र छिरेपछि नेपालको अग्रता दोब्बर भयो । १२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् । २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई ४-० को अग्रतामा पुर्याइन् ।
इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेडर गोल गर्दै अग्रता ५-० मा पुर्याइन् । इन्जुरी समयकै अन्तिममा पूर्णिमाले ह्याट्रिक पूरा गर्दा नेपाल ६-० ले अघि रह्यो ।
६३औं मिनेटमा कुसुम खतिवाडाले गोल गरिन् भने लगत्तै ६४औं मिनेटमा मीनाले ह्याट्रिक पूरा गरेपछि नेपाल ८-० ले अगाडि बढ्यो । त्यसपछि थप गोल भएनन् ।