असार २२, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी २२ गते (शनिबार) सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका छन् ।
पहिला पुँजीपतिले आफ्ना प्रतिनिधिहरु संसदमा पठाउँदैनथे । बरु निर्वाचित सांसदहरुमार्फत् नै आफ्नो व्यवसायमा फाइदा हुने निर्णय गराउन हर प्रयत्न गर्थे । तर अब यस्तो समय आएको छ, अब पुँजीपतिहरु नै आफै संसदमा निर्वाचित भएर सदनमा जाने र मन्त्री हुने र आफ्ना व्यवसायलाई फाइदा हुनेगरी निर्णय गर्नेसम्मका घटना भएका छन् ।
यो घटना नेपालका विनोद चौधरीहरुमा मात्र लागु भएको होइन बरु विश्वकै धनी अमेरिकी नागरिक एलन मस्कले पनि पार्टी नै खोलेर राजनीतिमा अगाडी आएका छन् र उनले पनि अब यस्तै गर्नेछन् वा यस्तै गर्ने मनसाय राखेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको भोलिपल्ट विश्वकै धनाढ्य मस्कले अमेरिकामा नयाँ पार्टी गठनको घोषणा गरेका हुन् ।
‘तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं,’ मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । उनले अमेरिकीहरू नयाँ पार्टी चाहिरहेको दाबी पनि गरे । ‘तपाईंहरूले चाहनु भएको अनुसार नयाँ राजनीतिक दल हुनेछ,’ उनले भनेका छन् ।
आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पुर्याउने पनि मस्कले बताएका छन् । मस्कले पार्टीको संरचनाबारे विस्तृत भनेका छैनन् ।
नयाँ पार्टी घोषणासँगै मस्क र ट्रम्पबीचको सम्बन्ध थप चिसिने आँकलन गरिएको छ । अमेरिकाको दुवै सदनबाट पारित भएपछि ट्रम्पले प्रमाणीकरण गरिसकेको कर खर्च कटौती विधेयकलाई मस्कले घृणित र घिनलाग्दो भनेका थिए । ट्रम्प र रिपब्लिकनहरू भने त्यसलाई ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल) भन्दै आएका छन् । यस विषयमा ट्रम्प र मस्कबीच झगडा समेत परेको थियो ।