फागुन २०, काठमाडौँ । थापाथली चोकनजिक मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा काठमाडौँको थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडक केहीबेर जलमग्न बनेको थियो । अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ । सडक भने अवरूद्ध नै छ । चोकबाट नर्भिक हस्पिटल जाने सडकमा
‘पाइप फुटेको जानकारी आएलगत्तै हामीले वितरण केन्द्रबाट थापाथली क्षेत्रमा पानी पठाउन बन्द गरिसकेका छौं । फुटेको कारण पत्ता लागिसकेको छैन,’ केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले जानकारी दिए । उनकाअनुसार थापाथली क्षेत्रमा फुटेको मुख्य पाइप नै हो । पाँच सय एमएमको पाइप फुटेकाले केहीबेर जलमग्न बन्न पुगेको उनको भनाइ छ ।
‘हामीले पाइप फुटेको यकिन कारण पत्ता लगाइसकेका छैनौं । लिक भएको हो भने अलग्गै कारण हुन्छ । फुटेको हो भने तेस्रो पक्षको कारण देखिनसक्छ, पानी रोकिएपछि यकिन कारण पत्ता लगाउँछौं,’ उनले भने । यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप नै फुटेको थियो । बबरमहल क्षेत्रमा पनि पाँच सय एमएमकै पाइप फुट्दा मूल सडकमै क्षति पुगेको थियो । त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्न प्वाल खन्ने उपकरणले पाइपमा क्षति पुर्याएकाले पाइप फुटेको थियो ।