0 COMMENTS

पुस १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को आयोजनामा सम्पन्न ‘माओदिवस कार्यक्रम’ मा माओका योगदानमाथि विशेष चर्चा गरिएको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौरवले माक्र्सवादका तीनवटै संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा गरेको सार्वभौम योगदानको बारेमा हालै सम्पन्न एकता महाधिवेशनले पुनः सही मूल्यांकन गरी पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादलाई बनाएको बताउनु भयो ।

नेता गौरवले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा देशमा गरिने क्रान्तिलाई ‘नयाँ जनवादी क्रान्ति’को रुपमा संश्लेषण गरेर विश्व सर्वहारा क्रान्तिको लागि महत्वपूर्ण योगदान गरेको बताउनु भयो । सर्वहारावर्गको अधिनायकत्वमा गरिने नयाँ जनवादी क्रान्तिले मात्र वैज्ञानिक समाजवादी क्रान्तिको आधार निर्माण गर्ने भन्दै नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेको विश्लेषण गर्नुभयो । दशवर्षे जनयुद्धको मुख्य उद्देश्य नेपालमा नयाँ जनवादी क्रान्ति गर्नुरहेको थियो भन्दै उहाँले पार्टीको मूल नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामले धोका र गद्दारीपूर्ण रुपमा १२ बुँदे समझदारीको नाममा जनयुद्धको अन्त्य गर्न पुगेकोले नयाँ जनवादी क्रान्ति सफल हुन नसकेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विश्वका अन्य मुलुकमा भएका क्रान्तिमा एउटै व्यक्ति क्रान्तिको नायक पनि र प्रतिक्रान्तिको खलनायक भएको पाइँदैन । तर नेपालमा प्रचण्डले भने आफ्नै नेतृत्वमा विजयन्मुख अवस्थामा पुगेको क्रान्तिलाई प्रतिक्रान्तिमा बदले र जनयुद्धका सबै उपलब्धिलाई बिसर्जन गरे ।”

माओले नयाँ जनवादी क्रान्तिको सफलतापछि पार्टी र सत्ताको नेतृत्वमा संशोधनवादीहरु हावी हुन पुगेपछि ‘वमवार्ड द हेडक्वार्टर’को नारा दिएर सर्वहारावर्गको अधिनायकत्वसहित सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डा उठाएको प्रसंग उल्लेख गर्दै प्रचण्ड–बाबुरामको संशोधनवादी नीतिका विरुद्ध आफूहरुले पनि विद्रोह गरेर क्रान्तिको झण्डालाई निरन्तर रुपमा उठाउँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, “क्रान्ति आवश्यक छ र सम्भव पनि छ । क्रान्तिका लागि वस्तुगत अवस्था परिपक्व छ, आत्मगत अवस्था सुदृढ बनाउन छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध बनाएर अगाडि बढ्नु पर्दछ । ” उहाँले विचार र राजनीतिक मुद्दा मिल्नेहरुसँग एकता गर्ने, त्यो सम्भव नभए संयुक्त मोर्चा बनाउने र त्यो पनि सम्भव नभए कार्यगत एकतामार्फत् क्रान्तिकारीहरुले वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध संघर्षलाई नयाँ रुपमा अगाडि बढाउनु पर्ने अवस्था आइसकेको स्पष्ट पार्नुभयो । एकता महाधिवेशनबाट क्रान्तिकारीहरुबिचको एकताको कोर्स सुरु भइसकेकोले छरिएर रहेका क्रान्तिकारीहरुलाई एकतामा आउन आव्हान पनि गर्नुभयो ।

कार्यक्रममा पार्टीका नेता इन्द्रमोहन सिग्देल बसन्तले पार्टी महासचिवले १३२ औं माओदिवसको अवसरमा जारी गर्नुभएको वक्तव्य वाचन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले पनि दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा सार्वभौम योगदान गरेको चर्चा गर्नुभयो । उहाँले दर्शनको क्षेत्रमा ज्ञानसिद्धान्तमा भौतिकवादको विकास, ज्ञानको दुई छलाङको सिद्धान्त (व्यवहार–सिद्धान्त–व्यवहार, पदार्थ–चेतना–पदार्थ), अन्तरविरोधबारे, एकको दुईमा विभाजनको संश्लेषण, राजनीतिक अर्थशास्त्रमा आधारइलाका कसरी टिकाउने, सोभियत अर्थशास्त्रको आलोचना, दुइ खम्बे अर्थनीति, सहकारीलाई समाजिकीकरण, सामाजिकीकरणलाई कम्युनीकरणतर्फ लैजाने नीति र वैज्ञानिक समाजवादको क्षेत्रमा सर्वहारावर्गको अधिनायकत्वमा नयाँ जनवादी क्रान्ति, र महान सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्तको विकासमा महत्वपूर्ण र सार्वभौम योगदान गरेको चर्चा गर्नुभो । उहाँले अब पार्टीलाई गफ गर्ने क्लव जस्तो होइन, क्रान्ति गर्न लायक जुझारु पार्टी बनाउनुपर्ने भन्दै पार्टीपंक्ति र जनपंक्तिमा उत्साहपूर्ण गति पैदा गर्न क्रान्तिकारी अभियानको खाँचो रहेको बताउनु भयो । उहाँले क्रान्तिकारीहरुका निम्ति मालेमावाद सुक्ष्म र दुरदर्शक यन्त्र भएको भन्दै यसलाई ठिक ढंगले अध्ययन ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका अर्का नेता तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का संयोजक सीताराम तामाङले माओले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा गरेको योगदानका विषयमा विशेष चर्चा गर्नुभएको थियो । उहाँले माओले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा गरेको योगदानलाई राम्रोसँग खोज,अध्ययन, अनुसन्धान गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । त्यसैगरी नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले नयाँ जनवादी क्रान्ति सम्पन्न नगरी वैज्ञानिक समाजवादमा जान नसकिने भन्दै दक्षिणपन्थी संशोधनवादी र अवसरवादीहरुले फिजाएको समाजवादको भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा सामन्तवादको अवशेष र साम्राज्यवादविरुद्धको सिंगो कार्यभार पूरा नगरी नयाँ जनवादी क्रान्ति सम्पन्न नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले नयाँ जनवादी क्रान्तिका पक्षधर क्रान्तिकारीहरु सबै एकैठाउँमा उभिनुपर्ने ऐतिहासिक आवश्यकता रहेको पनि बताउनुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सल्लाहकार समितिका संयोजक गोविन्दसिंह थापाले माओका सार्वभौम योगदानको वैचारिक आलोकमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता सुरेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कविहरु बलराम तिमिल्सिना विप्लव र गौरी देवकोटाले क्रान्तिकारी कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पार्टी सम्बद्ध जवस मोर्चाका अध्यक्ष तथा संयोजकहरु पनि अतिथिको रुपमा रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।