पुस १, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर (पहिलो मेयर) प्रेमलाल (पीएल) सिंहको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि आन्द्राको समस्याबाट पीडित सिंहको आज बिहान आफ्नै निवास चाक्सीबारीमा निधन भएको हो ।
गत वर्ष प्रेमलाल (पीएल) सिंहको पेटको शल्यक्रिया गरिएको थियो । उनको पार्थिव शरीर बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने छ । २०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
जनसंख्यामन्त्री समेत भएका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए । उनलाई गणेशमानको धर्मपुत्रको रुपमा पनि चिन्ने गरिन्छ ।