मङ्सिर ३, चितवन । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडल र सिएमसीका निर्देशक प्रताप देवकोटाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
भरतपुर महानगरवासीले सिएमसीमा उपचार गर्दा होल बडी चेकअपमा ५० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत र अन्य उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ । यो सम्झौता मंसिर २ अर्थात् आजबाट लागू भई एक वर्षसम्म लागु हुनेछ । यस्तै नगर प्रमुखको सिफारिसमा सिएमसी क्यान्सर इन्टीच्यूटमा संचालित सिटिइभिटीको पढाईमा विद्यार्थीलाई १० प्रतिशत व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेनु दाहालले नगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले सिएमसीसँग छुटसहितको सम्झौता गरिएको स्पष्ट पारिन् । प्रमुख दाहालले यसअघि अस्पतालमा हुने उपचारमा छुटका लागि धेरै सिफारिस आउने गरेको भन्दै अब यो सम्झौतासँगै सिधै छुट उपलब्ध भएसँगै विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरिन् । छुट सेवा लिनका लागि महानगरले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौता पत्रमा उल्लेख छ। कार्ड उपलब्ध नभएसम्म महानगरपालिकाबाट सिफारिस लिएर जानुपर्ने छ ।
प्रथम पक्ष अर्थात् भरतपुरवासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको अस्पतालका अध्यक्ष हरिषचन्द्र न्यौपानेले जानकारी दिए । सिएमसी नेपालकै सबैभन्दा बढी विरामी उपचार गर्ने अस्पताल भएपनि भरतपुरवासीलाई त्यसको अनुभुत गर्न नपाएको र अब भने नगरवासीले सर्वसुलभ सेवा पाउने उल्लेख गरे । मेडिकल कलेजले अन्य पालिकासँग समेत सम्झौता गरेर छुटमा उपचार गरिरहेको छ।