मङ्सिर २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले शनिबार एक प्रेस वक्तव्यमार्फत् यही मङ्सिर १६ गते हुने उपनिर्वाचन बहिस्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
वक्तव्यमा भनिएको छ, ‘विभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय निकायहरूमा यही मङ्सिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ । यो चुनाव पनि विगतका संसदीय चुनावहरू जस्तै जनताको सेवा गर्ने नारा भित्र संसदीय दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत गर्ने, आमूल परिवर्तनको मुद्दालाई धूमिल बनाउने, जनतामाथि शोषण उत्पीडन गर्ने संयन्त्रलाई मजबुत बनाउने र सारमा भन्दा लेलिनले भन्नु भएझैं “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने” एकाधिकार पुँजीवादको दलाली गर्ने प्रपञ्च मात्र हो । तसर्थ पालिकातहमा हुने उक्त उपचुनावलाई बहिष्कार गर्न सम्बन्धित जिल्ला कमिटीहरूलाई पार्टी केन्द्रीय कार्यालय निर्देशन गर्दछ । साथै आम जनतालाई पनि बहिष्कारको लागि अपिल गर्दछ ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘समस्त देशवासीलाई अवगत भएकै विषय हाे कि जहिलेसम्म देशमा पुँजीवादी व्यवस्था रहनेछ तबसम्म त्यस अन्तर्गत हुने कुनै पनि चुनावले केवल पुँजीवादकाे सेवा मात्र गर्ने, जनतामाथि उत्पीडन थाेपर्ने र नेपाल जस्ताे नवऔपनिवेशिक देशमा दलाल पुँजीवादलाई संस्थागत र मजबुत बनाउने काम मात्र गर्नेछ । यसकारण कुनै पनि कम्युनिस्ट पार्टीकाे “बुर्जुवा चुनावकाे क्रान्तिकारी उपयाेग” केवल मनाेगत, आदर्श र संसदवादी विचलन बाहेक अरू केही पनि हुन सक्दैन । हाम्राे पार्टी अगाडि बढ्न सम्पूर्ण नेपाली जनतामा हार्दिक अपिल गर्दछ ।’
वक्तव्यको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टीले देशको जटिल राजनीतिक अवस्थालाई गम्भीर तरिकाले नियाली रहेको छ । नेपाली जनता माथि थोपरिएको दलाल पुँजीवादी उत्पीडन, नवऔपनिवेशिक पराधीनता र यसले सृजना गरेको राजनीतिक अस्थिरताले देशलाई विस्फोटक अवस्थामा पुर्याईरहेको छ । यो अवस्थालाई एकातिर पश्चगामी शक्तिहरूले पुरानो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा फर्काउन उपयोग गर्ने अधिकतम कोसिस गर्नेछन् भने यथास्थितिवादीहरू यही दलाल पुँजीवादी व्यवस्थालाई नै संस्थागत गर्न उद्धत रहनेछन् । हाम्रो पार्टी जनताको सशक्त आन्दोलनद्वारा वर्तमान पुँजीवादी व्यवस्था र यस अन्तर्गतको दलाल संसदीय राजनीतिक प्रणालीको अन्त्य गरी समाजवादी गणतन्त्र स्थापना गर्न ‘स्वाधीन संयुक्त सरकार’ निर्माणको दिशामा अघि बढ्न सम्पूर्ण देशवासीमा हार्दिक अपिल गर्दछ ।’