0 COMMENTS

कात्तिक १, काठमाडौँ । चितवनको भरतपुर महानगरमा पर्ने पुँगी खोला क्षेत्रमा मापदण्ड विपरीतका निर्माण गरिएका संरचना घरधनी आफैंले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन पनि घरधनीले नै भत्काइरहेका छन् ।

गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरीतका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलायो । महानगरले डोजर चलाउदाँ धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो । दशैँ सकिए लगतै पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन् ।

नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन् । कामदारहरुले ट्रष्ट निकालेर ढलान फुटाउने काम गरी रहेका छन् । महानगरले पुंगी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो । यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।

भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लयान्स भवन लगायत अन्य भवनहरु क्रमश घरधनी आफैले भत्काउन सुरु गरेको जानकारी दिए । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफै संरचना भत्काउन अनुरोध गरिएको उनले बताए । घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने पनि उनको भनाई छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको बताईन् । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणकालागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफै भत्काइ रहनु भएको छ’, उनले भनिन् यो खुसीको विषय हो ।

महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ ।’ भरतपुर महानगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काउने र सँग सँगै सौन्दर्यकरणको कार्य पनि अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।