असोज २८, काठमाडौँ । आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ ।
घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म पुगेर टीका र आशीर्वाद लिने गर्दछन् । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ ।