असार ६, काठमाडौँ । नेपालमा चुरे संरक्षणको आवाज पटक पटक उठ्दै आएको छ । तर चुरे क्षेत्रको प्राकृतिक सम्पदा र जीवजन्तुको विनास रोकिएको छैन । सरकार, समाज र जनता सबैले आफ्नो दायित्व सम्झिएर ब्यबहारमा लागू नगरेसम्म चुरेको संरक्षण हुने सम्भवना छैन ।
चुरेको संरक्षणमा मुख्य ब्यबधान सरकारको द्वेध चरित्र हो । एकातिर चुरे संरक्षण गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र अर्को तिर चुरे क्षेत्रबाट गिटी, बालुवा,ढुङ्गा उत्खनन् र पैठारी गर्ने नीति सरकारकोछ । चुरे संरक्षण गर्न सरकरले द्वेध चरित्र बदल्न जरुरी छ ।
“चुरे क्षेत्र भनेको हिमालय पर्वत शृङ्खलाको सबभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कान्छो, सबभन्दा कमलो र सबभन्दा कमजोर पर्वत शृङ्खला रहेको क्षेत्र हो,”
“करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो।”
“पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे शृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ ।” अर्थात नेपालको तराईभन्दा माथिल्लो भूभाग चुरे क्षेत्र हो वा तराइँ र पहाडको वीचको भूभाग चुरे क्षेत्र हो । नेपालको पूर्व इलाम, झापादेखि पश्चिम कञ्चनपुर,डडेल्धुरा सम्म करीव ३७ जिल्लामा यो भूभाग फैलिएको छ ।नेपालको कुल क्षेत्रफलको १२. ५६ प्रतिशत भूभाग चुरे क्षेत्रमा पर्दछ । यो क्षेत्रमा ७३. ५६ प्रतिशत भूभाग वन जंगल रहेको छ ।
चुरे क्षेत्रमा खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील छ ।
यो क्षेत्रमा तीव्ररुपमा बसाईँसराइँ हुँदैछ । भौतिक पूर्वाधारको विकास तथा तीव्र रुपमा शहरीकरण हुँदैछ । यसले गर्दा यो क्षेत्र अहिले अत्यधिक दोहनमा परेको छ । यस क्षेत्रबाट ढुङगा, माटो, गिटी निकालिएको छ । खानीहरुको संचालन गरिएको छ । चुरे क्षेत्रको ढुङगा, माटो, गिटी वालुवा निकासी गर्ने सरकारले नीति लिएको छ ।सरकारको पटक पटकको वजेट भाषणमा गिटी वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने भन्ने छ ।अवैध तथा वैध तरिकाले चुरेको गिटी, वालुवा, ढुङगाहरु उत्खनन् भैरहेका छन् । चोरी निकासी भैरहेको छ ।
चुरे क्षेत्रको दोहनको कारण तराईका पानीका मूलहरु सुक्ने, पानीको हाहाकार हुने, बाढी पहिरो आउने,भूक्षय हुने, वर्षाको समयमा गेग्रयानहरु आउने, सुख्खा हुने ,वन फँडानी हुने जस्ता समस्याहरु बढिरहेका छन् । वन विनासले गर्दा यो क्षेत्रमा बसोबास गर्ने जङ्गली जनावर, चराचुरुङ्गी , औषधिजन्य बोटविरुवाहरू लोप हुँदै गएकाछन् । समस्या देख्दा सामान्य लागेपनि यो गंभीर प्रकारको समस्या हो । चुरे क्षेत्रको संरक्षण गर्न नसकेमा हाम्रो देशको अन्न भण्डार रहेको तराई मरुभूमिमा परिणत हुँदैछ भनेर विज्ञहरुले भन्दै आईरहेका छन् । यो क्षेत्रको संरक्षणकोलागि सरोकारवालाको ध्यान जानु पर्दछ । सरकारले २०६६ देखि रााष्ट्रपति चुरे तराइँ मधेश संरक्षण विकास समित गठन गरेर संरक्षण कार्यक्रम संचालन गरेको छ ।चुरे संरक्षणको अभियान चालेपनि यो क्षेत्रको संरक्षण प्रभावकारी बन्न सकिरहेको छैन । यस बारेमा सरोकार वालाहरु को खासै ध्यान जान सकेको छैन । यो निकै दुःखद कुरा हो ।
चुरे क्षेत्रमा वर्षामा खहरे खोला हुन्छन् । हिउँदमा प्रायः यहाँका खहरे खोला सुख्खा हुन्छन् । बैज्ञानिकहरूका अनुसर बर्षा याममा चुरेको जमिनले पानी ग्रहण गरी राख्छ । त्यो पानीले तराईमा भूमिगत जल भण्डारको काम गरिरहेको हुण्छ । यदि चुरे विनास हुने हो भने चुरेले वर्षाको पानी ग्रहण ( सोस्ने काम ) गर्ने छैन र तराईको जमिनमुनिको पानी अभाव हुँदै जाने छ । जसले भबिष्यमा तराईको विशाल जनसंख्यालाई असर गर्ने छ ।
राष्ट्रपति चुरे संरुक्षण कार्यक्रम संचालनमा अरबौं रकम लगानी भएपनि संरक्षणको काम प्रभावकारी रुपमा हुन सकेको छैन उल्टो चुरे क्षेत्रको जंगल अत्यधिक फँडानीमा परेको छ ।चुरे क्षेत्रका पहाडहरुबाट भौगोलिक तथा पर्यावरणीय विषयलाई कुनै ध्यान नै नदिई दोहन भैरहेको छ । जब कि यो क्षेत्र पर्यावरणीय हिसाबले निकै संवेदनशील क्षेत्र हो ।
व्यक्तिगतरूपमा पनि जनता चुरे संरक्षण प्रति उत्तरदायी हुनु पर्दछ । व्यक्ति व्यक्ति मिलेर समाज बनेको हुन्छ । समाजको एकता भयो भने चुरे संरक्षणमा टेवा पुग्ने छ । समाजको एकता भयो भने चुरे विनासमा लागेका तत्त्वहरुलाई निरुत्साहित गर्न तथा सरकारलाई पनि सही नीति तथा कार्यक्रम तय गर्न दबाब दिन सम्भव हुनेछ ।