0 COMMENTS

असार ५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान ९.४५ बजे स्वदेश फर्किन लागेका हुन् ।

राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरु पनि रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले जर्मनी भ्रमणका क्रममा पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण गर्नुका साथै राजदूत लगायतका दूतावासका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउन आग्रह गरेको बुझिएको छ । यसअघि जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।